site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

अठारै वर्षको कुनै किशोरले विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै हिमाल आरोहण गरेर कीर्तिमान बनाए भन्ने सुन्नेबित्तिकै हिमाल आरोहणबारे सामान्य जानकारी राख्नेले पनि सहजै अनुमान गर्छन् - पक्कै पनि ती कीर्तिमानी आरोही नेपाली शेर्पा हुनुपर्छ । र, यो अनुमान गलत हुँदैन ।

नेपाली किशोर निमा रिन्जी शेर्पाले बुधवार बिहान ८ हजार २७ मिटर अग्लो सिसापाङ्मा हिमालको सफल आरोहण गरे । यसअघि निमाले विश्वका सबैभन्दा अग्ला १३ वटा हिमाल आरोहण गरिसकेका थिए । यसपछि सबैभन्दा कम उमेर १४ वटा हिमाल आरोहण गर्ने उनको नयाँ कीर्तिमान बन्यो ।

यो कीर्तिमान निमा रिन्जी, उनको परिवार र समुदायका लागिमात्र होइन सबै नेपालीका लागि हर्ष र गौरवको विषय हो । बाढी पहिरोको विनाश र राजनीतिक नेताहरूको गैरजिम्मेवार अकर्मण्यताबाट आजित नेपालीलाई दसैंमा रमाइलो लाग्ने समाचार दिएकोमा निमालाई बधाईका साथै धन्यवाद 

पर्वतारोहणमा धेरै नेपालीले विशेषगरी शेर्पाहरूले धेरैपटक कीर्तिमान कायम गरेकाले हो कि अरू खेलमा विजय हासिल गर्दा जति राष्ट्रियरूपमा उत्सव मनाउने गरेको देखिँदैन । तर, पर्वतारोहण अरू धेरै खेलहरूभन्दा चानेचुने त होइन ( साहस, कौशल र क्षमताका दृष्टिमा । 

शेर्पा समुदाय संसारमै पर्वतारोहणको पर्याय बन्न पुगेको छ । त्यसमा पनि थुप्रै शेर्पाहरूले आरोहणमा लोमहर्षक सफलता हासिल गरेका छन् । नेपालमा जति पर्वतारोहणमा कीर्तिमान कायम गर्नेहरू संसारमै कतै छैनन् । तै पनि, नेपालमा शेर्पाहरूको कीर्तिमानमा हुनुपर्ने जति गौरव मानिएको देखिँदैन ।

नेपाललाई विश्वमा चिनाउन हिमालको जस्तै महत्त्वपूर्ण भूमिका छ शेर्पा समुदायको पनि । यसैले शेर्पा, हिमाल तथा पर्वतारोहणमा नेपालले गर्व गर्न सिक्नु र सक्नुपर्छ । सरकारले यस विषयमा गम्भीरतापूर्वक ध्यान देओस् ।  

नेपाली बालबालिकाका लागि निमाको सफलताको कथा प्रेरणा स्रोत बन्नुपर्छ । बालबालिकालाई आधारभूत विद्यालयदेखि नै हिमाल र शेर्पा समुदायका बारेमा पर्याप्त जानकारी दिइनुपर्छ । यस्तै, पर्वतारोहीको सम्मानमा निजी क्षेत्रले पनि मन फुकाउनुपर्छ ।

कीर्तिमानी किशोर आरोही निमा रिन्जी शेर्पालाई हार्दिक बधाई तथा उत्तरोत्तर शुभकामना !    
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  १४:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro