भीमनिधि तिवारी
समालोचनको अर्थ :– कतिपय मनुष्यहरुले संझेका छन् ‘समालोचना गर्नु’ माने कुनै किताब या वस्तुको दोष मात्र झिकेर देखाइदिनु । किन्तु समालोचनाको यथार्थ अर्थ त्यो होइन । समालोचनाको माने जुन चीजको समालोचना गर्नु छ सर्वप्रथम त्यसको एक एक गुण एकातिर र अवगुण जति अर्कोतिर छुट्टयाउनु, अनि दुवैलाई हृदयको तराजूमा (हीरा जोख्ने तराजूमा) राखेर जोख्नु हो । काँटा जता ढल्कन्छ, गुण अथवा अवगुणतिर ।
कैलेकाहीँ ठीक बीचमा पनि रहन सक्छ । अर्को शब्दमा– समालोचना माहुरीको चाका जस्तो हुनुपर्छ जसमा मह र खोस्टा अलग अलग स्पष्ट देखियोस् ।
साहित्यमा समालोचनाको आवश्यकता :– भाषामा व्याकरणको जति आवश्यकता छ साहित्यमा पनि समालोचनको ठीक त्यति जरूरत छ अर्थात् विनाव्याकरण भाषा शुद्ध हुन सक्दैन, त्यस्तै, समालोचना विना पनि विशुद्ध साहित्य निस्कन सक्दैन । समालोचना, साहित्यको प्रमुख अंग हो, अन्धकार वनको पथ प्रकाशक हो । या त यो एउटा कसी हो जसबाट स्वर्ण ग्रन्थको दाग छुट्टयाउन सकिन्छ ।
कुनै कुनै साहित्य सेवीहरु भन्छन्– वर्तमान हाम्रो साहित्य शैशवावस्थामा छ । त्यसकारण अहिले हामीलाइ समालोचना चाहिएको छैन । जे जस्तो होस् किताब चाहिएको छ, किताबकै बृहत् संख्या चाहिएको छ ।
वास्तवमा त्यो धारणा ठीक होइन । पुस्तक र समालोचना साहित्यका दुई पाङ्ग्र्रा हुन् जो साथ साथ चल्दछन् । दुईमध्ये एउटा अघि अर्को पछि सर्वथा हुन सक्दैन । नत्र साहित्यरूपी रथ नै पल्टने संभावना रहन्छ । यदि हामी कुनै वृक्ष सोझो गराउन चाहन्छौँ भने हामीले त्यसलाइ बाल्यावस्थामा काटछाँट गरिदिनुपर्छ ।
समालोचना गर्दा याद राख्नुपर्ने कुराहरु :– विषयबोध– संसारमा जति कला र विद्या छन् एउटा मनुष्यले ती सबै जानेको हुँदैन, जान्नु पनि असम्भव छ । त्यसकारण जो कुरा समालोचनाको निमित्त आउँछ पहिले समालोचकले विचार गर्नु त्यो विषयमा आफ्नो पूर्ण गति छ कि छैन । यदि रहेछ भने त्यस किताबलाई दुई तीन पटक पठन र मनन गरेर, कुनै कलापूर्ण वस्तु भए गहन निरीक्षण गरेर आलोचनाको निमित्त कलम उठाउनुपर्छ ।
थाहा नभएको विषयमा गरेका आलोचना रित्तो खल्ती बजाएको जस्तो हुन्छ । कुनै संगीतज्ञले समालोचनार्थ संगीतको एउटा किताब लिएर आए । जो सच्चा समालोचक हो ऊ स्पष्ट भन्छ या कलामा मलाइ यथार्थ बोध छैन । त्यसकारण यसको आलोचना मबाट हुन सक्दैन । कुनै अर्को व्यक्तिकहाँ लैजानुहोस् जो यसमा निपुण छ ।
जस्तो भन्नामा गौरव घट्ने केही कुरा छैन किनकि संगीतमा आधा स्वरको यता उतिमा कति कला लुकेको हुन्छ त्यो कुरा साहित्यिक हृदयले कसरी देख्न सक्छ ? कुनै ज्योतिषीले ग्रन्थ लेखेर ल्याए, उनलाई पनि भनिदिनू यसको आलोचना गर्न असमर्थ छु । मैले यो विषयको ज्ञान आजसम्म प्राप्त गर्न पाएको छैन । यस्तो स्पष्टता आलोचकको निमित्त आदर्शको कुरा हो । अज्ञात विषयमा अग्रसर भएर आलोचना गर्ने आलोचक तत्कालैमा या निकट भविष्यमा चित परेर पछारिन्छ ।
गुणदोष :– जुनसुकै किताब या वस्तुको गुण वर्णन गर्नुपरेमा “अहाहा !!! अहो ! धन्य !! तब कलम ! तब दिमाग !” इत्यादि । यस्ता किसिमका हास्यास्पद प्रशंसा कदापि नहोस् । जो प्रशंसा गरियोस् ठीक मात्रामा गरियोस् ।
फेरि दोषमा पनि “छी ! छी ! तुच्छ विचार ! लेखन कुन चराको नाम हो लेखकलाई थाहा नै छैन ! कविको कवितामा कपिता झल्कन्छ ।” इत्यादि ।
यस्ता तीक्ष्ण वचन पनि समालोचकका निमित्त त्याज्य छ । कुनै कुनै समालोचकका कलम ता दुम्सीको काँढा जस्तो हुन्छ । मुटु, कलेजो, फियोसम्म पनि चस्स चस्स घोच्छ । जो प्रौढ ग्रन्थकार छन् उनीहरु ता कुनै समालोचकले चाहे प्रशंसा गरोस्, चाहे निन्दाको वर्षा गरोस् बेपरवाह रहन्छन् । उनीहरुमा हर्ष पनि हुँदैन, विषाद पनि ।
तर नवीन लेखकहरुलाई भने यस्ता वाणवाक्यले साह्रै व्यथित तुल्याउँछ, हीनोत्साह गराउँछ । त्यसकारण दोष प्रदर्शन गर्दा समालोचकले हमेशा ‘ज्योतिषी भाषा’ प्रयोग गर्नुपर्छ । नराम्रो कुरालाई पनि राम्रो रूपमा भन्न सक्ने ढङ्ग प्राप्त गर्नुपर्छ ।
अर्थात् “तपाईंका अगाडि पत्नी संतति सब भकाभक मर्छन् । तिनीहरुको सद्गत “तपाईंले गर्नुपर्छ” भन्नु सट्टा ‘घरभरिमा तपाईंको जस्तो लामो आयु अरू कसैको पनि छैन’ भन्नु हो । कुरा उही, शब्दविन्यास मात्र फरक छ ।
स्वार्थ र भय :– यदि कुनै ग्रन्थकार खानदानी या धनवान् या उच्च पदाधिकारी छन् भने समालोचकले स्वार्थवश ग्रन्थको तारीफै तारीफ गर्नुहुँदैन । भयवश दोष दबाउनु पनि हुँदैन । स्वार्थी र डरपोक मानिस सफल समालोचक बन्न कुनै हालतमा पनि सक्दैन ।
कुनै कुनै समालोचना यस्तो पनि देखिएको छ ग्रन्थको आलोचना हुँदा हुँदै एकदम ग्रन्थकारको वर्णन, स्तुति हुन पुग्छ । समालोचकले त्याग्नुपर्ने यो एउटा ठूलो दोष हो । जो आलोचना होस् ग्रन्थकै उपरहोस् ग्रन्थकारको उपर नहोस् ।
ग्रन्थकार ता दुई दिनको पाहुना हो आखिर मर्छ जान्छ । धेरै कालसम्म रहने, देशको सम्पत्ति ता उसले लेखेको ग्रन्थ नै हो । फेरि प्रतिभाको क्षेत्रमा को ठूलो ? को सानो ? समालोचना गर्न बस्ता समालोचकले लेखकलाई बिर्सेर लेखलाई मात्र संझनुपर्छ ।
निष्पक्षता :– कैलेकाहीँ समालोचकको अगाडि समालोचनार्थ एउटै विषयमा दुई जनाको लेख वा वस्तु आउँछ । त्यस्तो अवस्थामा समालोचकले त्यो कार्य चाहे मित्रको होस् चाहे शत्रुको बिलकुल पक्षपातरहित भएर हेरिदिनुपर्छ, जस्तो छ यथार्थ लेखिदिनु या भनिदिनुपर्छ ।
जस्तै, दुइटा कविले ‘वसन्त’ को बारेमा कविता लेखेर ल्याए । त्यसमध्ये एउटाचाहिँ चिर–परिचित र अर्कोचाहि अपरिचित रहेछन् भने तुलनात्मक दृष्टिले हेर्नुपरेमा समालोचकले आत्मीय जनतिर सर्वथा ढल्कन हुँदैन । उसले न्यायाधीशको आसनमा बसेर विचार गर्नुपर्छ । समालोचकमा हुनुपर्ने यो एउटा अत्यावश्यक गुण हो ।
आत्म–पाण्डित्य :– समालोचना गर्नुभन्दा पहिले, बीचमा, अंत्यमा कोही कोही समालोचकहरु खूब आत्म–पाण्डित्य देखाउँछन् । वास्तवमा त्यो दिमागी रोग हो । जस्तै कुनै नाटकको आलोचना गर्नुप¥यो भने शिलालिन र कृशाश्वको उल्लेख, भरतमुनिको नाट्यशास्त्र, भास, कालिदास र अश्वघोषका नाटकहरुको प्रशंसा प्राचीन यूनानी नाटककारको वर्णन, अंग्रेजी, फ्रांसिसी, जर्मन, रूसी सके चीनियाँ र जापानी नाटककारको पनि नाम यानी त्यस विषयमा जति पढेका, जानेका, सुनेका छन् सबका सब लेख्छन् ।
मैले कति पढेको रहेछु । मलाई कति कुरा थाहा रहेछ ! आफ्नो धाक पैले देखाएर अनि आलोचना आरम्भ गर्छन् । कैलेकाहीँ ता समालोचनाभन्दा बढ्ता आत्म–पाण्डित्य नै लेखिएको हुन्छ ।
निःसन्देह, समालोचक प्रकाण्ड पण्डित, प्राकृतिक र सामाजिक विषयको पूरा ज्ञाता हुनुपर्छ । तर आत्म–पाण्डित्य मदारीको साँप झैँ यत्रतत्र देखाउनु हुँदैन । शैलीको हकमा साना साना वाक्य, जहाँसम्म हुन सक्छ सरल र सुबोध हुनुपर्छ । क्लिष्ट भाषाले लेखकको मात्र होइन, समालोचकको पनि परिश्रम विफल गराइदिन्छ ।
रुचि–अनुकूल :– संसारमा भिन्न भिन्न मानिसको विचार र रुचि भिन्न भिन्न हुन्छ । अतः सबै लेखकहरु आफ्नो विचार तथा अभिरुचिअनुसारको लेख या किताब लेख्छन् । तर समालोचकहरुमा यो दोष प्रायशः पाइन्छ– आलोच्य विषय उनीहरुको विचारको या रुचिको अनुकूल भयो भने प्रशंसाको लामो लामो अनावश्यक पुल पनि बाँध्न तैयार हुन्छन् ।
यदि किताबको विषय आफ्नो सिद्धान्तको विपरीत रहेछ भने निन्दाको वर्षा गर्न पनि पछि हट्दैनन् । दुनियाँमा जति लेखकहरु छन् ती सबैको विचार मेरै जस्तो होओस् औ मेरोसित मिलोस् भन्ने संझनु समालोचकको शतांश धृष्टता हो । यस्ता समालोचक नेपाली साहित्यक्षेत्रमा पनि देखिन्छन् ।
