site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शान्ति सम्झौताका पक्षहरूमा विश्वासको गम्भीर संकट छ : सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले शान्ति प्रक्रियाका पक्षहरूबीच विश्वासको गम्भीर संकट रहेको बताएका छन् । मंगलबार त्रिभुवन विश्वविद्यालय द्वन्द्व, शान्ति र विकास अध्ययन विभागले गरेको शान्ति प्रक्रिया विगत र वर्तमान शीर्षकमा गरेको अन्तर्क्रियामा नेता सिटौलाले शान्ति प्रक्रियालाई पूर्णता दिन विश्वासको संकट चुनौतीका रुपमा रहेको बताए ।

“त्यसबेला सातदलको तर्फबाट गिरिजाबाबुले र माओवादीका तर्फबाट प्रचण्डजीले हस्ताक्षर गर्नुभएको थियो । त्यसबेला यी दुई शक्तिबीचमा उच्च तहको विश्वास थियो,” सिटौलाले भने, “अहिले सात दलको हिस्सा कांग्रेस र एमालेसँग छ । टुटफूट भएर छरिए पनि माओवादीको हिस्सा नेकपा माओवादी केन्द्रसँग छ ।” 

उनले यी पक्षबीचमा हिजोका दिनमा जस्तो विश्वास भने कायम नरहेको बताए । “यी दुई पक्षमा परस्परको विश्वास हुनुपर्नेमा विश्वासको संकट छ । एक अर्कालाई प्रयोग गर्ने र मौका मिले ठोक्ने खालको सोच कायम छ,” सिटौलाले भने, “यो सोच र मनोविज्ञान रहँदासम्म शान्ति प्रक्रियाको पूर्णताका लागि संक्रमणकालीन न्याय व्यवस्थापन सहज छैन ।”

उनले औपचारिक छलफलबाट विश्वास आर्जन नहुने र विश्वास कायम नहुँदा अनिश्चितता लम्बिने भन्दै विश्वासका लागि काम गर्नुपर्ने बताए । “औपचारिक छलफल अन्तर्क्रियाले त्यो विश्वास आर्जन हुँदैन,” सिटौलाले भने, “त्यसका लागि के गर्नुपर्ने हो । जिम्मेवारीमा हुनेहरूले त्यो जिम्मेवारी निर्वाह गर्नुपर्छ ।” 

सिटौलाले शान्ति सम्झौताका बाँकी काम पूरा गर्न माअ‍ोवादीलाई विश्वासमा लिन अनिवार्य भएको भन्दै अप्रत्यक्ष रूपमा सर्वदलीय सरकारको सुझाव दिएका छन् । 

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १६:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro