site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विपद्‌बारे सरकारलाई यी हुन् संसदीय समितिले दिएका चारबुँदे निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले मंगलबार सरकारलाई चारबुँदे निर्देशन दिएको छ । विपद्का विषयमा विभिन्न कार्य अघि बढाउन समितिले निर्देशन दिएको हो ।

सरकारलाई समितिले सम्भव भएका सबै उपाय प्रयोग गरेर राहत र पुनर्स्थापनाको काम अगाडि बढाउन निर्देशन दिएको छ । हवाई भाडा नबढाउन पनि निर्देशन दिइएको छ ।

Argakhachi Cement Island Ad

“...सडक यातायात सुचारु गर्नका लागि भएका बाटाहरू तत्काल यातायातका साधन चल्ने गरी मर्मतसम्भार गर्न, सडकमा पहुँच हुन नसकेका जिल्लाहरूमा हवाई यातायातको व्यवस्था गर्न, खाद्यान्न, तरकारी, फलफूल आदिको पूर्ववत् मूल्य बढ्न नदिन बजार अनुगमन गर्न र पीडितहरूले राहत छिटोभन्दा छिटो पाउने व्यवस्था गर्न सरकारलाई निर्देशन गर्दछ,” मंगलबारको समिति बैठकको दोस्रो नम्बर निर्णयमा उल्लेख छ ।

विभिन्न स्थानमा अलपत्र परेका यात्रीलाई तुरुन्तै उद्धार गरी गन्तव्यमा पुर्‍याउन पहल गर्न पनि निर्देशन दिइएको छ । जनधनको थप क्षति हुन नदिन तत्काल आवश्यक सबै तयारी गर्न निर्देशन दिइएको छ ।

“वर्षाका कारण नष्ट भएका सिँचाइ, कुलोहरू, पिउनेपानी, विद्युत्, टेलिफोन सडक आदिको तत्काल मर्मत गरी जनताको दैनिकी र यस अवस्थामा घाइतेहरूको औषधि उपचारलाई सहज बनाउन नेपाल सरकारलाई निर्देशन दिने,” चौथो नम्बर निर्णयमा उल्लेख छ ।

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १४:३५
प्रतिक्रिया दिनुहोस्