समालोचक देश, काल, परिस्थितिवेत्ता हुनुपर्छ र त्यसैको अनुसार चल्नुपर्छ । मैले जो विचार गरेको छु त्यही ब्रह्म हो, सत्य हो अरू सब मिथ्या हुन् भन्ने सम्झनु मूर्खता हो । समालोचनकलामा सफल हुन चाहनेले यस्तो हटवादलाई त्याग गर्नुपर्छ ।
विज्ञापन :– किताबको र लेखकको नाम, प्राप्य स्थान, मूल्य, यतिसम्म ता समालोचकले लेख्नैपर्छ । तर कैलेकाहीँ समालोचनाको अंतमा कोरा विज्ञापन हुन्छ । छपाइ सफाइ, सुन्दर जिल्द किताब सस्तो छ संग्रहणीय छ इत्यादि । लेखक ता यस्तो विज्ञापन खूब चाहन्छ किनकि यसले उसको किताब बिक्रीमा सहायता दिन्छ । किन्तु आलोचकले विज्ञापनबाजी गर्न हुँदैन ।
अनधिकार चेष्टा :– लेखकमा जति विद्या, अनुभव, प्रतिभा हुन्छ त्यसको कैयौँ गुना बढ्ता समालोचकमा हुनुपर्छ । तर आजकल ता समालोचनाको ‘स’ दंत्य, तालव्य, मूद्र्धन्य के हो त्यतिसम्म ज्ञान नभएका मानिस पनि आफूलाइ समालोचक संझन्छन् र आलोचना गर्न कलम चोप्दछन् । यस्ता समालोचकहरु बगरे हुन् र कलालाई रेटी रेटी मार्छन् ।
अतः जो कोही समालोचक हुन पाउँदैन । समालोचक हुन चाहनेहरुलाई उनीहरुको योग्यता हेरेर, कुनै साहित्यिक संस्थाबाट प्रमाणपत्र दिने प्रथा हुनुपर्छ । नत्र वर्षा ऋतुमा बढेका (संख्यामा) ब्याङहरुको निरन्तर ’ट्वाँइट्वाँइ’ लेखकहरुको शान्ति भंग गर्ने अनिष्ट साधन हुनेछन् ।
प्रसंगवश, नेपाली साहित्य जगत्लाई यो कुरा पनि बोध होओस्– अहिले नेपालमा करीब सय लेखक छन् । करीब दुई सय समालोचक !! करीब चार सय पाठक या ग्राहक !! सय लेखक भएको ठाउँमा दुई सय समालोचक !!! विश्व–साहित्यमा यस्तो अद्भुत उदाहरण कतै छैन ।
धेरैजसो कोठे, ओठे समालोचक ! कवि ता आफ्नो कल्पनाका पखेटाले सर्वत्र उड्न सक्छ । तर समालोचकले भने फुकी फुकी पाइला चाल्नुपर्छ, एक एक वाक्यलाई तराजूमा तौली तौली लेख्नुपर्छ । विद्वानहरुको सार–रस लेखकहरु हुन् । समालोचकहरु ता ती लेखकहरुको पनि सार–तत्त्व तेजाब हुन् । आफूमा योग्यता नभईकन समालोचना गर्न अग्रसर हुनु अनधिकार चेष्टा हो । सफल लेखक हुन नसकेर बनेका त्यस्ता समालोचकले गरेका आलोचना बहुलाले बजाएको डम्फू या मादल जस्तो हुन्छ ।
मेरा यी वाक्यले होनहार समालोचकहरु हतोत्साह नहोऊन् प्रत्युत विद्या, बुद्धि, अनुभव, योग्यता बढाउन सततः प्रयत्न गरून् । (साहित्यकार तिवारीको ‘पन्ध्र प्रबन्ध’बाट ।)