म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको तातोपानीको मुहान उपयोग र संरक्षणको पर्खाइमा छ ।
अध्ययन अनुसन्धान, पूर्वाधार, व्यवस्थापन र संरक्षणको अभावमा लोमान्थाङको फेदीमा रहेको प्राकृतिक तातोपानीको मुहानलाई प्रयोगमा ल्याउन नसकिएको हो । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले खेर गइरहेको तातोपानीलाई पर्यटकीय गन्तव्य बनाउने र उपयोगमा ल्याउन पहल थालिएको बताए ।
“लोमान्थाङको नजिकै भएर पनि ओझेलमा परेको तातोपानीको मुहानलाई व्यवस्थापन गर्न चालु आर्थिक वर्षमा १० लाख बजेट विनियोजन गरेका छौँ”, उनले भने, “तातोपानीलाई व्यवस्थित रुपमा उपभोग गर्न सक्ने हो भने पर्यटन र आर्थिक हिसाबले धेरै राम्रो हुने सम्भावना छ ।”
लोमान्थाङ खोलाको किनारमा रहेको तातोपानीलाई पोखरीमा संकलन गरेर स्नानको गर्ने व्यवस्था मिलाउने तयारी गरेको अध्यक्ष गुरुङले बताए ।
चिसो हावापानी र मौसम हुने लोमान्थाङमा रहेको तातोपानीको मुहन प्रकृतिको वरदान हो । खोलाको किनारमा जमिनभित्रबाट करिब ५० डिग्री सेल्सियस तातोपानी निस्कन्छ ।
लोमान्थाङ–सुर्खाङ पदमार्गमा पर्ने तातोपानी कुण्ड नजिकैसम्म सडक पुगेको छ । बेनी–जोमसोम–कोरला सडक निर्माण भएपछि विकल्पमा पुराना घोरेटो बाटोलाई स्तरोन्नति गरेर पर्यटक हिँडाउन थालिएको हो ।
कुण्डको नजिकै आश्रयस्थल र स्नान गर्ने ठाउँ पनि छ । जमिनभित्रबाट तातोपानी निस्कने गर्छ । स्थानीयवासी भने तातोपानी नुहाउनका लागि जाने गर्छन् ।
व्यवस्थित र प्रचारप्रसार नभएकाले लोमान्थाङ आउने पर्यटक कुण्डसम्म पुग्न नसकेका लोमान्थाङका वडाध्यक्ष ढुढुके विष्टले बताए । कुण्डलाई व्यवस्थित गरेर लोमान्थाङ घुम्न आउने पर्यटकको बसाई लम्बाउने प्रयासमा रहेको उनले बताए ।
लोमान्थाङदेखि ३० मिनेट पैदलयात्रा गरेपछि तातोपानीको मुहानमा पुगिन्छ । स्थानीयका अनुसार तातोपानी कुण्डमा स्नान गर्दा हाडजोर्नी तथा छालासम्बन्धी रोग निको हुन्छन् । तातोपानीमा स्नान गरेपछि थकान मेटाउन र शारीरिक स्फूर्ति हुन्छ ।
विशाल फाँटको बीच भागमा माटोको पर्खालले घेरिएको मुस्ताङको लोमान्थाङ ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय सम्भावना बोकेको बस्ति हो ।
वरपर सुक्खा कलात्मक पहाडको बीच भागमा रहेको लोमान्थाङ गाउँपालिकाको केन्द्रसमेत रहेको यो ठाउँ समुद्री सतहदेखि तीन हजार ७२० मिटरको उचाइमा छ ।
समथर खेतीयोग्य फाँटको बीचमा बसेको लोमान्थाङ वरपरको भूगोल मनमोहक र आकर्षक छ । फाँटको फेदीमा तातोपानीको मुहान रहेको छ ।
माटोको पर्खालभित्र रहेको ऐतिहासिक बस्ती, दरबार र गुम्बा, सांस्कृतिक राजा, मुखिया परम्परा, तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो संस्कार र जीवनशैली लोमान्थाङको आकर्षण भएको लोमान्थाङ गाउँपालिका–५ का वडासदस्य लाक्पा वाङदी गुरुङले बताउनुभयो ।
अर्धनिषेधित क्षेत्रमा पर्ने उपल्लो मुस्ताङमा वार्षिक तीन हजारजनाको अनुपातमा विदेशी पर्यटक आउँछन् । त्यहाँ हिजोआज भने नेपाली पर्यटकको चहलपहल छ । रासस