site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
असोजको भारी वर्षाले ४६ अर्बको क्षति, भत्केका सडक निर्माण गर्नै २५ अर्ब लाग्ने 

काठमाडौं । भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानले पौने ४६ अर्ब रुपैयाँ बराबरको क्षति गरेको प्रारम्भिक अध्ययनले देखाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गत असोज १० देखि १२ गतेसम्म तीन दिनका बाढी, पहिरो र डुबानले गरेको क्षतिको प्रारम्भिक मूल्यांकन प्रतिवेदन तयार पारेको हो । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार, प्रारम्भिक अध्ययनले तीन दिनको भारी वर्षाले ४५ अर्ब ८२ करोड ९७ लाख ७१ हजार ५० रुपैयाँको आर्थिक क्षति गरेको देखाएको छ । 

प्रारम्भिक मूल्यांकन प्रतिवेदनमा तीन दिनको वर्षापछि आएको बाढी र पहिरोका घटनामा परी २४६ जनाको मृत्यु, १८ जना बेपत्ता र १७८ जना घाइते भएको जनाइएको छ । उनले बाह्रखरीसँग भने, “भौतिक पूर्वाधार क्षेत्र, सामाजिक क्षेत्र र उत्पादनशील क्षेत्रमा ठूलो क्षति गरेको छ ।” 

Dabur Nepal
NIC Asia

भौतिक पूर्वाधार क्षेत्रमा क्षति

बाढी र पहिरोले सबैभन्दा बढी भौतिक पूर्वाधारमा क्षति गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार तीन दिनमा बाढी र पहिरोले ३८ अर्ब २२ करोड १७ लाख रुपैयाँ बराबरको क्षति गरेको छ ।

भौतिक पूर्वाधारअन्तर्गत सडक तथा राजमार्ग, जलविद्युत, दूरसञ्चार, खानेपानी  र पुलमा उक्त क्षति भएको हो । “४१ वटा सडक खण्डमा क्षति हुँदा ती सडकको पूर्ण मर्मत सम्हार गर्न २५ अर्ब रुपैयाँ लाग्ने देखिन्छ जसमध्ये २ अर्ब ५० करोड रुपैयाँ तत्काल मर्मतका लागि आवश्यक पर्छ,” प्रारम्भिक प्रतिवेदनमा भनिएको छ । 

अवरुद्ध तथा भत्केको सडकले यातायात र आपूर्ति व्यवस्थामा बाधा पुर्याउनुका साथै राहतका प्रयास र आर्थिक सुधार गर्न कठिनाई भएको जनाइएको छ । 

तीन दिनको बाढी र पहिरोले देशभरका २६ वटा जलविद्युत आयोजनामा असर गरेको प्रारम्भिक अध्ययनमा देखिएको छ । बाढी र पहिरोले ती जलविद्युत आयोजनामा ३ अर्ब १ करोड ८० लाख रुपैयाँ बराबरको क्षति गरेको छ । “यो क्षतिले उर्जा आपूर्तिमा असर पार्छ । आवासीय र औद्योगिक उपभोक्ता दुवैलाई असर गर्छ,” प्रतिवेदनमा भनिएको छ । 

खानेपानी तथा सरसफाइका क्षेत्रमा बाढी तथा पहिरोले ५ अर्ब ७३ करोड रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्रतिवेदनमा उल्लेख छ । बाढी तथा पहिरोले खानेपानी तथा सरसफाइसम्बन्धी १ हजार ६३९ वटा प्रणालीमा क्षति गरेको थियो । “यो क्षतिले सफा पिउने पानीको पहुँचमा मात्र असर गर्दैन, स्वास्थ्य जोखिम पनि बढाउँछ । विशेष गरी प्रकोपले अक्सर पानीजन्य रोग बढाउँछ,” प्रतिवेदनमा उल्लेख छ । 

बाढी तथा पहिरोले ४४ वटा पुलमा क्षति पु¥याएको छ, जसका कारण १ अर्ब ४ करोड २० लाख रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको छ । पुलहरुमा क्षति पुग्दा यातायात र कनेक्टिभिटिमा गम्भीर असर गरेको जनाइएको छ । 

तीन दिनको वर्षापछि आएको बाढी तथा पहिरोले दूरसञ्चार क्षेत्रमा १५ करोड १८ लाख २० हजार रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्रतिवेदनमा जनाइएको छ । बाढी तथा पहिरोले देशभर ३०२ वटा दूरसञ्चारका युनिटमा क्षति गरेको थियो । 

