काठमाडौं । रुसको राजधानी मस्कोस्थित नेपाली दूतावासले बुधबार मात्र रुसी सेनामा भर्ती भएका एक जना नेपालीको मृत्यु भएको जानकारी परराष्ट्र मन्त्रालयलाई पठाएको छ ।
योसँगै रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिने नेपालीको संख्या ४४ पुगेको छ । यो संख्या रुसले नेपाललाई औपचारिक रुपमा दिएकहरू को मात्र हो । मृत्यु हुनेको संख्या योभन्दा बढी छ ।
“आज (बुधबार) थप एक जना नेपालीको मृत्यु भएको जानकारी प्राप्त भएको छ,” परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाशमणि पौडेलले बाह्रखरीसँग भने ।
रुस–युक्रेन युद्धमा मारिएको आशंकमा ५८ जनाको डीएनए परीक्षण गर्न रुसले नेपाललाई अनुरोधसहितको पत्र पठाएको छ । तीमध्ये केही मृत्यु भएको सूचिमा परिसकेका छन् । रुसी सेनामा आवद्ध नेपालीको जीवन रक्षार्थ अभियान चलाइरहेकी अभियन्ता कृतु भण्डारीले संकलन गरेको तथ्याङ्क भने फरक छ ।
भण्डारीका अनुसार, हालसम्म रुसी सेनामा भर्ती भएका नेपालीमध्ये ६१ जनाले युक्रेनसँगको युद्धमा ज्यान गुमाइसकेका छन् । सम्बन्धित परिवारले उनीहरूको अन्तिम संस्कार नै गरिसकेका छन् ।
“रुस–युक्रेन युद्धमा मारिने नेपालीको संख्या अझ बढी हुनसक्छ, किनभने रुसबाट सबैले हामीलाई जानकारी गराएका छैनन् र सम्बन्धित परिवार पनि हाम्रो सम्पर्कमा नहुन सक्छन्,” भण्डारीले बाह्रखरीसँग भनिन् ।
भण्डारीका अनुसार, रुसी सेनामा भर्ती भएका १७९ जना नेपाली लामो समयदेखि नेपालमा रहेका आफ्नो परिवारको सम्पर्कमा छैनन् ।
उनीहरूको अवस्था अज्ञात छ । रुसी सेनामा भर्ती भएकामध्ये हालसम्म ११७ जना युक्रेनसँगको युद्धमा घाइते भएका छन् । रुसी सेनामा भर्ती भएकामध्ये हालसम्म १८० जना नेपाली स्वदेश फर्किएका छन् । उनीहरू मध्ये केही युद्धका क्रममा घाइते हुनेहरू पनि छन् ।
“युद्धका क्रममा ११ जना नेपालीलाई युक्रेनले युद्धबन्दी बनाएको छ । उनीहरू लाई युद्धबन्दी बनाएको आधिकारिक पत्र आईसीआरसीलगायतका संस्थाको सहयोगमा नेपालमा रहेका उनीहरू को परिवारसम्म पुगेको छ,” भण्डारीले जानकारी दिइन् ।
हालसम्म युक्रेनसँगको युद्धमा मारिएकामध्ये ५ जनाको अस्तु मात्र रुसले नेपाल पठाएको छ । मारिएका नेपालीको शव नेपाल पठाउन रुसले मानेको छैन । “युद्धमा मारिएकामध्ये ६ जनाको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सिफारिस भएको छ । तर एक जनाको परिवारले पनि क्षतिपूर्ति रकम पाएका छैनन्,” उनले भनिन् ।
मृत्युको सिलसिला
सबैभन्दा पहिला गोरखाका सन्दिप थपलियाको २०८० असार २९ गते युक्रेनसँगको युद्धका क्रममा मारिएका थिए । उनी युक्रेनको बाखमुतमा मारिएका थिए । रुसले थपलियाको शव पठाउन मानेन र त्यहीँको चिहानमा समाधिस्थ गरेको थियो ।
परराष्ट्र मन्त्रालये थपलिया मरेको खबर साउन महिनामा नै थाहा पाएको थियो, तर थाहा नपाएझँै गरेको थियो । त्यसपछि मस्कोस्थित नेपाली दूतावासले रुसी सेनामा नेपाली भर्ती भएका सम्बन्धमा बुझ्न सुरु गरेको थियो ।
दूतावासले बुझ्ने क्रममा थपलियाले सेनामा भर्ती हुँदा रुसी रक्षा मन्त्रालयसँग गरेको कागजात भेटिएको थियो । त्यसपछि परराष्ट्र मन्त्रालयले २०८० साउन १६ गते विज्ञप्ति जारी गर्दै विदेशी सेनामा नेपाली भर्ती भएको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको थियो । तर विज्ञप्तिम न त रुसको नाम नै उल्लेख थियो न युक्रेनको ।
मस्कोस्थित नेपाली दूतावासले २०८० कात्तिक २९ गते रुसी सेनामा भर्ती भएका इलामका गंगाराज मोक्तान, कपिलवस्तुका रुपक कार्की र दोलखाका राजकुमार रोकाको मृत्यु भएको भन्दै मंसिर ८ गते परराष्ट्र मन्त्रालयलाई पत्र पठाएपछि मात्र नेपालले औपचारिक रुपमा रुसी सेनामा नेपाली भर्ती भएको स्वीकारेको थियो ।
परराष्ट्र मन्त्रालयले २०८० मंसिर १८ गते रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिनेको संख्या ६ पुगेको जनाएको थियो । परराष्ट्रले गोरखाका सन्दिप थपलिया, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोका र इलामका गंगारज मोक्तान मारिएको जनायो ।
विज्ञप्ति जारी गर्नुअघि परराष्ट्रले नेपालका लागि रुसी राजदूतलाई मन्त्रालयमा बोलाई असन्तुष्टि जनाउँदै कूटनीतिक नोट थमाएको थियो । असन्तुष्टि जनाउने क्रममा परराष्ट्रले राजदूतमार्फत रुसलाई नेपालीको शव यथाशीघ्र पठाउन, पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन, रुसी सेनामा नेपालीलाई भर्ना नगर्न र भर्ना भएका नेपालीलाई तत्काल नेपाल फर्काउन आग्रह गरेको थियो । तर रुसले नेपालको अनुरोधलाई अहिलेसम्म टेरेको छैन ।
रुसले नटेरेपछि परराष्ट्रले २०८० पुस ४ गते विज्ञप्ति गरी भनेको थियो, “परम्परागत रूपमा रहेको सम्झौताअन्तर्गत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा ाहेक अन्य विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना हुन अनुमति दिने नेपाल सरकारको नीति नरहेको यस मन्त्रालयबाट पुनःस्पष्ट गरिन्छ ।”
सन् २०२२ फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि नेपालीलाई आफ्नो सेनामा भर्ती गर्न सुरु गरेको हो । रुसले नेपाल सरकारलाई कुनै जानकारी नै नदिई नेपालीलाई आफ्नो सेनामा भर्ती गर्न थालेको हो ।
यस सम्बन्धमा नेपालले कूटनीतिक नोट मार्फत, दुई देशका विदेशमन्त्रीबीचको टेलिफोन कुराकानीमा रुससँग असन्तुष्टि जनाइसकेको छ । तर रुसले नेपालीलाई भर्ती गर्न रोकेको छैन । अहिले रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिने नेपालीको संख्या ६१ पुगेको छ ।
दलालले नयाँ रुट प्रयोग गर्न थाले
परराष्ट्रमन्त्री आरजु राणा देउवाले २०८१ साउन ९ गते प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भनेकी थिइन्, “मे २०२४ मा नेपालीलाई भर्ती नगर्ने भन्ने रुसले अनौपचारिक सहमति जनाएको छ । जाने क्रम पनि रोकिएको छ ।”
तर, परराष्ट्रमन्त्री राणाको यो दाबी झुटो सावित भएको छ । न त नेपाली रुसी सेनामा भर्ती हुन जाने क्रम रोकिएको छ न रुसीले भर्ती गर्ने छाडेको छ । दुवै कार्य निरन्तर चल्दै आएका छन् । बरु दलालहरूले नेपालीलाई रुस पठाउन नयाँ रुटको प्रयोग गर्न थालेका छन् ।
अभियन्ता भण्डारीका अनुसार, दलालहरूले पछिल्लो समय नेपालीलाई चीन हुँदै रुस पठाउन थालेका छन् ।
यसअघि भिजिट भिसामा दुबई हुँदै नेपालीलाई दलाहरूले रुस पुर्याउने गर्थे । “रुसी सेनामा भर्ती हुन जाने क्रम रोकिएको छैन । पछिल्लो समय ५० जना नेपाली युवा रुसी सेनामा भर्ती भएका छन् । दलालहरूले उनीहरूलाई चीन हुँदै रुस पुर्याएका हुन्,” भण्डारीले भनिन् ।
दलालहरूले केहीलाई चीनबाट युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबई हुँदै रुस पुर्याउने गरेका छन् भने केहीलाई चीनबाट सिधै लैजाने गरेका छन् । भिजिट भिसामा दुबई हुँदै रुस जानेहरूमाथि सरकारले २०८० माघ १० गतेदेखि कडाइ गरेपछि दलालहरूले नयाँ रुटको प्रयोग गरेका हुन् ।
रुसी सेनामा भर्ती हुनेहरू भिजिट भिसामा दुबई गई त्यहाँबाट रुस गएको खुलेपछि सरकारले गत वर्ष भिजिट भिसामा दुबई जानेमाथि कडाइ गरेको थियो ।
सरकारले गतवर्ष भारत, यूएई, कतार, साउदी अरब, ओमान, बहराइनबाट रुस जानेहरूले सम्बन्धित देशमा रहेका नेपाली दूतावासबाट अनिवार्य ‘नो अब्जेक्सन सर्टिफिकेसन्’ (एनओसी) लिनुपर्ने नियम बनाएको थियो । “रुसी सेनामा भर्ती भई युद्ध मैदानमा पुगेका नेपालीले नयाँ रुटबारेमा जानकारी हामीलाई दिएका हुन्,” भण्डारीले भनिन्, “यसरी लैजानेमा नेपाली र भारतीय दलाल सक्रिय छन् ।”
भण्डारीका अनुसार, रुसी सेनामा भर्ती हुन जाने नेपालीलाई नेपालबाट रुस पुर्याएबापत ६ लाख रुपैयाँ बुझाउने गरेका छन् । रुसमा पुगेपछि रुसी सेनासम्म भर्ती गराउन अर्को दलाललाई थप एक हजार अमेरिकी डलर बुझाउने गरेका छन् । रुसी सेनामा भर्ती भएका ७०० जना नेपालीका परिवार आफ्नो सम्पर्कमा छन् ।