site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बीपी कोइराला पुत्र प्रकाश र चेतनासँगै नातिनी मनिषाले संग्राहलयमा मनाए कोजाग्रत पूर्णिमा 

काठमाडौं । नेपाली कांग्रेसले चियापान गरेर मनाउँदै आएको कोजाग्रत पूर्णिमा यसपटक नमनाउने निर्णय गर्‍यो । यही असोज १० देखि १२ सम्म परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले ठूलो जनधनको क्षति भएपछि नमनाउने निर्णय गरेको हो । 

केन्द्रमा मात्र कोजाग्रत पूर्णिमाको चियापान आयोजना नगर्ने निर्णय गरेको कांग्रेसले जिल्लासहित तल्ला निकायलाई पनि आयोजना नगर्न परिपत्र गर्‍यो । यसकारण बीपी कोइरालाले सुरु गरेको कोजाग्रत पूर्णिमाको चियापान यसपटक भएन । 

तर, बीपीका जेठा छोरा प्रकाश, छोरी चेतना र नातिनी मनिषा कोइरालाले भने बीपी संग्राहलय पुगेर कोजाग्रत पूर्णिमा मनाउँदै चियापान तथा टिका आदानप्रदान गरेका छन् । बीपी कोइराला मेलमिलापको नीति लिएर भारतका निर्वासित जीवन अन्त्य गरी ०३३ पुस १६ मा स्वदेश फर्किएका थिए । त्यसपछि ०३४ सालको कोजाग्रत पूर्णिमादेखि चियापन कार्यक्रम सुरु गरेका थिए । त्यसलाई नेपाली कांग्रेसले बीपीको जीवनपछि संस्कृतिकै रूपमा अघि बढाएको छ । 

छोरा प्रकाशले भने बीपी संग्राहलयका अध्यक्ष परशुराम पोखरेलसँग फोन सम्पर्क गरेर कोजाग्रत पूर्णिमा मनाउन आउन लागेको  जानकारी गराएका थिए । प्रकाशको जानकारीपछि अध्यक्ष पोखरेलले स्थानीय नेता कार्यकर्तालाई डाकेका थिए ।

“बीपी कोइराला २०३३ पुस १६ गते मेलमिलाप नीतिका साथ नेपाल फर्कनु भएपछि पनि सुन्दरीजलमै ल्याएर बन्दी बनाएर राखिएको थियो । उपचारका लागि अमेरिका गएर फर्किएपछि ०३४ मा राजनीतिक दल, विद्यार्थी वर्ग, कूटनीतिक नियोगसहित सबैसँग भेटघाट र मित्रता कायम हुनेगरी बीपी कोइरालाले दसैँको कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम राख्न सुरु गर्नु भएको थियो,” पोखरेलले भने, “अहिले कांग्रेसले आयोजना नगरेको समयमा पुत्र प्रकाशले यहाँ आउँछु भनेर भन्नुभयो । आज अनौपचारिक रूपमा टिका तथा चियापान गरेर यही कोजाग्रत पूर्णिमा मनाउनुभएको छ ।” 

प्रकाशले भने बीपीको मूल नीति कांग्रेसले छाडेकाले कोजाग्रत पूर्णिमाको चियापान पनि कांग्रेसले गर्नु नहुने तर्क राख्ने गरेका छन् । ०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले दलीय व्यवस्था नै निलम्बन गरेर ‘कू’ गरेपछि गठन गरेको सरकारमा सहभागी भएपछि प्रकाश कोइरालालाई कांग्रेसले साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको थियो । त्यसयता बीपी पुत्र प्रकाश नेपाली कांग्रेससँग आवद्ध छैनन् । 

“बीपीले आफ्नो जीन्दगीका सबैभन्दा धेरै रात बिताउनु भएको घर पनि यही हो– जेल घर,” प्रकाशले सुन्दरीजलमा पुगेर भने, “जीवनको धेरै वर्ष यसै घरमा बिताउनु भएकाले मैले उहाँको छोराको नाताले चियापान कार्यक्रम र दसैँटीका समापन कार्यक्रम गर्न सबैभन्दा योग्य र हकदार ठाउँ नै बीपी संग्रहालय भएकाले आफ्नी साख्य बहिनी चेतना ज्वाइँ अनि छोरी मनिषा तथा अतुल कोइरालाका साथ आएको हुँ,” प्रकाशले भनेका थिए । 

सुन्दरीजलस्थित संग्राहलयमा उपस्थितहरूलाई प्रकाशले टिका लगाइदिएका थिए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १८:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro