काठमाडौं । आज दसैँको विजया दशमीको दिन । मान्यजनबाट टीका र आशीर्वाद थाप्ने दिन । सबै नेपालीका लागि दसैँ विशेष पर्व हो । विभिन्न जात–जाति, क्षेत्र र समुदायले आफ्नो परम्पराअनुसार दसैँ पनाउने गर्छन् ।
दसैँ नेपालीका लागि विशेष हुने भएकाले नै सरकारले पनि लामो बिदा दिने गरेको छ । निजी कम्पनीले पनि आफ्ना सबै कर्मचारीलाई सरकारले दिएकै सोसरह बिदा दिने गरेका छन् । खाइपाई आएको एक महिनाको तलब आफ्ना कर्मचारीलाई बोनस स्वरूप दिने गरेका छन् । एक÷दुई अपवादबाहेक दसैँमा निजी कम्पनीहरूले आफ्ना कर्मचारीलाई दसैँ खर्च दिएकै हुन्छन् ।
यस्ता खर्चले कर्मचारीको मनोभावमा सकारात्मक ऊर्जा पैदा गरेर कम्पनीलाई उचाईमा पुर्याउन दिनरात मिहिनेत गर्छन् ।
यो वर्षको दसैँ बिदा सरकारले असोज २४ देखि २८ गतेसम्म दिएको छ । सहर बजारमा भएकाहरू दसैँ मनाउन गाउँ–गाउँ पुगेका छन् । तर, दसैँकै प्रमुख दिन विजय दशमी (टीका)कै दिन कतिपय अविभावक अमिलो मन बनाएर काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलमा छोराछोरीलाई बिदाइका हात हल्लाउन पुग्छन् ।
यो वर्षको दसैँको टीकाकै दिन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइका हात हल्लाउनेहरूको भिड बाक्लै थियो । यो दृश्य २०८१ असोज २६ गते बिहान ६ बजेदेखि ९ बजेबीचको हो । कतिपयले टीका घरबाट नै लगाएर विदेश जान आएका थिए । भने कतिपयले विमानस्थल बाहिर नै टीका लगाएका थिए । आज यो तीन घण्टाको बीचमा बाहिर दसैँको टीका लगाएको दुई दृश्य देखिए ।
यी दुई दृश्य प्रत्यक्ष हेर्दा जो कोहीको पनि आँखा रसाउँथे । दुवै दृष्य विदेशिन लागेका नेपाली विद्यार्थीको हो । उनीहरू पढ्नका लागि बेलायत (यूके) जान लागेको बताउँथे । १६/१७ वर्षका यी दुई विद्यार्थी अध्ययनसँगै अवसर खोज्न लाखौँ खर्चेर विदेशिएका हुन् ।
उनीहरूको मुहारमा विदेश जान पाएको खुसी देखिन्थ्यो भने अभिवावको मुहारमा छोराछोरीसँग टाढिनु परेको वेदना । आमाहरू आखाँबाट आँसु झारिहेका थिए । विद्यालय तहको शिक्षा (प्लस टु) सकाएर विदेशिन लागेका यी दुई विद्यार्थीले युके बढ्न जान औसतमा २५/२५ लाख रुपैयाँ खर्चिएको बताए । उनीहरू होटेल मेनेजमेन्ट पढ्न युके जान लागेका हुन् ।
प्वाँख नै नपालाएका चराका बच्चाजस्ता यी विद्यार्थीले आफ्नो जिल्लामै प्लस टु सकाएका हुन् । एकजनाको घर पर्सा र अर्काको घर सर्लाही थियो । सर्लाहीका विवेककुमार महतो विदेश पढ्न जान पाउँदा खुसी छन् । तर, उनी विदेशमा पढेर आफूले राम्रो काम पाए उतै रोजगारी गर्ने सोचमा छन् ।
उनी विदेशमा पढेर स्वदेश फर्कने वा नफर्कने जवाफ दिन सक्दैनन् । “म प्लस टु सकेर विदेश होटेल मेनेजमेन्ट पढ्न जान लागेको हो । मैले जिल्लाबाट नै प्लस टु सकेको हो,” उनले बाह्रखरीसित भने, “नेपालमा पढेर सकेपछि रोजगारी पाउने अवस्था छैन । उता भए पढाई सकेपछि रोजगारी पनि सहज रूपमा पाइन्छ भन्ने सुनेको छु ।”
उनी पढाई र रोजगारी सँगसँगै गर्न पाउने आशामा विदेशिएको बताउँछन् ।
आफूलाई सशस्त्र प्रहरी नायब निरीक्षक (सई) बताउने धर्मेन्द्र चौधरीले पनि छोरीलाई यूके पढ्न पठाएको बताए । उनकी छोरीले मेनेजमेन्टमा प्लस टु सकेकी छिन् । देशमा राम्रो अवसर नदेखेकाले आफूले छोरीलाई विदेशी भूमिमा पढ्न पठाएको धर्मेन्द्रले बताए ।
उनले आफ्नी छोरीलाई दसैँको टीका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा नै लगाइदिए । छोरीलाई मात्र हैन उनीसँगै आएका छोरा र आफ्नी श्रीमतिलाई पनि त्यही खुला आकाश मुनी टीका लगाइदिए ।
यो दृष्य हेरिरहेका धेरैको अनुहार निन्याउरो थियो । धर्मेन्द्रले छोरीलाई टीका लगाइदिँदा उनकी श्रीमतिको आँखाबाट आँशु बगिरहेको थियो । उनको आँखाबाट खुसीको वा दुःखको के आँसु बगेको थियो, त्यो त भन्न सकिन्न । तर, दसैँकै दिन घरको रमाइलो छुटाएर कलिला छोराछोरीलाई विदेशी भूमिमा पठाउँदा जो कोहीको मन कटक्क हुन्छ । रुन्छ ।
यो त तीन घण्टाबीचको एउटा प्रतिनिधि दृष्य मात्र हो । आज विहान ७ बजेबाट १२ बजेसम्म १५ वटा अन्तर्राष्ट्रिय उडान राखिएको छ । त्यसमा नेपाल घुम्न आएका विदेशी पर्यटक आधा भए पनि आधा वैदेशिक रोजगारी र विदेशमा पढाइसँगै उतैको पीआर लिने आशले जानेहरू पनि छन् ।