site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काभ्रेमा सरकारी राहत प्रदान गर्न टोली परिचालन

काभ्रेपलाञ्चोक । गत साताको अविरल वर्षामा बाढीपहिरोले काभ्रेपलाञ्चोकमा जनधनको ठूलो क्षति भएपछि राहत रकम उपलब्ध गराउन टोली परिचालन गरिएको छ । 

हाल जिल्लाका पाँच स्थानीय तहमा पहिरोमा परी ज्यान गुमाएका परिवारलाई संघीय सरकारद्वारा घोषित राहत रकम उपलब्ध गराउन टोली परिचालन गरिएको हो । 

जिल्ला प्रशासन कार्यालयबाट सबैभन्दा बढी मृतक संख्या रहेको पनौती नगरपालिका, बेथानचोक गाउँपालिका, रोशी गाउँपालिका, नमोबुद्ध नगरपालिका र मण्डनदेउपुर नगरपालिका गरी पाँच स्थानीय तहमा टोली खटिएको हो । 

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक उमेशकुमार ढकालसहितको टोलीले सुरुमा बनेपा र पनौतीका एक÷एक परिवारलाई राहत रकम उपलब्ध गराएको थियो । 

काभ्रेपलाञ्चोकमा पीडित परिवारलाई स्थानीयस्तरमै राहत दिन टोली खटाइएको ढकालले बताए । उनका अनुसार पीडित परिवारलाई दुःख नदिने उद्देश्यका साथ सकेसम्म मृतकका घरमै पुग्ने र कठिन अवस्थामा वडा कार्यालयसम्म पुगेर भए पनि राहत रकम प्रदान गर्ने गरी टोली परिचालित गरिएको हो ।

सडक अवरुद्ध भएका कारण तेमाल गाउँपालिकामा खटाइएको टोली वैकल्पिक बाटोको खोजीमा रहेको जनाइएको छ । “स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर छिट्टै टोली पुग्नेछ”, सहायक प्रमुख जिल्ला अधिकारी सुवास पोडेलले भने । मृतक प्रतिव्यक्तिका परिवारले संघीय सरकारबाट रु दुई लाख नगद राहत पाउनेछन् । परिवारमा एकभन्दा बढी मृतकको हकमा दुई लाखमा एक लाख थपिने जनाइएको छ । 

गत साताको बाढीपहिरो र डुबानबाट अतिप्रभावित तीन दर्जनभन्दा बढी स्थानीय तहलाई राहत तथा पुनःनिर्माणलाई प्राथमिकता दिन सरकारले शुक्रबार ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । रासस

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  १४:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro