site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शान्तिपूर्ण विरोध कार्यक्रम गर्न रास्वपाको निर्देशन, चितवन घटनाबारे छानबिन गरिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शान्तिपूर्ण, मर्यादित र संयमित रूपमा विरोध कार्यक्रम सञ्चालन गर्न नेता–कार्यकर्ता र समर्थकलाई निर्देशन दिएको छ । विरोध कार्यक्रमका क्रममा अवाञ्छित गतिविधिमा संलग्न भएको पाइए कारबाही गरिने पार्टीले प्रतिबद्धता जनाएको छ ।

बुधबार (हिजो) चितवनको भरतपुरमा विरोध प्रदर्शनका क्रममा बाह्य घुसपैठ भएको रास्वपाको आशंका छ । “...कार्यक्रमलाई बिथोल्ने र हिंसात्मक बनाउने नियतले बाह्य घुसपैठ गरी यसले प्रदर्शनको मर्यादा भंग गर्न प्रयास गरेको प्रतीत भएको छ,” रास्वपाका चितवन जिल्ला सभापति कृष्णप्रसाद भुसालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “सो घटनामा पार्टीका सदस्य तथा समर्थक संलग्न भएको पाइएमा पार्टीले आन्तरिक छानबिन गरी उक्त व्यक्तिहरूमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।”

Argakhachi Cement Island Ad

पार्टी सभापति रवि लामिछाने रिहाइको माग गर्दै रास्वपाद्वारा बुधबार भरतपुरमा प्रदर्शन गरिएको थियो । सहकारीपीडितलाई न्याय दिनुपर्ने पनि नेता–कार्यकर्ता र समर्थकले माग गरेका थिए । प्रदर्शनका क्रममा उनीहरू र प्रहरीबीच झडप भएको थियो ।

त्यसक्रममा प्रहरीले दमन गरेको भन्दै आपत्ति जनाइएको छ । “...उक्त घटनामा ४० जनाभन्दा बढी घाइते हुनुभएका व्यक्तिहरूप्रति गहिरो सहानुभूति व्यक्त गर्दै उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।

रास्वपाले सञ्चारमाध्यम र सञ्चारकर्मीप्रति उच्च सम्मान राख्ने जनाइएको छ । “प्रदर्शनका क्रममा पत्रकारमाथि भएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा उल्लेख छ ।

asfd-1733382301.jpg
 

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १२:५०
प्रतिक्रिया दिनुहोस्