site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अलेप्पो सहर पहिलोपल्ट सिरिया सरकारको नियन्त्रणभन्दा बाहिर
तस्बिर : एएफपी ।

बेरुत (लेबनान) । सिरियाको दोस्रो सहर अलेप्पो राष्ट्रपति बसर अल असदको सरकारको नियन्त्रणमा नरहेको बेलायतस्थित सिरियाली युद्ध अनुगमनकारी संस्थाले आइतबार जनाएको छ ।

“हयात तहरीर अल–शाम र सहयोगी विद्रोही समूहहरूले कुर्दिश सेनाद्वारा नियन्त्रित छिमेकहरूबाहेक अलेप्पो सहरलाई नियन्त्रण गरेका छन्,” युद्ध अनुगमनकारी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ ।

“सन् २०११ मा द्वन्द्व सुरु भएयता पहिलोपटक अलेप्पो सहर सिरियाली सरकारी सेनाको नियन्त्रणबाहिर पुगेको हो,” संस्थाका प्रमुख रामी अब्देल रहमानले एएफपीसँग भने ।

सिरियाली सेनाले विद्रोहीहरू अलेप्पोको ‘ठूलो भागमा’ प्रवेश गरेको स्वीकार गर्दै ‘सरकार पक्षधर सशस्त्र बलका दर्जनौँ व्यक्ति मारिएको र अरू घाइते भएका’ जनाएको छ ।

दुई महिना लामो युद्धपछि इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीच छिमेकी लेबनानमा युद्धविराम लागु भएकै दिन बुधबारदेखि लडाकुहरूले इरानी र रुसी समर्थित सिरियाली सरकारका सेनाविरुद्ध व्यापक आक्रमण सुरु गरेका थिए ।

सिरियाली सेनाले ‘सशस्त्र आतंकवादी संगठनहरू’ले ‘अलेप्पो र इदलिब मोर्चामा विभिन्न कोणबाट व्यापक आक्रमण’ गरेको र ‘१०० किलोमिटर (६० माइल)भन्दा बढी दूरीमा भीषण युद्ध भएको’ पुष्टि गरेको छ ।

केही दिनयता भएको झडपमा मृत्यु हुनेको संख्या शनिबारसम्म ३११ पुगेको छ, जसमा एचटीएस र सम्बद्ध समूहका १८३ लडाकु र सरकार समर्थित १०० सैनिकका साथै २८ सर्वसाधारण रहेका छन् ।

सिरियामा सन् २०११ मा राष्ट्रपति बशर अल असदको सेनाले प्रजातन्त्र पक्षधर प्रदर्शनमा कडाइ गरेपछि गृहयुद्ध सुरु भएको थियो । त्यसयता सिरियामा पाँच लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ । लाखौँ मानिस विस्थापित भएका छन् । देशको पूर्वाधार र उद्योगधन्दामा व्यापक क्षति पुगेको छ ।

पछिल्ला वर्षहरूमा यो द्वन्द्व जिहादी र असदका सहयोगी रुस, इरान र हिजबुल्लाहलगायत विदेशी शक्तिहरूबीच जटिल युद्धमा परिणत भएको छ ।

सेनाले युद्धमा गुमेका अधिकांश भूभागमा पुनः नियन्त्रण कायम गरे पनि जिहादी र उनीहरूका सहयोगीहरू रहेको क्षेत्रमा सन् २०२० देखि युद्धविराम सुरु भएको थियो ।

सिरियासँगको छिमेकी र असदविरोधी विद्रोहलाई समर्थन गर्ने टर्की समर्थित जिहादी र अरू समूहले यसै साता सरकारी सेनाविरुद्ध ठूलो आक्रमण सुरु गरेका थिए । रासस/एएफपी

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १७:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro