site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
हात्तीले निम्त्याएको संकट : ऋण मागेर जदुको किरिया गर्दै परिवार

सर्लाही । गएको बिहीबार साँझ गोविन्दे नामक जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएका सर्लाहीको हरिपुर नगरपालिका–७ निवासी जदु सिंहको परिवार अहिले बिचल्लीमा छ । आर्थिक रूपमा अत्यन्त विपन्न परिवारको एक मात्र भरोसा जंगली हात्तीको आक्रमणबाट गुमेपछि सिंहको ६ जनाको परिवार संकटमा परेको हो ।

“जदु घरको एक मात्र कमाउने सदस्य थियो,” उनका बुवा ७० वर्षीय पञ्चलाल सिंहले भने, “श्रीमती, दुई छोरा, एक छोरी र हामी बुढाबुढीको लालनपालन उसैले गरेको थियो । हाम्रो बिचल्ली भयो । घरबार धान्ने एक मात्र छोरालाई हात्तीले मारिदियो, अब कसको सहारामा बाँच्नु ?”

जदुले केही वर्षअघि जेठी छोरीको चितवनमै विवाह गरिदिएका थिए । बाँकी १९ र ६ वर्षीय दुई छोरा र १६ वर्षीया एक छोरी, श्रीमती र आमाबुवाको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा थियो । आफ्नो औषधि खर्च मात्र मासिक  तीन हजार रुपैयाँभन्दा बढी लाग्ने आमा पहुनियादेवीले दुखेसो पोखिन् ।

“छोराको किरिया कर्म गर्न समेत ऋण माग्नुपरेको छ,” उनले भनिन्, “अब हामीलाई कसले हेर्छ ?”

जदुको परिवारसँग सम्पत्तिको नाममा एउटा काठको सानो घरबाहेक केही छैन । बुवाको किरियामा १९ वर्षीय छोरा रितिक बसेका छन् । घरको अवस्था कमजोर भएका कारण आफूले पढ्न नपाएको उनले गुनासो पोखे । रितिकले ट्रकमा सहचालकका रूपमा काम गर्दै आएका छन् । अहिले सीप सिक्न बसेको कारण समेत आफ्नो कमाइ नभएको उनको भनाइ छ ।

घटनापछि गाउँबाट पुगेका युवाले आपसमा सहयोग गरेर शनिबार जदुको शव गाउँ ल्याएर अन्तिम संस्कार गरिएको परिवारले जानकारी गराएको छ । एउटा भएको छोरा समेत हात्तीले खोसेको भन्दै आमा पहुनियादेवी डाँको छाडेर रोइन् । छोराले १६ वर्षसम्म काम गर्दा पनि सौराहास्थित हात्ती प्रजनन केन्द्रले उसको सेवाको कदर नगरेको परिवारको गुनासो छ । 

खगेन्द्रसँगै कतार जाने जदुको सपना अधुरै 
जदु चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सौराहाको हात्ती प्रजनन केन्द्रका अनुभवी माउते थिए । त्यहाँ जदुले ०६५ सालदेखि करारमा सेवा सुरु गरेका उनका बुवा पञ्चलालले बताए । “२० वर्षको उमेर गाउँका एकजना आफन्तसँग पछि लागेर सौराहामा काम गर्न गएको हो,” उनले भने, “हात्तीले बच्चा पाएको बेलामा लामो समय घर आउन पाउँदैन थियो ।”

जदुले हात्ती प्रजनन केन्द्रमा काम गर्न थालेको १६ वर्ष भएको थियो । “हात्तीको स्वभावदेखि हरेक कुरामा उहाँ जानकार हुनुहुन्थ्यो,” केन्द्र प्रमुख मनपुरण चौधरीले भने, “बिहीबार साँझ तरकारी लिएर स्याहार केन्द्रतर्फ आउँदै गर्दा उहाँलाई गोविन्दे नामको जंगली हात्तीले आक्रमण गर्‍यो । उहाँको घटनास्थलमै ज्यान गयो । केन्द्र शोकमा छ । हाम्रो अपूरणीय क्षति भएको छ ।”

गएको वैशाख ११ गते सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणमा नेपाल आएको मौकामा एक जोडी हात्ती उपहार दिने घोषणा गरेको थियो । हात्ती कतार पठाइने भएपछि खगेन्द्रप्रसाद (हात्ती)लाई जन्मेदेखि रेखदेख गर्ने, तालिम दिने जदु पनि सँगै त्यहाँ जाने तय भएको थियो । कतारका अमिरलाई सौराहामा जदुले तालिम दिएको खगेन्द्रप्रसादले नै माला लगाई ढोग तथा नमस्कार गरी भव्य स्वागत गरेको थियो ।

हात्ती विधिवत रूपमा हस्तान्तरण भए पनि प्रक्रियागत कारण तत्काललाई पठाउने काम रोकियो । तत्कालका निम्ति हात्ती कतार नलगिने भएपछि त्यहाँ जाने उनको चाहना रोकिएको थियो । 

खगेन्द्रप्रसाद र रुद्रकलीसँगै सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसरबाट ६ जना कतार जाने तयारी भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको थियो । आफूले हुर्काएको खगेन्द्रसँगै कतार जाने कुराले जदु पनि उत्साहित थिए । कतार जाने तयारीबारे उनले घरमा समेत बताएको आमा पहुनियादेवीले सुनाइन् । जदुले आफू कार्यरत रहँदा दर्जनौँ हात्तीका छावा हुर्काएका थिए ।

“हात्ती लिएर कतार जान्छु भनेको थियो,” उनले भनिन्, “पैसा पनि राम्रो कमाइ हुन्छ भन्दै खुसी भएको थियो । मेरो बाबुलाई हात्तीले मारिदियो ।”

छोराको मृत्युपछि परिवारको हातमुख जोर्ने समेत कुनै उपाय नभएको पञ्चलालले बताए । “कसरी काजकिरिया टार्नु ? तीन नाति–नातिनाको लालनपालन, विवाहदान कसरी गरौँ ?,” उनले भने, “म दमको रोगी छु, हिँड्डुल समेत सक्दिनँ, कसलाई गुहार्नु ?”

बिहीबार गोविन्दे हात्तीको आक्रमणमा परेका दुईमध्ये अर्का एक माउते भने भागेर बाँच्न सफल भएका थिए । रासस

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  २०:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro