'परेर पनि नचेत्ने' नेपाली जनता र शासकको स्वभाव बनिसकेको छ । यसैले बर्सेनि बाढी, पहिरो, डुबान, कटानको कहर सहनु पर्दा पनि हामी चेतेका छैनौ । नत्र, एउटै ठाउँमा पटक पटक पहिरो वा बाढीको चपेटामा पक्कै पर्नुपर्ने थिएन ।
जनसाधारणसँग त अधिकांश अवस्थामा विकल्प पनि हुँदैन । आफ्नो जमिन बाढी, पहिरो, कटान वा डुबानको जोखिम भएको ठाउँमा जहाँ भए पनि खेती त्यहीँ गर्नुपर्यो । काम विशेषले कतै जानुपर्दा राजमार्गमा सार्वजनिक सवारी सधानबाटै यात्रा नगरी सुख हुँदैन ।
राज्यमा भने शासक थोरैमात्रै पनि दूरदर्शी र संवेदनशील भइदिएको भए जनताले पनि विकल्प पाउँथे । मूलतः शासकहरूले प्रकृतिको अनुचित दोहन गर्ने लोभ नगरेको भए अहिले भोग्नु परेको कतिपय विपत्ति आइलाग्ने नै थिएनन् भने अधिकांशको भयावहता निकै कम हुनेथियो ।
पीडितहरूलाई आकस्मिक सहायता पुर्याएपछि सरकारले त बिर्सने गरेकै छ बाढी, पहिरोको कहर भोग्नेहरूले पनि त्यसको कारण र निराकरणको उपाय खोज्ने ुझन्झटु गर्दैनन् । अर्कोपटक उस्तै विपत्ति आइलागेपछि कि त भाग्यलाई दोष दिन्छन् नभए भवितव्य भनेर चित्त बुझाउँछन् ।
यसैले अब त यस्तो कहर नियमितरूपमा भोग्नु हाम्रो नियति नै हुनपुगेको छ । नदी वा खोलाको किनारमा दैत्याकारको स्काभेटर चलाएर खोतलेका कारण खोलाले बाटो बदल्दा विध्वंश भएको हुन्छ । तर, अहिलेसम्म त्यो कुकर्म गर्नेहरूलाई विध्वंशका लागि जिम्मेवार ठहर्याउने गरिएको छैन ।
कलिला र कतिपय त खुरिखन्डे पखेरामा डोजर लगाएर बाटामा नाममा जथाभावी खोस्रिँदा पाखै पहिरो भएर बगेर गएको छ । त्यहाँको जमिनले धान्नै नसक्ने बाटो बनाउन लगाउने जनप्रतिनिधि वा डिजाइन गर्ने प्राविधिकलाई भने कसैले पनि औँला उठाउने गरेको छैनन् ।
सम्भवतः यही कारणले पनि राजनीतिक नेताहरू बेलाबखत कहिले काली गण्डकी थुनेर अर्कै खोलामा खसाल्ने वा कहिले चुरे खोस्रेर ढुंगा बेच्नेजस्ता बहुलठ्ठीपूर्ण योजना अगाडि सार्न हौसिन्छन् । 'बूढो बाघको सुनको बाला'मा लोभिएका शासकहरूले द्रव्यपिचासहरूको भाषा बोलेको जनताले भने थाहै पाउँदैनन् ।
अब पनि यो नियतिवाद र बदनियतको दुश्चक्र नटुटाउने हो भने प्राकृतिक विपत्तिको भयावहता झन् झन् बढ्दै जानेछ भने यो कथित 'भवितव्य'को चक्र पनि नियमितजस्तै हुनेछ । यसैले अहिलेको विपत्तिको गम्भीर विश्लेषण गरेर त्यसको कारण निवारण गर्ने अठोट सरकार र समाजले गर्नुपर्छ ।
कम्तीमा विस्तृत भौगर्भिक अध्ययन नगरी डाँडा खोस्रन र नदी वा खोलाका किनार खोतल्न तत्काल प्रतिबन्ध लगाउनुपर्छ । अहिलेको विध्वंशका अनुपातमा खोला खोतलेर भएको आय वा डाँडा खोस्रेर भएको हिउँदे सुविधा नगन्य हुन्छ । विध्वंश नहुने भएमात्र डाँडामा बाटो बनाउने र खोलाका ढुंगा बालुवा झिक्ने गरौँ ।