site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
आमाविनाको दसैँ

जबजब दसैँको चटारो बजारमा देखापर्छ, तबतब विगतका पानाहरू निरन्तर पल्टन थाल्दछन् । अहिले मलाई लाग्छ, दसैँ भनेको सानो उमेरमा नै रमाइलो हुँदो रहेछ । आफ्नो जिम्मेवारी अभिभावकले बोकेको समयको दसैँ र अहिले सबै जिम्मेवारी आफंँले बोकेको दसैँको फरक कता हो कता ।

समयको चक्र घुमिरहेको हुन्छ, समयको चक्रसँगै हाम्रो जीवनका पानाहरू पनि पल्टिरहेका हुन्छन् । जीवन सुरु हुन्छ र सकिन्छ, एउटा पिँढीले अर्को पिँढीलाई सुम्पिनु यो समयको चक्र हो । हो, त्यही गतिमा हामीले हाम्रा प्रियवरलाई गुमाउँछौँ, बिर्सेर पनि बिर्सन नसक्ने जीवनका गतिहरू आफ्नै गतिमा बहिरहेका छन् । मिलन, बिछोड, हाँसो, रोदनको नियति हामीले भोगिरहेका छौँ ।

हाम्रो इच्छा र चाहनाले केही नहँुदो रहेछ । समयको घट्टमा हामी नराम्ररी पिसिइरहेका हुन्छौँ, त्यो हामीलाई पत्तै हुँदैन । वर्तमान समय झन् भयावह भएर उभिएको छ । गाउँघर रित्तिएका छन् । विदेश जानैपर्ने बाध्यता बढेको छ । त्यो बाध्यताको सिकार विमानस्थलको प्रस्थान क्षेत्रमा देख्न सकिन्छ ।

Dabur Nepal
NIC Asia

कैयौँ बिछोडिएको परिवारमा दसैँको खुसी कसरी आयो होला ? सम्झँदा पनि कहाली लाग्छ । धेरै कुरा सम्झँदा मन भक्कानिन्छ, तर हामीले केही गर्न सक्तैनौँ ।

मलाई पनि यो दसैँ कहिल्यै नआइदिए हुन्थ्यो जस्तो लाग्छ । सात वर्षदेखि छोरा पढाइको सिलसिलामा अमेरिकामा छ, दसैँको समयमा उसलाई कहिल्यै बिदा मिल्दैन । भाइ डिल्लीराज सपरिवार विगत बीस वर्षदेखि अमेरिकामै छ । यता खाली सम्झनाका खातहरू थपिन्छन् मात्र ।

जे जस्तो भए पनि हामीले हाम्रो संस्कृतिलाई मान्नैपर्छ । पुर्खादेखि मान्दै आएको परम्परा धान्नैपर्छ । अनि, सम्झनामा बाआमाका यादहरू बेस्मारी बल्झन्छन् ।

महान् चाड दसैँ सुरु भएको छ, तर धेरै कुराले हामी रित्तिएका छौँ । पिताजीले हामीलाई २०५७ सालमै छोडेर जानुभयो । मलाई लागेको थियो, हाम्रो सबै सकियो ।

हुन पनि हो, बुबा हुनुहुन्थ्यो र त हामी फुुक्काफाल थियाँै । घर, नातागोता, इष्टमित्र, पूजापाठ सबै बुबाले धान्नुभएको थियो । हामी समयसमयमा घर पुग्थ्यौँ । दसैँतिहारमा कहिल्यै सहर बसेनौँ ।

हाम्रो मूल खम्बा बनेर बस्नुभएको बुबाको निधनपछि हाम्रो दैनिकी केही खुम्चिएको थियो, संसार अँध्यारोले छोपेको जस्तो भान भएको थियो । त्यो समयलाई पनि हामीले पार गर्‍यौँ ।

तर, चाडबाडको पूर्वसन्ध्यामा बुबाका यादहरू झनै बलियो बनेर उभिन्छ, बेलाबेलामा । हुन त गाउँमा दसैँको रौनक विस्तारै कम भएर गएको छ । रोटेपिङ, लिंगेपिङकोे रौनक अचेल देखिँदैन । गाउँलेहरूको जमघट अहिले खुम्चिएको छ । दसैँमा हुने नाटक मञ्चन अहिले हराएको छ ।

समयकै खेल भन्दा पनि हुन्छ । अहिले सामाजिक सञ्जाल, युट्युब र टिकटकले मान्छेलाई क्रमशः एक्ल्याउँदै लगेको छ । संसारलाई एउटा मोबाइलमै विचरण गर्ने समयले हाम्रो संस्कृतिलाई पक्कै खुम्च्याएको छ ।

पिताजीको निधनपछि हामीसँग आमा हुनुहुन्थ्यो । बुबाका न्यास्रो मेटाउने चौतारी हुनुहुन्थ्यो आमा । ०७९ पौषमा आमा पनि धुवाँको सिँढी चढेर परमधामको मार्गमा लाग्नुभयो ।

अब हामी नितान्त बाआमाविहीन बनेका छौँ । यस्तो समयमा चाडबाडको रौनक खास लागेको छैन । तापनि, हामीले परम्परा धान्नुपर्ने अवस्था छ । बुबाआमा वास्तवमा घरका खम्बा हुनुहुँदो रहेछ । उहाँहरूले परिवारलाई विखण्डनबाट जोगाउनुभएको रहेछ । अहिले त्यो महसुस गरिरहेको छु मैले ।

आज आमाविनाको दसैँ खल्लोखल्लो लागिरहेछ । ०७८ सालको दसैँमा मेरो माथमा आमाले लगाउनुभएको टीका अन्तिम रहेछ । अहिले म त्यही फोटो हेरेर भावुक बन्छु । साँच्चै आमाको न्यानो स्पर्श अब मैले यो जुनीमा कहिल्यै पाउने छैन । विगतका यादहरू चाडहरूमा बल्झिरहनेछन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  १७:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro