काठमाडौं । जुलाईयता नेपालमा डेंगी संक्रमण निरन्तर बढिरहेको छ । काठमाडौंसहित तनहुँ, कास्की, चितवन, पर्वतलगायत जिल्लामा संक्रमितको संख्या निरन्तर बढिरहेको छ ।
यो वर्ष जनवरीदेखि अक्टोबर पहिलो सातासम्म १७ हजार ६०२ जनामा संक्रमण पुष्टि भएको छ । आठजनाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ ।
डेंगी संक्रमण भएकामध्ये ८० प्रतिशत व्यक्तिमा सामान्य लक्षण देखिने तथा लक्षण नै नदेखिने विश्व स्वास्थ्य संगठनले जनाएको छ । बाँकी २० प्रतिशतमा भने लक्षणहरू पनि देखिनसक्ने र बिरामीको अवस्था जटिल हुनसक्ने चिकित्सक बताउँछन् ।
उच्च (१०४ डिग्री फरेनहाइटसम्म) ज्वरो आउनु, अत्याधिक टाउको दुख्नु, जोर्नीलगायत शरीरका विभिन्न भाग अधिक दुख्नु, आँखाको गेडी दुख्नु, वाकवाकी लाग्नु तथा छालामा रातो डाबर देखा पर्नु डेंगीका लक्षण हुन् ।
वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबाहादुर पुनका अनुसार यस्ता लक्षण भएका संक्रमित साधारणतया ७ दिनभित्र निको हुन्छन् । उनका अनुसार कुनै पनि संक्रमणमा व्यक्तिको रोग प्रतिरोधी क्षमता कमजोर हुने भएकाले उनीहरूलाई अन्य संक्रमण हुनसक्ने सम्भावना पनि रहन्छ । यसलाई ‘कोइन्फेक्सन’ भनिन्छ । यदि, दोहोरो संक्रमण भए बिरामीको अवस्था जटिल हुनसक्छ ।
बाँकी २० प्रतिशतमध्ये एक प्रतिशत संक्रमितलाई मात्रै कडा लक्षण देखिन्छ, जसलाई ‘सिभियर डेंगी’ भनिन्छ । सिभियर डेंगी संक्रमितको तत्काल उपचार नभए मृत्यु समेत हुनसक्छ ।
कडा डेंगी संक्रमित भएकाहरूमा शरीरको अत्याधिक दुखाई हुने भएकाले कतिपय बिरामीले पेन किलर खान्छन् । तर फ्लेक्सोन, ब्रुसिटलगायत दुखाइ कम गर्ने औषधिले आन्तरिक र बाह्य रक्तश्राव गराउनसक्ने डा. पुन बताउँछन् ।
यस्ता औषधिको प्रयोगले नाक, गिजा, आँखा वा पेटभित्र विभिन्न भागमा रक्तश्राव गराई बिरामीमा जटिलता पनि निम्त्याउन सक्छ । त्यसैले डेंगी संक्रमण हुँदा पेन किलर नखान, झोलिलो खानेकुराहरू बारम्बार खान र जीवनजल पानी धरै पिउन डा. पुन सुझाव दिन्छन् ।
यी हुन् सिभियर डेंगीका लक्षण
पेटको अत्याधिक दुखाइ
निरन्तर वान्ता हुनु
श्वासप्रश्वासमा समस्या आउनु
नाक तथा गिजाबाट रक्तश्राव हुनु
बिरामी अति कमजोर हुनु
कलेजो सुन्निनु
दिसा वा वान्ता गर्दा रगत आउनु
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा. बिमल चालिसेका अनुसार यदि सिकिस्त डेंगी संक्रमण देखिएमा प्लेटलेट्स, हेमोग्लोविन, ह्वाइट ब्लड सेल्स घटेर जानेलगायत कलेजोमा असर पनि देखिन सक्छ । यस्तो अवस्थामा बिरामीलाई आईसीयूमा राखेर उपचार गर्ने गरिएको छ ।
सामान्यतः ज्वरो नभएको अवस्थामा सामान्य खानेकुरा खान मिले पनि झोलिलो र पोषणयुक्त खानेकुरामा जोड दिन डा. चालिसे सुझाव दिन्छन् । पखाला र वान्ता भएका संक्रमितमा डिहाइड्रेसन (शरीरमा पानीको मात्रा कम भएर समस्या देखिनु)हुने भएकाले जीवनजल पानी पिइरहन चिकित्सकहरू सुझाव दिन्छन् । डेंगी संक्रमितका लागि ‘नेसनल न्युट्रेसन काउन्सिल अफ चाइना’ले तयार पारेको मार्गनिर्देशन अनुसार खान हुने र नहुने खानेकुराको सूची यस्तो छ ।
खानुपर्ने
पानी र झोलजन्य पदार्थ
क्यालोरीयुक्त खानेकुरा : भात, आलु, दूध आदि ।
आइरनयुक्त खानेकुरा : कलेजो भएको मासु, हरियो सागपात र मिनरल भएका खानेकुराहरू ।
भिटामिन सी पाइने खानेकुरा : भुइँकटहर, मेवा, कागती आदि ।
भिटामिन के पाइने खानेकुरा : केरा, प्याज, बन्दा, काँक्रो आदि ।
खान नहुने
चकलेट, चकलेटजन्य ड्रिंक्स्, बट्टामा राखिएका जुस ।
धेरै चिल्लो भएका र पचाउन गाह्रो हुने खानेकुराहरू ।
मसालेदार खानेकुराहरू ।
चिया, कफी तथा कफिजन्य पदार्थहरू ।