site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
त्यो खुसी कहाँ किन्न पाइन्छ र !

मेरो जन्म इलामको बरबोटेमा भयो । म आठनौ वर्षसम्म त्यहीँ रहेँ । त्यसपछि हाम्रो परिवार झापाको ज्यामिरगढी झरेको हो ।

त्यति बेलाको दसैँ भिन्नै थियो । पहाडमा दसैँ आउनुभन्दा अगाडि पानी पर्न छोड्थ्यो । आकाश सफा हुन्थ्यो । दसैँ आएको अनुभूति त्यसले दिन्थ्यो ।

दसैँ आयो भनेपछि पहाड गाउँमा धारा र पँधेरो, बाटोघाटो सफा गर्ने, घरआँगन सफा गर्ने चलन थियो ।

Dabur Nepal
NIC Asia

पहाडमा रातोमाटो, कमेरोमाटोले घर पोत्ने चलन थियो । त्यो घरआँगन पोत्ने माटो लिन घरका मान्छे टाढाटाढासम्म जान्थे । अनि, माटो ल्याएर घर पोत्थे । कसरी हुन्छ घरआँगन, कोठाचोटा सफा गर्ने, चारैतिर राम्रो बनाउने गरिन्थ्यो । दसैँ लागेपछि घरमै चिउरा कुट्ने काम हुन्थ्यो ।

मासु खाने घरमा दसैँ लाग्नुअगाडि नै खसीबोकाको प्रबन्ध गरिन्थ्यो । त्यसका लागि नुन, तेल, मरमसलाको जोहो पनि आवश्यक हुन्थ्यो । र, त्यहीअनुरूप काम गर्दै गइन्थ्यो । दसैँमा नयाँ लुगा लगाउन पाइन्थ्यो । नयाँ लुगा सिलाइन्थ्यो ।

केटाकेटी अवस्थाको कुरा सोच्दा त्यस बेला फलमा केरा मात्रै रहेको पाउँछु म । त्यो मलाई पृथक् लाग्यो । किनभने, स्याउ, नासपाती, सुन्तलाजस्ता अरू फल हुन्थेन त्यसबखत । केराचाहिँ बाह्रैमास फल्थ्यो । त्यसैले त्यस बेलाको फलफूलमा केरा नै महत्त्वपूर्ण थियो ।

केरासँग दहीचिउरा खानुको आनन्द बेग्लै छ । त्यसैले हरेक घरमा केराको महत्त्व विशेष हुने गरेको मेरो बुझाइ छ ।

पहाडमा हुँदा दशमीको दिन सबैको घरघरमा गएर टीका लगाउँथ्यौँ । घरको टीकापछि मामाघर जाने गरिन्थ्यो । घर र मामाघर वारि डाँडा र पारि डाँडा थियो । एकडेढ घण्टाको बाटो थियो ।

मामाघरमा हजुरबा हजुरआमा, मामामाइजूसँग टीका लगाउँथ्यौँ । मामाघरमा दक्षिणा पनि पाइन्थ्यो । त्यसैले पनि हाम्रा लागि दसैँको बेग्लै रौनक हुन्थ्यो । दक्षिणा पाउँदा खुसीको सीमा हुन्थेन ।

हामी भान्जाभान्जी पाएको दक्षिणा गन्थ्यौँ राख्थ्यौँ, गन्थ्यौँ राख्थ्यौँ ! त्यसको आनन्द नै बेग्लै थियो ।

म यस्तै नौदश वर्षको हुँदा झापा झरेँ । यता झापातिर भने दसैँ मनाउने तरिका फरक भयो । किनभने, अधिकांश आफन्तहरू सबै पहाडमै थिए ।

जब पहाडबाट झापाको ज्यामिरगढी झरियो, पहाडका ती सबै कुरा छुटे । किनभने, पहाडबाट कम मानिस मात्रै तराई झरेका थिए ।

यता तराईमा ठाउँठाउँमा दुर्गाका ठूलठूला मूर्तिहरू राखेर नौ दिनसम्म पूजाअर्चना गरिन्थ्यो । खासगरी राजवंशी टोलहरूमा त्यस्तो हुन्थ्यो । हाम्रो बसोबास भएको ठाउँमा राजवंशीहरूकै बाहुल्य थियो ।

झापामा दसैँताका मेला लाग्थ्यो । त्यहाँको आनन्द भनेको मेला हेर्न जानु नै हुन्थ्यो । मेलामा बेग्लै रमाइलो हुन्थ्यो । त्यहाँ भजन पनि हुन्थ्यो । नाटकहरू पनि हुन्थ्यो । यो हाम्रा लागि विशेष रमाइलो सन्दर्भ हुन्थ्यो ।

परिवार कम भएकोले होला, पहाडमा जस्तो टीका लगाउने र घरघर गएर टीका थाप्ने चलन झापामा त्यति थिएन । केही घर थिए र तिनै घरमा दसैँको टीका थापिन्थ्यो ।

पछिपछि पहाडबाट फेरि आफन्तहरू झापा झर्न थाले । त्यसपछि भने दसैँ पनि पहाडबाट तराई झरेको जस्तो लाग्न थाल्यो । त्यसपछि मैले बुझेँ, दसैँ भनेको भेटघाटको उत्कृष्ट चौतारी रहेछ ।

परिवारका कोही बाहिर छन् भने उसले म दसैँमा आउँछु भन्थ्यो । त्यो उसले फागुनचैतदेखि नै भन्न थाल्थ्यो । किनभने, परिवारका सदस्यहरू कोहीकोही टाढाटाढा बस्न थालिसकेका थिए । अहिले त झन् विदेश नै जाने चलनले गति पक्डेको छ ।

त्यसैले पनि बाहिर जानेले दसैँमा आउँछु भनेको हुन्छ । त्यसलाई मनन गर्ने हो भने दसैँ भनेको भेटघाटको चौतारी नै हो भनिदिँदा फरक पर्दैन ।

यो चाडको अर्थ भनेको शक्तिको पूजा त हुँदै हो, यसको अर्को पक्ष भनेको आपसी सद्भाव पनि हो । त्यो कसरी भने, छरछिमेकमा, आफन्त दाजुभाइमा साधारण कुलो–पानीमा झगडा भएको हुनसक्छ । गाईवस्तुले बालीनाली खाएको विषयमा मनमुटाव भएको हुनसक्छ ।

तर, यी सबै अप्ठ्याराहरूको दसैँमा सुलह हुन्छ । अग्रज आफन्त, मान्यजनकोमा गएर टीका लगाएपछि मानिसले पुराना वैमनस्य सबै बिर्सिन्छन् । त्यसैले दसैँ अति ठूलो मान्यता बोकेको चाड हो भन्छु म ।

अर्को कुरा, हजुरबा, हजुरआमा, बुवाआमा हुन्जेल दसैँको जुन आनन्द छ, त्यसको आफ्नै महत्त्व रहन्छ । तर, जब बुवाआमा र अग्रज मान्यजन रहनु हुन्न, त्यस बेला पुराना दिनका सम्झना आउने गर्छ ।

तथापि, जब बाहिर रहेका हाम्रा छोराछोरी दसैँमा घर आउँछन्, नातिनातिना आउँछन् र तिनलाई टीका–जमरा लगाइदिइन्छ, फेरि पुरानै कुरा दोहोरिएको अनुभूत हुन्छ । त्यसले बेग्लै आनन्दको अनुभूत गराउँछ । सत्य कुरो के हो भने, यतिखेर म भावुक हुन्छु ।

विजयादशमीको टीका भनेपछि सबै अग्रजहरूलाई सम्झिने, आफ्ना मान्यजनहरूबाट टीका लगाएर आशीर्वाद लिने हो । त्यसैले आफ्ना मान्यजन र अग्रजहरूलाई मान्नुपर्छ भन्ने संस्कार पनि यसले सिकाउँछ । यो संस्कार कुनै किताब पढेर सिकिन्न । त्यसैले दसैँ सबैभन्दा ठूलो र महत्त्वपूर्ण चाड हो भन्ने मलाई लाग्छ ।

दसैँका पुराना दिनहरू बेलाबखत सम्झनामा आइरहन्छ । एकपटक तराई झरिसकेपछिको दसैँको कुरा हो । दसैँमा मासु प्रायः हरेक घरमा पाक्छ, सबैलाई थाहा भएको कुरा हो ।

एक वर्ष दसैँमा मासु धेरै खाइएछ । जहाँ पनि गयो मासु र चिउरा दिन्थे । यतै मासु उतै मासु । यसरी मासु धेरै खाइएछ । कति खाइयो कुरा नगरौँ ।

त्यो दसैँमा म नराम्ररी बिरामी परेँ । अब त्यति बेला ओखतीमुलो गर्ने पनि त्यति हुन्थेनन् । त्यो वर्षको दसैँले अत्यायो । त्यसैले होला, आज पनि दसैँमा मासु खाने बेला म धेरै सोच्छु ।

अर्को कुरो, म पढ्न भनेर काठमाडौं आइसकेपछि दसैँदसैँमा झापा गइन्थ्यो । जब साउन सुरु हुन्थ्यो, हामीलाई दसैँ अगाडि नै आइसकेको जस्तो लाग्थ्यो । अनि त घर जाने दिन गन्न थालिन्थ्यो । कहिले घर पुग्नुजस्तो हुन्थ्यो । हामी काठमाडौंमा भए पनि मन उडेर घर पुगिसकेको हुन्थ्यो ।

काठमाडौंबाट झापा जाँदा कहिलेकाहीँ बस बिग्रेर एकदुई दिनै बाटोमा नै हुन्थ्यौँ हामी । र, बल्लतल्ल घर पुग्थ्यौँ । घर पुगिसकेपछिको खुसी यति हुन्थ्यो, त्यो खुसी बजारमा कहाँ किन्न पाइन्छ र !

(कवि, साहित्यकार डा. विष्णुविभु घिमिरेसँग गरिएको कुराकानीमा आधारित ।) 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  १५:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro