सागर फुयाल
दुईचार दिनको जुनी हो हुनलाई
तर गाह्रो छ मान्छेलाई
मेसो मिलाई बाँच्नलाई
एउटा जुनी काट्नलाई ।
जब ढोकामा ढकढक आवाज आउँछ
ऊ झ्यालबाट चियाउँछ
मान्छे हेर्छ
ढोका खोल्नुअघि
अलमारीमा पुग्छ
मन्दिर जानुअघि पनि
ऊ अलमारीमा पुग्छ
जतनले राखेका वस्त्रहरूबाट
सुहाउँदो एउटा निकाल्छ,
पहिरन्छ
कहिले विनयशीलताको वस्त्र
कहिले इमानदारिताको वस्त्र
कहिले निश्छलताको वस्त्र
कहिले अबोधपनाको वस्त्र
कहिले विवशताको वस्त्र
यस्तैयस्तै
आरामदायी, लाभदायी
मौसम सुहाउँदो वस्त्र !
आकाशमा उड्दा
जमिनमा खसी घाइते हुन्छ भन्दै
करूणाको वस्त्र पहिरिएर उसले
पिँजडामा जोगाइराखेको
सुगा नै अलमलमा छ
उसको वस्त्र पहिरनको
यो अनन्त शृंखला
अनन्त व्याकरण बुझ्न नसकेर
अनि, पहिरनपिच्छे बोल्नुपर्ने
तारिफका शब्दहरू
नभेटेर,
नजानेर
सुगा आजित छ
त्यसैले यसले युगौँदेखि बोली आएको
आफ्नो मौलिक बोली ‘गोपी कृष्ण कहो’
पनि बोल्न छोडेको छ ।
(बर्लिन, जर्मनी)