
काठमाडौं । प्रतिकूल मौसमले मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसम प्रतिकूल भएपछि भिजिबिलिटी कमजोर हुँदा काठमाडौंबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार, लुक्ला गन्तव्यमा बाक्लो तुवाँलोका कारण हवाई उडान हुन सकेको छैन । “मौसममा आएको खराबीका कारण दुर्गम क्षेत्रको उडान प्रभावित भएको छ । सुगम क्षेत्रका विमानस्थलको उडान नियमित रूपमा सञ्चालन भइरहेको छ,” उनले भने ।
काठमाडौं विमानस्थलमा आन्तरिकतर्फ इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आईएफआर) उडान मात्र भइरहेको छ । मौसमका कारण भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडान हुन सकेको छैन । उडान प्रभावित हुँदा गन्तव्यमा हिँडेका उल्लेख्य संख्यामा पर्यटक अलपत्र परेका विमानस्थल कार्यालयले जनाएको छ ।
काठमाडौंबाट तराई क्षेत्रका विमानस्थलमा उडान नियमित छ । दुर्गम क्षेत्रका अधिकांश उडान हुन सकेको छैन । अन्तर्राष्ट्रिय उडान भने सामान्य रूपमा सञ्चालन भइरहेको छ । रासस