site stats
बाह्रखरी :: Baahrakhari
विदेश
दक्षिण चीनमा रेलमार्ग निर्माणस्थल भत्किँदा १३ जना बेपत्ता
तस्बिर : एपी ।

बेइजिङ । चीनको दक्षिणी सहर शेन्जेनमा एउटा प्रमुख रेलमार्गको निर्माणस्थलमा पहिरो खस्दा १३ जना बेपत्ता भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

बाओआन जिल्ला विपद् व्यवस्थापन विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शेन्जेन–जियाङमेन रेलमार्ग निर्माणस्थलको एक खण्डमुनिको जमिन खसेपछि त्यहाँ काम गरिरहेका एक दर्जनभन्दा बढी कामदार सम्पर्कमा आउन सकेका छैनन् ।” 

Argakhachi Cement Island Ad

बेपत्ताको खोजी कार्य बिहीबार बिहानदेखि जारी रहेको र दुर्घटनासम्बन्धमा अनुसन्धान भइरहेको अधिकारीले बताएका छन् । विपद् व्यवस्थापन विभागका अनुसार अधिकारीहरूले नजिकैका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन् ।

उद्धारकार्यका लागि बिहीबार बिहान घटनास्थल नजिकका प्रमुख द्रूत रेलमार्ग बन्द गरिएको सहरका अधिकारीहरूले बताएका छन् ।

दक्षिण चीनको गुआङ्ग्डोङ प्रान्तको शेन्जेनदेखि जियाङमेन जोड्ने रेलमार्गको निर्माण सन् २०२२ मा सुरु भएको थियो । कमजोर नियमन र फितलो सुरक्षा मापदण्डका कारण हुने औद्योगिक दुर्घटनालाई चीनमा सामान्यरूपमा लिने गरिएको छ । 

गत अगस्टमा दक्षिणपश्चिमी सिचुआन प्रान्तमा भएको खानी दुर्घटनामा परी आठजनाको मृत्यु भएको थियो । उत्तरी चीनको हेबेई प्रान्तमा गत मार्चमा भएको ग्यास विस्फोटमा परी सात जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका थिए ।

पूर्वी सहर नानजिङमा गत फेब्रुअरीमा एक आवासीय भवनमा आगलागी हुँदा १५ जनाको मृत्यु भएको थियो ।रासस/एएफपी

 

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १२:४७
प्रतिक्रिया दिनुहोस्