विराटनगर । मोरङमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइवाई पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार कर्णाली र मधेस प्रदेश विजयी भएका छन् ।
विराटनगरस्थित मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा कर्णालीले वाग्मती प्रदेशलाई २० रनले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा २०.५ ओभरमा सबै विकेट गुमाई ७५ रन बनाएको थियो ।
७६ रनको विजयी लक्ष्य पछ्याएको वाग्मती १८.३ ओभरमा सबै विकेट गुमाउँदै ५५ रनमा समेटियो ।
मंगलबारै भएको अर्को खेलमा मधेसले लुम्बिनी प्रदेशलाई एक विकेटले पराजित गर्यो । बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा लुम्बिनीले ५० ओभरको खेलमा २० ओभरमा सबै विकेट गुमाई ७० रन बनाएको थियो ।
७१ रनको लक्ष्य मधेसले २७ ओभरमा नौ विकेट गुमाउँदै पूरा गर्यो ।