बाढी तथा पहिरोले तीन दिनमा ८४ वटा सार्वजनिक यातायातका सधानमा क्षति गरेको थियो । सार्वजनिक यातायातमा क्षति पुग्दा ७२ करोड ९८ लाख ८० हजार रुपैयाँ बराबरको नोक्सानी व्यहोर्नु परेको छ । 

सामाजिक क्षेत्रमा प्रभाव 

गत असोज १० देखि १२ गतेसम्म परेको भारी वर्षाले सामाजिक क्षेत्रमा ठूलो असर गरेको छ । बाढी तथा पहिरोका कारण २५६ जनाले ज्यान गुमाए भने १८ जना अझै बेपत्ता रहेका छन् । बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रबाट १७ हजार जनाको उद्धार गरिएको थियो, जसका लागि १८ हजार ८०० सुरक्षाकर्मी खटिएका थिए ।

उक्त अवधिमा बाढी तथा पहिरोले देशभर ५ हजार ९१६ घरमा पूर्ण क्षति गरेको छ । १२ हजार ४७७ घरमा आंशिक क्षति गरेको प्रतिवेदनमा उल्लेख छ । “यस विनाशले १० हजार ८०७ परिवारहरूलाई विस्थापित गरेको छ । कुल १६ हजार २४३ व्यक्तिहरूलाई असर गरेको छ जो सार्वजनिक आश्रयमा बसिरहेका छन्,” प्रतिवेदनमा भनिएको छ । विस्थापितहरुले आधारभूत सुविधा पाउन चुनौतीहरूको सामना गर्नुपरेको जनाइएको छ । 

बाढी तथा पहिरोका कारण ६ वटा स्वास्थ्य संस्था पूर्ण ध्वस्त भएका छन् भने ४३ वटा स्वास्थ्य संस्था आंशिक रुपमा ध्वस्त भएका छन् । यसले स्वास्थ्य सेवाको पहुँच सीमित गरेको प्रतिवेदनमा जनाइएको छ । स्वास्थ्य क्षेत्रमा २ करोड १७ लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको जनाइएको छ ।

बाढी तथा पहिरोबाट शिक्षा क्षेत्र अछुतो रहन सकेको छैन । भारीवर्षा पछि आएको बाढी र पहिरोले ६ वटा विद्यालय भवन पूर्णरुपमा ध्वस्त भएका छन् । १३६ वटा विद्यालय भवनमा आंशिक क्षति गरेको छ । यसले धेरै बालबालिकाको शिक्षामा थप बाधा पुर्याएको प्रतिवेदनमा उल्लेख छ ।

उत्पादनशील क्षेत्रमा भएको क्षति 

तीन दिनको वर्षापछिको बाढी तथा पहिरोले उत्पादनशील क्षेत्र क्षेत्रमा ठूलो क्षति गरेको छ । विशेषगरी कृषि र पशुपालन गर्नेले ठूलो नोक्सानी व्यहोर्नु परेको छ । 

प्रतिवेदनअनुसार बाढी, पहिरो र डुबानले ६५ हजार ८४ हेक्टर कृषियोग्य जमिनमा क्षति पुर्याएको छ । २६ हजार २०५ पशुपंक्षी प्रभावित भएका छन् । यसले गर्दा उत्पानदशील क्षेत्रमा ५ अर्ब ८० करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।

“कृषि क्षेत्रमा परेको यो प्रभावले खाद्य सुरक्षा र किसानको आम्दानीमा असर गरेको छ जो आफ्नो जमिन र पशुधनमा धेरै निर्भर थिए,” प्रतिवेदनमा भनिएको छ ।  यसका साथै बाढी तथा पहिरोबाट ७ वटा सिँचाइ आयोजना प्रभावित हुँदा १ अर्ब ३५ करोड रुपैयाँ बराबरको नोक्सानी भएको छ ।

पानी कति परेको थियो ?

जल तथा मौसम विज्ञान विभागका अनुसार गत असोज १० देखि १२ गतेसमम नेपालभरका २२२ वटा वर्षा मापन स्टेशनमध्ये ७७ वटामा भारी वर्षा मापन गरिएको थियो । 

केही क्षेत्रमा २४ घण्टाको अवधिमा २०० मिलिमिटरभन्दा बढी पानी परेको थियो । काठमाडौंमा सन् २००२ पछि गत असोज १० देखि १३ गतेसम्म सबैभन्दा ठूलो वर्षा भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको स्टेशनमा २३९.७ मिलिमिटर वर्षा मापन गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  ०८:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro