site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खै, बुझिँदैन !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

हिजो साँझ एक रमाइलो जमघट भयो । कलाकारको बीचमा म पुगेछु । जस्तो स्वभाविक छ– चर्चा उठ्यो कलाको । एउटा मित्रले भने, “विश्वको सर्वप्रथम कलाकृति के होला ?”

घन्टौँको छलफलपछि निष्कर्ष निस्क्यो–सोझो धर्को । कारण प्रकृतिले जे पनि गोलो वा बाङ्गो रचेकी छ, पृथ्वीको आकारदेखि खोलानालाको रूपसम्म । मान्छे मात्र यस्तो प्राणी हो जसको मनमा सोझो धर्को विद्यमान छ । यसको सबभन्दा सजीव उपमा पुरानो टुँडिखेलले दिनेछ ।

महांकालथानबाट एउटा सोझो गोरेटो घण्टाघरतिर लागेको थियो, अर्को लुमडीतिर । यो थियो टुँडिखेल छिचोलेर अड्डा पुग्ने छिटो बाटो । त्यस गोरेटोले टुँडिखेलको रूप विकृत गरेको हुनाले प्रायशः त्यसमा हिँड्न नदिन छेकबार राखिन्थ्यो, तापनि अर्को समरूपी गोरेटो बनिहाल्यो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

प्रकृतिको रचनाशैलीबाट अलग हुनु नै कलाको आरम्भ हो । प्रत्येक मानिसको स्पष्ट हुने प्रयास पनि एक प्रकारले उसमा विद्यमान कलात्मक भावनाको प्रतीक हो ।

हामी असलमा चर्चा गर्दै थियौँ चित्रकलाको शैलीउपर । आधुनिक चित्रकलाका अनेक प्रयोगले गर्दा ती निकै चर्चाका विषय बनेका छन् । हुन पनि, एब्स्ट्रयाक्ट पेन्टिङका कैयन् परिभाषा गरिएका छन्, तर तिनले साधारण व्यक्तिलाई बुझाउनुसट्टा झन् अलमल्यादिएका छन् ।

Royal Enfield Island Ad

उसमाथि, अनेक हास्यास्पद विवरण हुन्छ– जस्तै, उल्टो झुन्ड्याएको तस्बिर वा बाँदर, सुगा र सिकारुहरूले जितेको पुरस्कार ! यस्ता चर्चाहरूले गर्दा मानिसले एउटा सजिलो बहाना अपनाएको छ, ऊ हेर्छ चित्रलाई तर भन्छ, “खै, बुझिँदैन !”

यही ‘बुझिँदैन’ भावनाउपर नै म आज चर्चा गर्न तम्सेको ।

कला–साधनाका अनेक पक्ष छन् विश्वमा । हाम्रा जति इन्द्रिय छन् कलाका माध्यम पनि त्यत्ति नै छन् । ज्ञानले होओस् चाहे अज्ञानले, ती सबले आफ्नो तृष्णाको पूर्ति खोज्छन् । ठीक हो, रुन हामीलाई स्रष्टाले सिकाए, कारण गर्भबाट निस्कनासाथ हामी त्यही थाल्छौँ, तर हाँस्न हामीले आफैं सिक्यौँ, त्यो हाम्रो मानवीय गुण हो ।

अरूलाई आनन्दित पार्ने विद्याचाहिँ कलात्मक प्रवृत्तिको द्योतक हो । हँसाउन सक्नु ठूलो कला हो । अझ, रोदनको वातावरणलाई फिसिक्क हाँसोमा परिणत गर्न सक्नु अत्याधुनिक शैली हो–त्यसलाई नै हामी एब्स्ट्रयाक्ट भनौँ ।

एब्स्ट्रयाक्ट कलाको आन्दोलन प्रायशः निकै अलमल्याउने, र अस्पष्ट नै भएको छ– तापनि तिनले हाम्रो जिज्ञासाको प्रवृत्ति तिखारेका छन्, र यो एक यस्तो कुरा हो जसलाई कसैले पनि अस्वीकार गर्न सक्दैन ।

गोयाको समयदेखि प्रारम्भ भएको आधुनिक चित्रकलाको प्रधान स्वभाव ‘परिवर्तन’ कै छ । आधुनिक चित्रकला बुझ्न हामीलाई परम्परा पनि बुझ्नु आवश्यक छ । प्रारम्भमै हामीले एउटा कुरा सम्झिनुपर्छ, त्यो के भने, कुनै व्यक्तिविशेषले कहिले पनि केही साटफेर गरेन, बरु थप्यो मात्र ।

आजभोलिका ‘क्रियाशील’ कलाकारहरूले कलाको इतिहासमा अर्को खुड्किला हालेका छन् । तिनलाई बुझ्न वा तिनको मीमांसा गर्न हामीले खुला मनले आफ्नो बुद्धि पसार्नुपर्दछ ।

कुनै प्रकारको पूर्वाग्रह आफ्नै लागि हानिकारक छ र व्यक्तिविशेषमा पूर्वाग्रह हुन्छ–हुन्छ । हाम्रो जीवन नै संयमबाट आरम्भ हुन्छ । आफ्ना मान्यताहरू, चाहे त्यो सांस्कृतिक होऊन् चाहे परम्परा, चाहे व्यक्तिगत धारणा, तिनले हाम्रो दृष्टि संकुचित पारिराखेका हुन्छन् ।

हामी जीवनभर परिचयका लागि प्रयास गरिरहेका हुन्छौँ । र परिचयका प्रारम्भ नयनबाट हुन्छ । भन्छन्, नवजात शिशुले आँखा देख्न थालेपछि बत्ती हेर्छ । त्यसमै दृष्टि जमाउन थाल्छ र बत्तीको कोण अप्ठ्यारो छ भने उसको आँखाको पुतली त्यही कोणमा अभ्यस्त हुन थाल्छ; ऊ डेडे भइदिन्छ ।

परिचयको यो अभ्यस्तता यस्तो गहिरो बन्न जान्छ, हामी ‘गाई’ शब्द सुन्नासाथ चारखुट्टे जनावर, थुन र दूध मात्र सोच्छौँ । त्यो पनि गाईको खास गरी उभिरहेको अवस्था ।

अब, एउटा चित्रकारले जुत्ताको तलुवा चित्रित गर्छ र आफ्नो चित्रलाई ‘गाई’ शीर्षक दिन्छ भने यसमा उसको के दोष ? उसले हामीबाट यत्ति आशा भने राखेको हुन्छ, हामीलाई ज्ञान छ, गाई मरेपछि उसको छाला अनेक स्तरको रूप फेरी हामीले लगाएको जुत्तामा परिणत भएको छ ।

यो उपमा बहुतै सहज छ– तर पनि यसले हाम्रो मस्तिष्कलाई गाँजलगुँजल गरिदिन्छ । असलमा जुत्तालाई गाईका रूपमा हेर्न हामी स्वयम् चाहन्नौँ, र परिणाम के हुन्छ भने हामी भन्छौँ, “खै, बुझिँदैन !”

आजको कलाकार आफ्नो वातावरणबाट सारै प्रभावित हुन्छ । संवाददाता ऊ नभएकाले, उसले आफ्ना भावना एवम् विचारहरू मात्र व्यक्त गर्दछ, र तिनको परिणाम दर्शक वा पाठक वा श्रोतामै छाडिदिन्छ ।

एक प्रकारले यथार्थलाई वास्तविक रूपमा दर्साउनुसट्टा ऊ रचनालाई वास्तविकताको प्रतिनिधित्व प्रदान गर्दछ । उसका रचना राजदूत हुन् जसले आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्दागर्दै पनि वैयक्तिक विशेषता गुमाएका छैनन् ।

एउटा राजदूत र त्यस राष्ट्रको नक्सामा जत्ति फरक हुन्छ त्यत्ति फरक एब्स्ट्रयाक्ट पेन्टिङ र रियलिस्ट पेन्टिङमा छ ।

राजदूतसँग परिचय हुँदा हामी कसैले पनि ‘खै चिन्दैनौँ !’ भन्न सक्दैनौँ बरु हामी चिन्ने प्रयासमा लाग्छौँ, आत्मीय हुने प्रयत्न गर्छौं र आफ्ना गुणहरू तिखार्न थाल्छौँ ।

राजदूत बन्न सक्ने क्षमता हामीमध्ये कसैकसैलाई मात्रै होला –त्यही प्रकारले जुन प्रकारबाट कलाकार हुने क्षमता हामीमध्ये थोरैमा होला– तर पनि कलाप्रेमी हुने अधिकार र गुण हामी सबैमा छ ।

अब यस गुणको उपयोग गरौँ । माथि मैले प्रस्तुत गरेको उपमा खासमा एब्स्ट्रयाक्टका लागि फिट नभई रिप्रेजेन्टेसनल पेन्टिङका लागि हुन गयो । यस शैलीमा केही जानकारी, केही सूचना, केही ध्वनि हुन्छ, भनौँ एक प्रतिबिम्ब !

तर एब्स्ट्रयाक्ट स्वयम् सजीव हुन्छ, उसले सहारा लिँदैन, ऊ स्वयम्भू हो । एब्स्ट्रयाक्ट चित्रमा आफ्नो चाहेको रूप खोज्नु सम्भव छैन, साध्य छैन र स्वीकार्य पनि होइन ।

एब्स्ट्रयाक्ट चित्रमा कि त हामी तिनको योजना, कि त रूप, कि त रङ, कि त भावनाबाट मन पराउन सक्छौँ । तिनमा गहन मनोवैज्ञानिक प्रस्तुतीकरण खोज्नु हाम्रो सहज मूर्खता हो । मन पर्‍यो भने पर्‍यो । परेन भने परेन परेन ।

यसलाई हामी प्रेमको अत्याधुनिक शैलीसँग दाँज्न सक्छौँ । स्वास्नीमान्छे सबै राम्रा हुन्छन्, उनको गुण एकनास हुन्छ, सबैमा आमा बन्न सक्ने क्षमता हुन्छ ।

हामीले एउटीलाई मात्र छान्ने कारण के ? मनपराइ ?– वा भावनात्मक तादात्म्य ? कहिलेकाहीँ बाटैमा टक्क उभिएर केही गाइरहेको व्यक्तिलाई हेर्न मन लाग्छ । कहिलेकाहीँ चिनिरहेको मान्छेसँग पनि बोल्न मन लाग्दैन ।

आर्ट ग्यालरी पनि त्यही हो । त्यहाँ पस्दा आफ्नो चारित्रिक मुकुन्डो उतार्नुपर्दछ । निर्विकार, निरपेक्ष भई निर्धाराण त्यागेर ।

मन पराउनु वा मन नपराउनु हाम्रो अधिकार हो, तादात्म्य हुनु–नहुनु हाम्रो भाग्य हो, किन्नु–नकिन्नु हाम्रो इच्छा हो– तथापि प्रदर्शनीमा गइदिनु हाम्रो कर्तव्य हो ।

मलामी जानु जस्तै अप्रिय लाग्छ हामीलाई प्रारम्भमा, तर बानी बसेपछि हामी झन्डै घाटेवैद्य बन्न पुग्छौँ र सारा नाडीको ज्ञान हामीलाई हुन जान्छ । अनि, हामी बुझ्छौँ, कलाकार कति पटक मरेछ, कति पटक जन्मेछ !

अनि, हामी एक दिन कालको सम्मुख हुँदा र उसले हामीलाई प्रश्न गर्दा– “कस्तो लाग्यो ?” भनी, हामी हिचकिचाएर भन्नुपर्ने अवस्थामा हुने छैनौँ, “खै, बुझिँदैन !”

त्यसो भन्नु जीवनको सबभन्दा ठूलो हार हो क्यारे !

(प्रसिद्ध निबन्धकार शंकर लामिछानेको निबन्धकृति ‘गोधूलि संसार’बाट ।)

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  ११:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro