site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी कथा
डिशहोम बाह्रखरी कथा प्रतियोगितामा ९३७ सहभागी

काठमाडौं । छैटौँ ‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता–२०८१’ मा स्वदेश र विदेशबाट समेतगरी ९३७ कथाकारले प्रतियोगितामा सहभागिता जनाएका छन् ।

विगतमा जस्तै यस वर्ष पनि नयाँ युवा कथाकारहरूसँगै वरिष्ठ, अग्रज तथा स्थापित कथाकारहरूका कथा बाह्रखरीलाई प्राप्त भएको छ । बाह्रखरी मिडियाले गएको भदौ ३१ गते विश्वभरिका नेपाली भाषामा लेख्ने कथाकारहरूबाट कथा आह्वान गरेको थियो । 

कात्तिक ५ गते मध्यरातसम्मको समयसिमा तोकिएको यस अवधिमा नेपालसहित भारतको मुम्बई, असम, दार्जिलिङ, मणिपुर, गुवाहाटी तथा अन्य देश चीन, यूएई, अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया, बेलायत, जापान, क्यानडा, कतार, स्पेन, फिनल्यान्डबाट कथा आएका छन् । प्राप्त ९३७ कथाहरू मध्ये सर्तअनुरूपको मापदण्डभित्र रहेका कथाहरूलाई आन्तरिक निर्णायक समूहका संयोजक गोविन्द अधिकारीसहित चारजनाको टोलीले उत्कृष्ट ५० कथा चयन गर्नेछ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आन्तरिक समूहले छनोट गरेका कथाहरू मूल निर्णायक समूहलाई बुझाउने छ । मूल निर्णायक समूहले उक्त कथाहरूमध्येबाट उत्कृष्ट २५ कथाको चयन गरी प्रथम, द्वितीय र तृतीय कथासमेत छुट्याउने छ ।

पहिलो तीन सहित २५ उत्कृष्ट कथाहरूको संग्रह विगतमा झैँ पब्लिसिङ पार्टनर फाइन प्रिन्टले कथा संग्रह पुस्तकका रूपमा प्रकाशन गर्नेछ । यस वर्ष मूल निर्णायक समूहको संयोजकमा समालोचक साहित्यकार प्रा.डा. ज्ञानू पाण्डे तथा सदस्यहरूमा साहित्यकारहरू डा. गीता त्रिपाठी र धीरेन्द्र प्रेमर्षि रहेका छन् ।

डिशहोम बाह्रखरी कथा लेखन प्रतियोगिता २०८१का आन्तरिक निर्णायक समूहका संयोजक गोविन्द अधिकारीले देश विदेशबाट प्रतियोगितामा सहभागिता जनाउने सम्पूर्ण कथाकारहरूप्रति आभार व्यक्त गरेका छन् ।

बाह्रखरीले आयोजना गर्दै आएको यस कथा प्रतियोगिताको टाइटल स्पन्सर डिशहोम डिश मिडिया नेटवर्क रहेकोे छ भने उत्कृष्ट कथा–२०८१ को प्रकाशन पार्टनर फाइन प्रिन्ट रहेको छ । 

प्रतियोगिताका अन्य सहयोगी संस्थाहरूमा नेपाल टेलिकम, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड, एनएमबी बैंक लिमिटेड तथा कृषि विकास बैंक लिमिटेड रहेका छन् । यस वर्ष एयरलाइन्स पार्टनर यती एयरलाइन्स तथा हिमालय एयरलाइन्स रहेका छन् ।

बाह्रखरी कथा प्रतियोगिताका आन्तरिक मूल्यांकन समितिका संयोजक अधिकारीले सम्पूर्ण सहभागी कथाकार सहित टाइटल स्पन्सर र सबै स्पन्सरहरूमा हार्दिक आभार व्यक्त गरेका छन् ।    
  

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १६:५१
प्रतिक्रिया दिनुहोस्