site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अस्ट्रेलियामा हुन्डीको जालो ! कालो धन बाहिरिने बाटो !

अस्ट्रेलिया, जापान, कोरियालगायतका केही मुलुकबाट नेपाल पठाइने पैसाको  मुख्य माध्यम  हुन्डी  बन्दै आएको छ । अस्ट्रेलियाबाट मात्र दिनहुँ १० देखि  १२ करोड रुपियाँ हुन्डीबाट नेपाल पुग्ने अनुमान गरिन्छ । कानुनी बाटो भएर नेपाल पुग्ने पैसा भने नगन्य छ । 

हुन्डीबाट पैसा पठाउँदै आए पनि यसको जालोको विषयमा जनस्तरमा खासै चासो नरहेको देखिन्छ । सामाजिक सञ्जालमा यत्रतत्र फैलिएको हुन्डीवालको खातामा पैसा हालेको दुई घन्टामा पैसा नेपालको खातामा पुग्ने भएकाले पनी यसलाई सजिलो माध्यमका रूपमा अपनाइएको देखिन्छ । 

पैसा पठाउँदा भने आफ्नो परिचयपत्रसहित नेपाल पठाएको पैसा कहाँ पुग्छ भन्ने विषयमा उनीहरू अनभिज्ञ रहेको देखिन्छ । दुईचार सयको लोभले कतै कानुनी परिबन्दमा त परिने होइन भन्ने प्रश्न यतिखेर विचारणीय छ । 
कोरिया, जापान, अस्ट्रेलिया, न्युजिल्यान्डलगायतका देशबाट विदेशमा पैसा पठाउनु कानुनी रूपमै वैध रहेपनि पठाउने र पाउनेको नामसहित विधिवत जाने रकम सम्बन्धित ठाउँसम्म नपुग्ने हुनाले यसलाई नेपालमा हुन्डी अर्थात् अवैध कारोबारका रूपमा लिने गरिन्छ । 

अस्ट्रेलियाबाट विदेशमा पैसा पठाउँदा (ट्रान्सफर गर्दा) यहाँको सरकारी निकाय अस्ट्रेलियन ट्रान्जेक्सन रिर्पोर्टस एन्ड एनलाइसिस सेन्टर (अस्ट्रयाक)मा दर्ता हुनुपर्छ । सम्बन्धित बैंकहरूले पनि विदेशमा हुने पैसा ट्रान्सफरको प्रतिवेदन (अस्ट्रयाक)लाई पठाउनुपर्छ । 

यस्तो झन्झन्टिलो प्रक्रियामा  फस्न नचाहने हुनाले सकेसम्म मनी ट्रान्स्फर कम्पनीहरूको खाता लामो समयसम्म टिक्दैन । नयाँ नयाँ कम्पनी दर्ता गरेर प्रायः सबैजसो बैंकमा खाता खोल्ने र अस्ट्रयाकमा दर्ता गरी सुरु गरिने यो व्यापार अस्ट्रेलियाको निकै ठूलो धन्दा बनेको छ । 

यताबाट पैसा पाउने र पठाउनेको नाम ठेगाना र फोन नम्बरसहितको प्रतिवेदन (अस्ट्रयाक) मा पठाएर यसलाई वैध बनाइएपनि नेपाल पठाइने पैसा हङकङ र ग्वान्जाउ वा अन्य सहरमा पठाउने गरिन्छ । पछिल्लो समयमा हुन्डीवालहरू सुन र क्रिप्टोमा पनि हुन्डीलाई प्रयोग गरेको खुलासा भएको छ । 

सो रकम बैंकमार्फत सिधै नेपाल पठाउने हो भने त्यो ट्रान्सफरलाई अस्ट्रेलियन सरकारको नीति नियमभित्रको वैध कारोबार भन्न मिल्थ्यो । तर नेपाल पठाउने भनेर नाम, ठेगाना र फोन उल्लेख गरिने पैसा लिने अनि अरू देशमा पठाउने काम आफैँमा बेइमानी देखिन्छ । नेपालमा रहेको नगद पैसालाई उतै तह लाउने र यताबाट पठाएको पैसा हङकङ र चीन पठाएर कमिसन खाने काम हुनेहुँदा यसलाई नेपालको सम्बन्धित निकायले अवैध ठहर गरी कारबाहीको दायरामा ल्याएको हो ।

यतिखेर हुन्डीको स्वरूपमा केहि परिवर्तन आएको छ । पहिले नेपालमा नगदमा कारोबार हुने हुन्डीले यतिखेर निजी बैंकहरूको प्रश्रय पाएको छ । यहाबाट उठाएको रकम कहाँ पुग्छ थाहा हुँदैन तर ती पाउनुपर्ने सम्बन्धित व्यक्तिको खातामा भने २४ घन्टाभित्र पुग्ने गर्छ ।

