काठमाडौं । नेपाल स्रष्टा समाजले ‘सुभद्रा–विश्वराज स्रष्टा सम्मान–२०८१’ अग्रज साहित्यकार तथा संस्कृतिविद् आर.डी. प्रभास चटौतलाई प्रदान गर्ने निर्णय गरेको छ ।
नेपाली संस्कृति तथा साहित्यका क्षेत्रमा योगदान पुर्याएबापत चटौतलाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरिएको समाजले जनाएको छ ।
समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षता हालै बसेको बैठकले उक्त निर्णय गरेको हो । सम्मानका साथ नगद राशि २१ हजार १११ पनि प्रदान गरिने समाजले जनाएको छ ।
चर्चित कवि विधान आचार्यले स्थापना गरेको ‘सुभद्रा–विश्वराज स्रष्टा सम्मान’ नेपाली साहित्यको पारम्परिक तथा शास्त्रीय क्षेत्रमा योगदान पुर्याउने स्रष्टालाई प्रदान गरिँदै आइएको छ ।
विसं. २०७४ सालमा स्थापित यो सम्मानबाट हालसम्म रमेशचन्द्र देवकोटा, नारायणदत्त शास्त्री, प्रा.घनश्याम कँडेल, रमेश खकुरेल, भुवनहरि सिग्देल, श्रीहरि फुयाँल र गोविन्दराज विनोदी सम्मानित भइसकेका छन् ।