site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
निर्णय कार्यान्वयनमा मन्त्रालयको तयारी के छ ? विज्ञ भन्छन्– औषधि र उपचार पद्धति थपिनुपर्छ 

काठमाडौं । नागरिकको स्वास्थ्य सेवामा राज्यको दायित्वअन्तर्गत अर्को एक महत्त्वपूर्ण निर्णय भएको छ, १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने । आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले तीनवटा सरकारी अस्पतालबाट सो उपचार निःशुल्क गर्ने घोषणा गरे । 

कान्ति बाल, भक्तपुर क्यान्सर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट यो सेवा निःशुल्क गर्ने मन्त्रीस्तरीय निर्णयमा उल्लेख छ । आगामी मंसिर १ गतेबाट निःशुल्क सेवा सुरु गर्ने मन्त्रालयको तयारी छ ।

लक्ष्यमा वार्षिक १५ सय बालबालिका, यस्तो छ नेपालमा बाल क्यान्सरको अवस्था 
नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको छ । तर, तीमध्ये झन्डै आधा बालबालिकामा मात्रै समयमा पहिचान हुने गरेको छ ।

Dabur Nepal
NIC Asia

कान्ति बाल अस्पतालमा बर्सेनि दुई सयदेखि तीन सयजनासम्म नयाँ बिरामी थपिने गरेको तथ्यांक छ । दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्ममा बाल क्यान्सरबाट बाँच्ने दर ६० प्रतिशतभन्दा बढी पुर्‍याउने उल्लेख छ । हाल कान्ति बाल अस्पतालमा मात्रै यो दर ६० प्रतिशतभन्दा बढी छ । 

समग्र मुलुकको अवस्था हेर्ने हो भने यो दर औसत ४० प्रतिशतभन्दा कम छ । यसमा ढिलो उपचारमा आइपुग्ने, पहिचान भए पनि उपचार नै नगराउने तथा बीचमा उपचार छोड्नेजस्ता कारण रहेको कान्ति बाल अस्पतालका वरिष्ठ अंकोलोजिष्ट औषधि डा. सुधिर सापकोटा बताउँछन् । 

कान्तिकै तथ्यांक हेर्ने हो भने क्यान्सर पहिचान भएकामध्ये १० देखि १५ प्रतिशत बालबालिकालाई अभिभावकले उपचार नै नगरी फर्काउने गरेका छन् । 

यसरी उपचार नगराउनुमा  आर्थिक अभाव नै मुख्य कारण रहेको डा. सापकोटाको अनुभव छ । यहीकारण बाल क्यान्सरको उपचारमा चुनौती बनेको उनी बताउँछन् ।

डा. सापकोटाका अनुसार बाल क्यान्सरको समग्र उपचारमा झन्डै २५ प्रतिशत खर्च औषधिमा हुने गरेको छ ।  यसबाहेक परीक्षण र परिवारको बस्नेखाने लगायतमा पनि ठूलो खर्च हुन्छ । 

सरकारले सबै प्रकारका क्यान्सरमा प्रतिव्यक्ति एक लाख रुपैयाँसम्म उपचार खर्च छुट दिँदै आएको छ । यसबाहेक प्रदेश सरकारले ५० हजारदेखि दुई लाखसम्म थप राहत दिँदै आएका छन् । तर, यो रकम क्यान्सरका बिरामीको उपचारका लागि पर्याप्त छैन ।

आर्थिक अभावले बालबालिका मृत्युको मुखमा नपुगुन् भन्ने उद्देश्यले नै निःशुल्क उपचारको निर्णय गरिएको स्वास्थ्यमन्त्री पौडेलले बताए ।

free-medicine-1730119087.jpg
 

निर्णय कार्यान्वयनको तयारी के छ ? 
बाल क्यान्सरको निःशुल्क उपचारका निम्ति कार्यविधि बनाउने स्वास्थ्य मन्त्रालयको तयारी छ । त्यसका निम्ति आगामी दुई साताभित्र प्रक्रिया अघि बढाइने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । उनका अनुसार ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने र परीक्षण तथा अन्य उपचारबापत् अस्पताललाई शोधभर्ना रकम उपलब्ध गराउने मन्त्रालयको तयारी छ । 

प्रवक्ता बुढाथोकीका अनुसार अस्पताललाई दिइने रकम मन्त्रालयले आन्तरिक स्रोतबाट नै व्यवस्थापन गर्नेछ । यी सबै प्रक्रियाका लागि तीनवटै अस्पतालसँग आवश्यक छलफल भइसकेको छ । 

निःशुल्क उपचारसँगै नयाँ औषधि र पद्धति पनि थप्नुपर्छ 
बाल क्यान्सरको उपचारका निम्ति परीक्षणदेखि औषधिसम्मका सेवा निःशुल्क गर्ने मन्त्रालयको निर्णय नागरिकका निम्ति ठूलो राहत हुनेछ । तर, अहिलेकै उपचार पद्धति र प्रयोग भइरहेका औषधिमा मात्रै सीमित रहने हो भने क्यान्सरबाट बचाउन सकिने दर अहिलेकोभन्दा नबढ्ने विज्ञहरू बताउँछन् । 

सरकारी अस्पतालमा अहिले उपलब्ध नभएका परीक्षण र औषधि, सापोेर्टिभ केयरको औषधि प्रदान गर्न समेत सरकारको जोड हुनुपर्ने डा. सापकोटा बताउँछन् । 

“कान्तिमा अहिले उपलब्ध नभइरहेका क्यान्सरसम्बन्धी विभिन्न परीक्षण विधि, इम्युनो थेरापीका लागि चाहिने औषधि लगायतमा पनि सरकारले सोच्नुपर्छ, अहिलेकै उपचार विधि र औषधिले मात्रै बचाउने दर बढाउन गाह्रो छ,” डा. सापकोटाले बाह्रखरीसित भने । 

नेपालमा बालबालिकामा बोनम्यारो प्रत्यारोपणको स्पष्ट नीति नभएको, त्यसबारे नीति बनाउने र आवश्यक विधि भित्र्याउने विषयमा पनि मन्त्रालयको जोड हुनुपर्ने उनको भनाइ छ । 

सरकारले निःशुल्क उपलब्ध गराउन लागेका ३५ प्रकारका औषधिमा नयाँ र प्रभावकारी औषधिहरू नसमेटिएकाले त्यस्ता औषधिबारे पनि सोच्नु आवश्यक रहेको डा. सापकोटा बताउँछन् । 

डिसेम्बरदेखि ३५ प्रकारका औषधि निःशुल्क 
स्वास्थ्य मन्त्रालयले बाल क्यान्सरको उपचारमा प्रयोग हुने ३५ प्रकारका औषधि आगामी डिसेम्बरदेखि निःशुल्क उपलब्ध गराउने तयारी गरेको छ । विश्व स्वास्थ्य संगठनको ‘ग्लोबल इनिसिएटिभ फर चाइल्डहुड क्यान्सर’ (जीआईसीसी) कार्यक्रमअन्तर्गत नेपाललाई ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध हुँदैछ । त्यसका निम्ति सन् २०२३ अप्रिलमा मन्त्रालयलसँग सम्झौता भएको थियो । 

अमेरिकाको सेन्ट ज्युड चिल्ड्रेन्स् रिसर्च हस्पिटलको सहयोगमा ती औषधि नेपाल ल्याइनेछ । जसमा रक्त क्यान्सरका विभिन्न प्रकारसहित आँखामा हुने (रेटिनोब्लास्टोमा), मस्तिष्कसम्बन्धी (न्यूरोब्लाष्टोमा) लगायतका ६ वटा क्यान्सरको केमोथेरापीमा प्रयोग अत्यावश्यक औषधि छन् । 

आगामी डिसेम्बरबाट उपलब्ध गराउनेगरी ३५ प्रकारका औषधि ल्याउने तयारी गरिएको मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । त्यसका निम्ति तयारी अन्तिम चरणमा रहेको उनले बताए । 

निःशुल्क औषधि कान्ति बाल अस्पताल, भरतपुर र भक्तपुर क्यान्सर अस्पतालबाट उपलब्ध गराइनेछ । ती औषधि आवश्यकताअनुसार अस्पतालमा वितरण गरिनेछ । निःशुल्क अ‍ैषधि लिन चिकित्सकको बाहेक थप कुनै सिफारिस आवश्यक पर्दैन । 

निःशुल्क औषधि र उपचार नीतिले बाल क्यान्सरको उपचार क्षेत्रमा बलियो फड्को मार्ने मन्त्रालयको विश्वास छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  ०६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro