८२ वर्षकी वेन्डी र ८० वर्षका फिल एकार्कालाई अगाध प्रेम गर्दा रहेछन् । कथाको पटकथामा प्रवेश गर्दा वेन्डीकी १३ वर्षीया नातिनी टायनाको ह्याप्पी बर्थडे मनाउन दिवाभोज लिने गरी हामी होटेल हेन्ले ब्रुकमा जम्मा भएका थियौँ ।
वेन्डीको छोरा जेफसँग मेरो पुरानो परिचय रहेकाले म पनि आमन्त्रित भइरहन्छु, उसले आयोजना गरेका पार्टीहरूमा । यसपटक पनि जन्मदिन पार्टीमा म आमन्त्रित थिएँ ।
पार्टी सुरु भयो । सबैले ड्रिंक लिन थाले । मैले कागती र महमिश्रित लेमनपानी लिएँ । वेन्डी र उनको आडमा बसेका सज्जनले बियर लिए ।
जेफ पहिला वाइन लिन्थ्यो, तर उसकी श्रीमतीको देहान्तपछि विगत चार वर्षदेखि ह्विस्की खान थालेको छ ।
गत वर्ष यस्तै एउटा पार्टीमा मैले सोध्दा उसले भनेको थियो, ‘शी लभ्ड ह्विस्की ओन्ली । आफ्टर हर डेथ आई स्टार्टेड ह्विस्की । आई हेट अदर ड्रिंक्स ।’
उसले ‘आई हेट अदर ड्रिंक्स’ भनिरहँदा ऊभन्दा बढी ऊभित्रको गहिरो भावनात्मक पीडा बोलेझैँ लाग्यो । एक प्रकारको दुःखद चित्रण गरिरहेको थियो ऊ आफ्नो विगतको ।
त्यस दिन जेफले मसँग धेरै कुरा गरेको थियो । उसको जीवनमा अचानक आएको अभाव, एक्लोपनको पीडा, दुवैका साझा सपनाहरूको मृत्यु । उसले भनेको थियो, “ह्विस्कीको प्रत्येक पेगसँगै स्टेलाको नशालु आँखा, मुस्कान, चाहना, प्रेम सबै मभित्र प्रवेश गर्छन् । म रमाउँछु । मेरो मदिरा दराजमा स्टेलाले खाएका ह्विस्कीका रित्ता बोतल मात्र छन्, म फ्याँक्दिनँ । सजाएर राखेको छु ।’
मैले जेफलाई सोधेको थिएँ, ‘तिमी अर्को बिहे किन गर्दैनौ ?’
उसले पुनः दोहो¥याएको थियो, ‘आई हेट अदर ड्रिंक्स ।’
जेफ आफ्नी छोरी र अन्य महिला मित्रहरूसँग कुरा गर्न थाल्यो । म वेन्डीको अघिल्तिरको कुर्चीमा बसेँ । ८२ वर्षकी वेन्डी राम्री छिन् । उनको घुमाउरो कपाल, पुक्क उठेका गाला, ओठमा रातो लिपिस्टिकले निकै सुन्दर देखापरेकी थिइन् वेन्डी त्यस दिन ।
बाहिर मधुर संगीतको माहोल थियो । एउटी गायिका गीत गाउँदै थिइन् । वेन्डीका ओठ गीतका शब्दहरूमा चलायमान थिए ।
म वेन्डीलाई घरीघरी हेर्थें, अनि भद्रताको ध्यान राख्दै नहेरेझैँ पनि गर्थें । हामी भित्रबाट जेजस्ता भए पनि शिष्ट र विचारशील आचरण सभ्यताको आवश्यकता हो । मैले वेन्डीलाई हेर्दा उनले पनि मलाई हेरिरहेको पाउथेँ ।
एकछिनपछि वेन्डीले नै मलाई सोधिन्, ‘तिमी नेपालबाट कहिले आयौ ? जेफले मलाई तिम्रा बारेमा भनिसकेको छ । तिमी एउटा विश्वविद्यालयमा प्रोफेसर थियौ ।’
‘म आएको दुई महिना भयो । अक्टोबरमा फर्किन्छु ।’
‘ए ए !’
वेन्डी र मबीचको वार्ता निकै सौहार्दपूर्ण बन्दै गयो । उनले धेरै कुरा सोधिन्, छोराछोरी र म्याम सबैबारे । नेपालबारे पनि भनिन्, ‘धेरै राम्रो देश छ । म काठमाण्डू र पोखरा पुगेकी छु ।’
मलाई वेन्डीसँग एउटा व्यक्तिगत कुरा सोध्न मन लाग्यो ।
‘वेन्डी, मलाई एउटा कुरा सोध्न मन लागेको छ, तिमीले गाह्रो नमाने ।’
‘गाह्रो मान्दिनँ । सोध ।’
‘विगत ३५ वर्षदेखि तिमी र फिल सँगै बस्दा रहेछौ, तर अविवाहित । अचम्मको सम्बन्ध ! तिमीहरूबीच अगाध प्रेम रहेछ । अनि, बिहे गरेर आफ्नो प्रेमलाई अमर किन बनाउँदैनौ ?’
वेन्डीले मलाई नजिकै बोलाइन् । पहिला अँगालो हालिन्, अनि मेरो हात समाउँदै भनिन्, ‘म ४० वर्षको उमेरमा विधवा भएँ । मेरा दुई छोरी हुर्केका थिए, तर जेफ सानै थियो । फिल र उसको श्रीमती मेरो छिमेकमा बस्थे । हाम्रो पारिवारिक मित्रता थियो । मेरो श्रीमान्को मृत्युपछि फिल र उसकी श्रीमतीले हाम्रा बच्चा हुर्काउन निकै मद्दत गरेका हुन् । फिलकी श्रीमती निकै सुन्दर र मिलनसार थिइन् । एक दिन अचानक कार दुर्घटनामा परेर मार्गाको मृत्यु भयो । फिल निकै हतोत्साहित भए । हामीले फिललाई एक्लो महसुस गर्न दिएनौँ । फिलका कुनै बच्चा थिएनन् । मेरा बच्चाहरू हुर्कंदै गए र आ–आफ्नो घरजम गर्दै व्यवस्था मिलाएर भिन्दै बस्न थाले । जेफ कान्छो हो । उसको बिहेपछि ऊ पनि अलग भयो ।’
वेन्डी केही समयका लागि मौन भइन् । अनि, पुनः भन्न थालिन्, ‘म र फिल विगत ३५ वर्षदेखि सँगै बस्दै आएका छौँ । एकार्कालाई प्रेम गर्छौं । यतिका वर्षको मेरो अनुभवमा मैले बुझेको लाल, प्रेम गर्नका लागि विवाह नै गर्नुपर्छ भन्ने छैन रहेछ । विवाह त मैले र फिल दुवैले गरेकै हौँ, तर खै त ? नियतिले पुनः एकल बनायो । विवाह प्रेमका लागि हो भने हामी दुवै प्रेम गर्छौं । मित्रताका लागि हो भने हामी घनिष्ट छौँ । विवाह सम्बन्ध र सम्झौताका लागि हो भने हामीबीच विश्वासिलो सम्बन्ध र गहिरो सम्झौता छ ।’
उनले एकछिन रोकिएर भनिन्, ‘लाल, मान्छे होइन मान्छेको प्रेम अमर हुन्छ !’
मलाई लाग्यो, म कुनै पश्चिमेली शिक्षिकाबाट प्रेमको दार्शनिक पाठ सिक्दै थिएँ ।