काठमाडौं । कलाकार केदार घिमिरे (माग्ने बुढा)ले बोल्दा शब्द चयन गलत हुँदा माफी माग्नु परेको बताएका छन् । शब्दचयनमा आफूबाट गल्ती भएको उनलृ स्वीकार गरेका हुन् ।
“मैले वास्तवमा साइबर बुलिङ भयो भन्न खोजेको थिएँ । तर जिब्रो चिप्लिएर साइबर सेना भनेछु । हामीलाई गाली आइरहेको थियो,” शुक्रबार पत्रकार सम्मेलनमा उनले भने, “त्यसैले साइबर बुलिङ भइरहेको छ भन्नुपर्नेमा झुक्किएर साइबर सेना भनेछु ।”
त्यसैले आफूले माफी माग्नु परेको उनको भनाइ छ । “घर गएको थिएँ । चलचित्र कस्तो छ भनेर बुवाले सोध्नुभयो । चलचित्र त राम्रो छ तर गाली खाइरहेको छु भनेँ,” केदारले भने, “ठूलो मान्छे बन्न खोजिस् होला, सानो मान्छे बन्नुपर्छ भन्नुभयो । त्यसपछि मलाई पनि एक शब्द सरी भन्दैमा के हुन्छ भन्ने लाग्यो ।”
केदारले केही दिनअगाडि आफूले साइबर सेना भन्ने शब्द प्रयोग भएकोमा त्रुटि भएको भन्दै माफी मागेका थिए ।
उनी अभिनीत चलचित्र ‘छक्का पञ्जा–५’ अहिले दोस्रो हप्तामा प्रदर्शन भइरहेको छ । यो सिनेमासँगै ‘१२ गाउँ’ पनि प्रदर्शन भइरहेको छ ।