site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गोर्खा मिडियामा देखिएको ठगी नियत : सहायक कम्पनीमार्फत सकियो झन्डै २४ करोड
फाइल तस्बिर ।

काठमाडौं । गोर्खा मिडिया नेटवर्क प्रा.लि सञ्चालनमा नै ठगीको नियत देखिएको छ । सहकारी ठगीको पैसाले सञ्चालन गरिएको गोर्खा मिडियाबाट विभिन्न कम्पनी खडा गरी करोडौँ भुक्तानी दिनुले उद्देश्य नै मिडिया सञ्चालन हो वा ठगी भन्ने प्रश्न उठेको छ ।

टेलिभिजन चलाउनका लागि करोडौँ रकम ल्याएर पनि नोवडी प्रोडक्सनलाई वार्षिक १५ करोडका दरले भुक्तानी दिनेगरी सम्झौता भए पनि आफूले नौ करोड बढी मात्र रकम भुक्तानी पाएको बयानका क्रममा रास्वपा सहमहामन्त्री विपीन आचार्यले भनेका छन् । त्यसबाहेक गोर्खा मिडियाले आर्थिक वर्ष ०७८/७९ मा मात्र त्यही नोबडी प्रोडक्सन प्रा.लि.लाई चार करोड २१ लाख ९३ हजार ७५० रुपैया पेस्कीबापत गरेको भुक्तानी अहिलेसम्म फर्फार नभएको पाइएको छ । त्यसबाहेकका अन्य आठ कम्पनीका लागि पनि थप दुई करोड ७१ लाख तीन हजार ७०२ रुपैयाँ पेस्की शिर्षकमै भएको भुक्तानी अझै फर्फार भएको छैन ।

Argakhachi Cement Island Ad

त्यसबाहेक प्रबन्ध निर्देशक समेत रहेका सेयर सदस्य रवि लामिछानेले विभिन्न कम्पनीका नाममा २३ करोड ७९ लाख ६९ हजार ७३१ रुपैयाँ भुक्तानी गरेका छन् । त्यसमा पनि उपसभापति आचार्यको नोबडी प्रोडक्सन समेत सामेल छ ।

गोर्खा मिडिया प्रा.लि.ले गोपीकृष्ण मुभिज प्रा.लि.लाई पनि ८१ लाख भुक्तानी गरेको देखिएको छ । प्रतिवेदनमा भुक्तानी विवरण मात्र उल्लेख भए पनि स्रोतका अनुसार गोपीकृष्ण रेडियो फिल्मीका लागि उक्त रकम भुक्तानी भएको हो ।

रविकी श्रीमती निकिताको रेडियो गोर्खा मिडियाले लिने भनेर भुक्तानी भए पनि रेडियोको लाइसेन्स समेत नवीकरण नगरेको स्रोतको दाबी छ । गोर्खा मिडिया प्रा.लि.ले कर्मचारी पेस्की शिर्षकमा शम्भु गुरागाईंलाई एक लाख तीन हजार १९ भुक्तानी गरेको छ । आर्थिक वर्ष ०७७/७८ मै भुक्तानी गरेको उक्त रकम आर्थिक वर्ष ०७८/७९ मा पनि भुक्तानी भएको छैन ।

त्यसबाहेक रविले लिएको १७ लाख विपीनले लिएको झन्डै १० लाखको पनि पेस्की फर्छ्यौट भएको छैन ।

कम्पनीमा कुनै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको देखाइएको छैन । कम्पनीमा आएको व्यक्तिगत ऋण निर्व्याजी रहेको उल्लेख छ । तर, आर्थिक वर्ष २०७८/०७९ मा ब्याजबापत एक करोड ५५ लाख ५२ हजार ९८० भुक्तानी गरिएको देखिएको छ । यी तथ्यहरूले नै गोर्खा मिडियाले ग्यालेक्सी टीभी ठगीकै उद्देश्य राखेर खोलिएको आशंका जन्माउँछन् ।

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १७:३१
प्रतिक्रिया दिनुहोस्