नेपाल पठाउन उठाइने तर नपुग्ने यस्ता रकमले मुलुकलाई दुई प्रकारले मारमा पारेको सिडनीका एक व्यवसायी बताउँछन् । उनका अनुसार एकातिर मुलुकमा नपुगेपछि प्रत्यक्षतः राज्यले प्राप्त गर्ने वैदेशिक मुद्रा छलियो भने अर्कोतिर अवैध रूपमा व्यापारीको हातमा पुगेपछि सोही डलरमार्फत भन्सार छल्ने काम हुने भयो । दुई लाखको एलसी खोलेर पाँच लाख डलरको सामान आयात गर्ने व्यापारीले कति भन्सार छल्छ र राज्यलाई कति घाटा होला भन्ने सहजै अनुमान लगाउन सकिन्छ । त्यतिमात्र होइन यहाँबाट सम्बन्धित व्यक्तिको नाममा पठाइएको रकम कहीँ कतै अर्को देश पठाउँदा आतंकवादी गतिविधिमा जोडियो भने उनीहरू सिधै कसुरदार ठहरिने खतरा पनि हुनसक्छ ।

मुलुकबाट पनि अर्बौं रुपियाँसमेत हुन्डीमार्फत् विदेश पठाइएको हुन्छ । विदेशमा पैसा लान नपाइने मुलुकको कानुनी प्रक्रियालाई ठाडो चुनौती दिँदै दोहोरो कमिसनको खेलमा अस्ट्रेलीयामा डलर उठाउने यतै दिने नेपालमा विदेश ल्याउन लिइएको रकम उतै बाँड्ने काम भइरहेको छ । यसलाई कालो धन सेतो बनाउन खेलका रूपमा लिइन्छ । 

यहाँका हुन्डीवालले नेपालका भ्रष्ट, कालाबजारिया र तस्करहरूसँग मिलेर ठूलो धन राशि अवैध बाटो हुँदै अस्ट्रेलिया भित्र्याउने कामसमेत गरिरहेका छन् । यसमा यिनलाई धेरै नाफा हुने गर्छ । यता छोराछोरी वा भाइभतिजका नाममा सम्पत्ति कीन्ने र पछि अस्ट्रेलियन बैंकमार्फत नेपाल लाने काम पनि भइरहेको देखिन्छ । यताबाट आफन्तको कमाइका नाममा बैंकिङ च्यानलबाट नेपाल पैसा पुग्दा त्यो वैध सम्पत्ति हुने भएकाले नेपालका भ्रष्ट नेता र कर्मचारीको पैसा धमाधम हुन्डीमार्फत् अस्ट्रेलिया आइपुगेको हुन्छ । 

यतिखेर अस्ट्रेलिया हुन्डी व्यापारीको लागि स्वर्गका रूपमा चिनिएको छ । पछिल्लो बीस वर्षदेखि यहाँ यो कमाउ धन्दा निर्बाध चलेको छ । अहिले दिनहुँ करिब १०-१२ करोड रुपिँया अस्ट्रेलियाका विभिन्न मनी ट्रान्स्फरमार्फत नेपाल जाने पैसा धेरैले संकलन गरे पनि मूलतः चारपाँच जनाले मात्र सबै रकम बटुलेर कारोबार गर्दै आइरहेको मानिन्छ । हुन्डीवाल भनेर चिनिएका केहीले सिडनीमा चलाएको यो धन्दा देशभर चल्ने गर्छ । हरेक तीन महिनामा ट्रान्सफरको पैसा मनग्गे भएपछि अस्ट्याकले रिपोर्ट माग्ने गर्छ । त्यसै बेला हुन्डीवालले आफ्नो बैंक खाता बन्द गरेर नया खाँता खोल्ने गर्छन् । 

प्रलोभन देखाएर आफन्त र सोझा साझा नेपाली विद्यार्थीको नाममा बैंकमा खाता खोलेर हुन्डीवालहरू पानीमाथि ओभानो हुने प्रयासमा लागेको पनि देखिन्छ । कदाचित फसी हाले सम्बन्धित बैंक खातावाल फस्ने हुनाले उनीहरू अलग र फरक व्यक्तिको खोजीमा रहन्छन् । पैसाको चलखेलकै कारण हुन्डीवालहरूको नेपालमा समेत प्रहरी र प्रशासनमा राम्रो पुहँच रहेको मानिन्छ ।

कतिपय हुन्डीवाल यहाँका बैंकमासमेत कालो सूचीमा परेको देखिन्छ । अहिले हुन्डीले केही फरक रूप लिन थालेको खुला नाम उल्लेख गर्न नचाहने एक हुन्डी व्यवसायीले गरेकाछन । यहाँ उठाएको रकम यतै चिनियाँ व्यवसायीलाई दिने र हङकङ वा चीनमा आरएमबी लिने नयाँ खेल प्रारम्भ भएको उनले दाबी गरे । यसो गर्दा बैंकको झन्झटिलो प्रक्रियाबाट पनि जोगिने र कमिसन पनि बढ्ने उनले बताए । 

राज्यले विधिवतरूपमा पैसा पठाउने प्रक्रियालाई सहज नबनाएको कारण पनि हुन्डीवालहरूको अवैध धन्दा सानदार व्यापार बन्न पुगेको छ । रेमिट्यान्समा निर्भर राज्यले विदेशबाट वैधरूपमा पैसा पठाउन सजिलो नबनाउनुमा कतै कालो धन सेतो बनाउन सम्पत्ति शुद्धिकरण गर्न सहज होस् भनेर त होइन ?

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  ०७:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro