समय घर्कंदै गयो । ऊ एक अनाम कामदार थियो र हो पनि । उसको परिचय दिइरहनुपर्छ वा पर्दैन त्यो यहाँ सरोकारको विषय होइन । तर, उसलाई भित्री आक्रोश यो थियो, यति मिहिनेत गरेर पनि एक छाक सुखले खान पाइँदैन । आखिर यो किन हुन्छ ? एक छाक पनि सुखले खान नपाइनु ? जसले मिहिनेत गर्छ उसैको भागमा सधैँ खाना कम पर्छ ।
ऊ अहिले थुनामा छ । कारण यो थियो, उसलाई खरो कुरा गर्ने भनेर समातिएको थियो । खरो कुरो यो थियो, उसले ‘समाजमा धेरै अन्याय छ’ भन्यो ।
जसले रिट निवेदन दियो सर्वोच्चमा उसले भनेको थियो, ‘न्याय भनेको के हो त्यो वक्ताको दिमागमा स्पष्ट छैन । उसले समाजमा उत्तेजना फैलाएको, जसबाट अव्यवस्था पैदा हुनु स्वाभाविक छ र समाज भाँड्ने काम गरिरहेछ । यसले सरकार उलटपुलट हुनसक्छ । समाजमा न्याय छैन भन्ने हल्ला फैलाउनु अदालतको मानहानि पनि हो ।’
सोझो थियो, ऊ समातियो । प्रहरीले भन्यो, ‘यति गहिरो कुरा त हामीले थाहा गर्न सक्दैनौँ । फेरि, तिमीमाथि अनुसन्धान गर्नुपर्ने केही पनि छैन । न गाँजा न सुन, न मानव तस्करी न सरकारविरुद्ध षड्यन्त्र, कुनै अपराध बन्दैन ।
दुई छोराछोरी, एक स्वास्नी र आफू मात्र भएका तिमीमा अनुसन्धान के हुनसक्छ ? दोस्रो कुरा, तिमीले यति मात्र भनेका छौ– समाजमा न्याय छैन । त्यो अदालती विषय हो ।
समाजका विद्वान् चिन्तकहरू, कानुनवेत्ताहरू र ठूलठूला नेता, मन्त्री र टाउकेहरूले विचार विश्लेषण गर्नुपर्ने विषय हो, न्याय छ वा छैन ? प्रहरीले त आदेशपालन गर्ने मात्र हो ।’
उसले त्यसमा असहमति जनाउने कुरो थिएन । यद्यपि, ऊ थुनामा थियो र प्रहरीको रेखदेखमा थियो । दुईचार डन्डा खान सक्थ्यो, केही असहमति जनाएमा ।
भन्न सकिन्थ्यो, ‘तिमीले एक त न्याय छ छैन भन्ने निर्क्यौल गर्ने हैसियतै राख्दैनौ । दोस्रो, न्याय छैन पनि भन्यौ र समाजका अनि राजनीतिका ठूलाठूला नामहरूसँग असहमत हुने कुरा पनि गर्यौ ।’
तर, उसले असहमत हुने कुरै झिकेको थिएन र पनि भन्न सकिन्थ्यो, ‘यस्तो भन्यौ ।’
बाहिर प्रचारमा पनि आउन सक्थ्यो, उसले त्यस्तो भन्यो । भन्न त उसले भनिसकेको थियो, ‘समाजमा न्याय छैन ।’
न्याय नभए पनि अदालतका सबै ब्रान्च र अपिलका निकायहरू उसमाथि खनिएका थिए, किनभने उसले निर्भीक भएर भनेको थियो, ‘न्याय छैन ।’
वकिलहरूले पनि भने, ‘सत्य हो, समाजमा न्यायको अभाव छ, नत्र हामी अदालत किन धाउँथ्यौँ ?’
‘हामी अदालत किन धाउँथ्यौँ ?’ भनेर जनतातिर मुख फर्काएर गम्भीर प्रश्न गरिएजस्तो गरी भनिएको भए पनि भनाइमा अलिअलि मजाक ध्वनित हुन्थ्यो । वकिलहरूको विचारमा अदालती बहस एकरसको हुन्थ्यो र यसमा अलिकति मजाकको पुट दिनु आवश्यक रहन्थ्यो ।
त्यसको पहिलो सिकार ऊ मात्र भएको थिएन । मतलब, समाजमा न्याय छैन भन्ने उसको धारणा सर्वथा गलत थिएन । तर, त्यो अदालती मामिला थियो र वकिलहरूले न्यायालयको फैसला आउनुपूर्व यो गलत वा सही धारणा हो भनिहाल्न सक्तैनथे ।
अरू धेरैले पनि त्यस्तो भनेका थिए । तर, ती कता बिलाए थाहा भएन । इतिहास नै त्यस्तो छ । त्यसैले वकिलहरू अलिअलि हाँस्दै वकालतको तयारी गरिरहेका थिए । तयारी यस्तो थियो, कसैले समाजमा न्याय छ भन्ने र कसैले समाजमा न्याय पटक्कै छैन भनेर बहस गर्ने ।
उसको बारेमा सोच्ने काम त्योबीचमा गायब थियो, भन्नुको अर्थ यो थियो, ऊ थुनामा थियो । अझ कहिलेसम्म थुनामा रहने हो त्यसको कुनै कालसीमा थिएन । बन्दीप्रत्यक्षीकरणका लागि निवेदन दिन मिल्थ्यो होला, तर स्वयम् अदालतले थुनामा पठाइसकेपछि कसले गर्ने बन्दीप्रत्यक्षीकरण ?
न्यायाधीशहरू पनि अन्योलमा थिए । समाजमा के न्याय नै नभएको हो त ? यत्रा फैसलाहरू गरिरहेको छ न्यायालयले र पनि अन्याय मेटिएको रहेनछ । त ती फैसला जुन न्यायका पक्षमा भएका छन् भनिन्थ्यो, तिनको प्रभावकारिता र मूल्य के ?
न्याय भयो भन्ने भ्रममा रहेछन् त न्यायाधीशहरू ! एउटा साधारण श्रमिकले भनिरहेथ्यो, ‘समाजमा न्याय छैन ।’ उसले त्यसो भन्नुका पछाडि ठोस कारण थियो, न्यायाधीशहरूले यो अनुभव गरिरहेका थिए । त प्रश्न बन्थ्यो, ऊ किन थुनामा छ ?
घरबाट खाना आइरहेथ्यो, उसका लागि । खोरमा थियो तापनि बाहिरको खाना खाइरहेको थियो । घरको खानामा के हुन्थ्यो ? भात र एक किसिमको पहिचान नखुल्ने थोरै तरकारी – जुन थोरै त हुन्थ्यो, तर त्यसको क्षतिपूर्तिमा एक छेउमा हुन्थ्यो सेतो नुन ।
उसलाई भोक अनुभव हुँदैनथ्यो र पनि ऊ खान्थ्यो । किनभने, ऊ न्यायको प्रतीक्षामा थियो । खाना पुर्याउन आउने पत्नीलाई भन्थ्यो, ‘न्यायको आस छ ।’
पत्नीलाई थाहा थियो – अन्याय छ समाजमा, तर न्याय पनि जीवित होला, नत्र यत्रो संसार कुन धुरीमा चलिरहेछ ?
उसले टाउको मात्र हल्लाउँथी, ‘हो’ मा । खाना खाइसकेपछि उसले पानी पिउँथ्यो । त्यो देखेर एक दिन एक प्रहरीले भन्यो, ‘खाना खाइसकेपछि तुरुन्तै पानी पिउने होइन ।’
किन नपिउने उसले त्यो भनेन । न्याय छैन भनेर उसलाई थुनामा राखेजस्तो भयो खाना खाएपछि तुरुन्तै पानी पिउन हुँदैन भन्ने कुरो । पत्नी यस कुरामा हाँसी ।
उसकी पत्नी थोरै हाँस्थी । उसलाई घरगृहस्थीको पिरलोले थिचिराखेको हुन्थ्यो । घरको पिरलो हटेको दिन ऊ मन फुकाएर हाँस्छु भनेकी थिई । त्यो दिन न्याय पाएजस्तो हुनेमा लोग्नेस्वास्नी ढुक्क थिए ।
तर, आज प्रहरीको कुरामा ऊ अलिकति हाँसी । तर, प्रहरीले दुराशयसाथ त्यसो भनेको थिएन । छेउमा बन्दुक कोखिलामा राखेर भनेको भए पनि ऊ हिंस्रक देखिएन । उसले खोरबाट भाग्ने प्रयत्न गरेमा त्यो बन्दुकको प्रयोग हुन सक्थ्यो ।
तर, खोरबाट भाग्नु जेल तोडेर भाग्नु हुने थिएन, तैपनि कर्तव्यवश प्रहरीले गोली चलाउन सक्थ्यो । बन्दुकको भरोसा थिएन । माने, बन्दुक चलाइराख्ने अभ्यासमा जवान थिएन र बन्दुक पनि पड्किहाल्ने अभ्यासमा थिएन ।
यसरी दिनचर्या चलिरहेथ्यो । न्यायको प्रतीक्षा थियो । धेरै दिन बिते, अरू थप दिन बित्दै गए । यो बहस जारी रह्यो ऊ थुनामा परेको केही दिन, तात्ततातै । तर, फेरि सेलायो । चिसियो । पछि यो बिर्सिइयो ऊ थुनामै छ । उसले कपाल र दारी पाल्नुपर्यो । मनमा चिन्ता पनि थियो, न्याय आएन, भएन । खोरमा दारी खौरने सुविधा थिएन ।
भेट्न आउनेहरू थिए, तर अरूअरू थुनामा परेकाहरूलाई । उसलाई भेट्न आउनेहरूको संख्या पातलिँदै पातलिँदै शून्यमा झरेको थियो ।
उसको बाक्लो लामो कपाल र तिलचामले दारी देखाउँदै कसैले उसलाई कुनै पहुँचवाल महात्मा मान्थे । तर, उसका लुगा गेरु रङका थिए न हातमा र गलामा रुद्राक्षको माला नै थियो । त्यसैले कसैकसैले ‘यो बहुलाहा हो, बहुलाहालाई यहाँ थुन्ने किन ? मुलुकमा एउटा राम्रो पागलखाना छैन ?’ भन्थे ।
साथमा आएकाहरू भन्थे, ‘सरकारले एउटा पूर्ण सुविधायुक्त पागलखाना बनाउने अध्ययनका लागि आयोग गठन गरेको छ ।’ सरकारलाई यो डर थियो, पागलखानामा नचिताइएका ठूलाहरूलाई पनि राख्नुपर्ने भइदियो भने ?
पागलखानातिर सरकारको रुचि थिएन । जेजति पागल थिए तिनले आआफ्नो नियति भोग्न अभिशप्त थिए ।
ऊ ती पागलमा पर्दै गएको थियो । दारीकपाल दिनानुदिन बढ्दै गइरहेका थिए । कुनै दिन – जुन दिन दारी र कपाल दुवै बनाउन पाइएला, त्यस दिन पूर्ण न्याय आएछ भन्ने मानूँला भनेर ऊ मौनव्रत बस्न थालेको छ ।
पत्नीले खाना ल्याउन छाडेकी छ । खबर आएको छ, ‘कामले भ्याइँदैन । बाहिर समाज अत्यन्त कठोर भएको छ । महँगी छ, काम पनि छैन, खान पनि छैन । अब निराहार बस्नुस् न्यायको प्रतीक्षामा । खान पाइएको दिन भन्नुहोला– न्याय आएछ ।’
न्यायालयमा उसको मुद्दा विचाराधीन छ । विचार लम्बेतान छ । मुख्य न्यायाधीश वा प्रधानन्यायाधीश कति फेरिए त्यसको हिसाब गर्न सकिन्छ, तर न्याय ?
वकिलका एक पुस्तापछि अर्को पुस्ताले उसको मुद्दालाई नयाँ तरिकाले विवेचना, विश्लेषण गरिरहेछौँ भनिरहेका छन्, भनिरहेकै छन् ।
भन्नुबाहेक अन्य कामकुरो केही भएको छैन । उसमा एउटा अर्को डर थपिएको छ, खोरबाट कतै उसलाई निकालेर ‘यो पागलखाना होइन’ भनेर सडकमा नछाडियोस्, जाने कता ?