site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रोनाल्डोको खेल हेर्न पुग्दा...
SkywellSkywell

कसैले मेसी कि रोनाल्डो भनेर सोधिहाले, मेरो सधैँ जवाफ हुन्थ्यो– मेसी । विश्व फुटबलमा वर्तमान पुस्ताका सबैभन्दा अब्बल फुटबलरमा पर्छन्, अर्जेन्टिनी कप्तान लियोनल मेसी र पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो ।

व्यक्तिगतरूपमा अर्जेन्टिना र बार्सिलोनाको समर्थक भएकाले रोनाल्डो सधैँ मेरो प्रतिद्वन्द्वी खेलाडीजस्तै रहे । तर, अक्टोबरमा ५ मा उनै रोनाल्डोको खेल हेर्न अवसर जुर्‍यो ।

एआईपीएसको आयोजनामा साउदी अरेबियाको रियादमा भएको युवा खेलकुद कार्यक्रमको पाँचौँ दिन उनको खेल हेर्ने अवसर पाएको थिएँ । रियादमा हामी बसेको स्थान ओलैयाबाट करिब एक घण्टाको दुरीमा अल–नासरको घरेलु मैदान अल–अवाल पार्क थियो । अल–नासरको खेलको अघिल्लो दिनदेखि नै आयोजकले हेर्न जाने भए तयार रहन भनेको थियो ।

KFC Island Ad
NIC Asia

वर्तमान समयकै सबैभन्दा उत्कृष्टमध्येका एक खेलाडीको खेल प्रत्यक्षरूपमा हेर्न पाउनु स्वभावलै मेरो लागि ठूलो उपलब्धि थियो । 

अपराह्न ५ बजे हामी होटलबाट निस्कियौँ । हामीसँगै ११ देशका प्रतिनिधि अल–अवाल पुगेका थियौँ । कार्यक्रममा १३ देशका प्रतिनिधि रहे पनि सेनेगलका महमुद गेए र इटालीका मातिया बियान्की भने हामीसँग गएनन् । गेए सेनेगलका युवा फुटबलरको खेल हेर्न अर्कै स्थान पुगे । बियान्की भने साउदी गेम्सको रिर्पोटिङमा गएका थिए । 

उक्त दिन रोनाल्डोको टोली नासरले साउदी प्रो लिगअन्तर्गत घरेलु मैदानमाख अल–ओरोबाहसँग खेल्ने तालिका थियो । कार्यक्रमका आयोजकले खेलका निम्ति ‘मिडिया एक्रिडिटेसन’ उपलब्ध गराउन आग्रह गरे पनि लिगले तत्कालै त्यो सम्भव नहुने बतायो । यसपछि हामी समर्थकको रूपमा अवाल पार्क पुग्यौँ । 

खेल सुरु हुनुभन्दा आधा घण्टा अघि पुगेकाले हामीले रोनाल्डोसँगै, साडियो माने, टालिस्का, मार्सेलो ब्राजोभिच, ओटाभिओ, आइमेरिक लापोर्टेजस्ता खेलाडीको ‘वार्म अप’समेत हेर्न पायौँ । 

रोनाल्डोकै कप्तानीमा ओर्लिएको नासरले घरेलु समर्थकमाझ ओरोबाहविरुद्ध ३–० को सहज जित दर्ता गर्‍यो । जसमा सेनेगलका स्टार मानेले दुई गोल गर्दा रोनाल्डोले पेनाल्टीमा एक गोल थपे । नेपाली खेलकुद पत्रकारमध्ये निकै कमले पाउने अवसर पाउनु पक्कै पनि सानो अवसर थिएन । अझ रोनाल्डोको गोल पनि । यो मेरा लागि सपनाजस्तै थियो । 

कार्यक्रमका लागि रियाद पुग्दा पनि रोनाल्डोको खेल हेर्न पाउँछु भन्ने अनुमानसम्म थिएन । खेल हेर्न दर्शक अपेक्षाअनुरूप थिएनन् । २५ हजार क्षमता रहेको अवाल पार्कका केही स्थान खालीजस्तै थिए । तर, हामी बसेको स्थान भने घरेलु टिमका समर्थकले भरिएको थियो । जहाँ खेलको पहिलो ‘ह्विसिल’ बज्नुभन्दा पहिलेदेखि नै समर्थकहरू अल–नासरको आधिकारिक गित गाउँदै थिए ।

‘क्लबमा हर्षोल्लास गर्दै, मेरो मुटुमा एकमात्र क्लब–अल नासर’ हामी बसेको क्षेत्रमा रहेका करिब पाँच हजार दर्शक यही गीत गाउँदै थिए । स्थानीय बाजाको आवाजले माहोल घन्किरहेको थियो । ठूला–ठूला झन्डा खेलको अन्तिम ‘ह्विसिल’ नबज्दासम्म फहराइरहेका थिए । अल–नासरको पहेँलो जर्सी लगाएका समर्थक सबैको आवाज थियो, यो गीतमा ।

ज्यानमा जर्सी र हातमा झन्डा बोक्ने समर्थक सुस्त देखिनासाथ त्यहाँ उपस्थित क्लबका एक प्रतिनिधि ‘तिमीले जर्सी र झन्डाको अपमान गरिरहेका छौ’ भन्दै जुझारु बन्न प्रेरित गर्थे । हाम्रो क्षेत्रमा भर्खर हिँड्न सिकेका बच्चादेखि ६० कटेका वृद्धसम्म नासरको गीतमा स्वर मिलाइरहेका थिए ।

१७औँ मिनेटमा जेन माइकल सेरीको ह्यान्ड हुँदा अल–नासरले पेनाल्टीको अवसर प्राप्त गर्छ । जसका लागि रोनाल्डो अघि सर्छन् । विपक्षी गोलकिपरलाई बिट गर्दै गोल गरेपछि मैदानको कर्नर क्षेत्रमा दौडिँदै गरेको उनको चर्चित सेलिब्रेसन ‘स्यू’ले पूरै मैदान गुञ्जायमान हुँदाको अनुभव ।

“ओहो ! म वर्तमान पुस्ताको सबैभन्दा रुचाइएका फुटबलरमध्ये एकको खेल हेर्दै छु, भर्खरै गोल र उनको ‘आइकोनिक सेलिब्रेसन’ पनि अनुभव गरेँ । नेपालबाट कति जनाले यस्तो अनुभव पाएका होलान् । अझ खेलकुद पत्रकार कति छन् होला ।”

मेरो मनमा यी र यस्तै सवाल–जवाफ चलिरहेको थियो । टिमका लागि दोस्रो र तेस्रो गोल अर्का चर्चित अफ्रिकन फुटबलर मानेले गर्छन् । 

खेल हेर्न जानुअघि एआईपीएसका मेन्टरले हामी सबैलाई खेलको स्टोरी बनाउन असाइनमेन्ट दिएका थिए । सोही अनुरूप मैले हामी बसेको क्षेत्रका तीन जना समर्थकसँग प्रश्न गरेँ, "रोनाल्डोको आगमनले साउदीमा फुटबल संस्कार बसाउला ?"

यस प्रश्नमा दुईजना समर्थकले सकारात्मक उत्तर फर्काए, "हो, यसले फुटबल संस्कार बसाउन सहयोग गर्दै छ । तपाईंले पनि देख्नुभयो यहाँ स–साना बालबालिकाको उपस्थिति कस्तो छ ।"

तर, अर्का एक जनाले साउदीले बुढा खेलाडीमा लगानी गरेको भन्दै आलोचना गरे । "रोनाल्डो साउदीमा आउँदा ३८ वर्षका थिए । रोनाल्डोपछि आएका माने, बेन्जेमा, एन्गोलो कान्टेजस्ता खेलाडी पनि आफ्नो उच्च लयमा रहेका होइनन् । तर, उनीहरूको पारिश्रमिक औसतभन्दा निकै माथि छ । यही लगानी युवा खेलाडीमा हुनुपर्थ्यो । क्लबहरूले बुढा खेलाडीमा आवश्यकभन्दा धेरै लगानी गरिरहेका छन् ।" 

जे होस्, रोनाल्डोको आगमनले साउदीले चाहेजस्तै विश्वको ध्यान आफ्नो देशमा खिचेको छ । हजारौँ मिडिया, लाखौँ सञ्चारकर्मी र करोडौँ समर्थकको ध्यान अहिले रोनाल्डो र अल नासरमा छ । 

खेलपछि अल्जेरियकी प्रतिनिधि सेलिन मेखोउखेले प्रश्न गरिन्, "तिम्रो अनुभव कस्तो रह्यो ?"

मेरो जवाफ थियो– 'व्यक्तिगत रूपमा म रोनाल्डोको समर्थक होइन । तर, रोनाल्डोको खेल हेर्न पाउनु, अझ त्यसमा पनि उनैको गोल र गोलपछिको सेलिब्रेसन । यो मेरा लागि असाधारण अनुभव थियो । जीवनभरको एक उत्कृष्ट पल ।’

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  ०५:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro