site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
अस्थिर चलचित्रकर्मी, आत्मालोचना गर्ने कि टकटकिने ?
SkywellSkywell

काठमाडौं । नेपाली चलचित्र उद्योगमा स्थिरता कति छ ? भित्री कारण अनेक होलान्, तर आवरणमा स्थिरता कमै देखिन्छ । निर्माण घोषणा गरिएका चलचित्र बन्दैनन् । लक भइसकेका कलाकारले छोड्छन् । निर्देशकसम्म नै परिवर्तन हुन्छन् ।

रिलिज डेट लक गरिसकेका चलचित्रको मिति नै परिवर्तन हुन्छ । यसको पछिल्लो उदाहरणका रूपमा ‘मायावी’, ‘सानो संसार’, ‘आउट ल : दफा २१९’ र ‘ह्रस्व दीर्घ’लाई लिन सकिन्छ ।

‘मायावी’ कात्तिक १५ गते रिलिज हुने तय थियो । तर, अन्तिम समयमा आएर यसले रिलिज डेट परिवर्तन गर्‍यो । अब यो चलचित्र पुस २६ गते रिलिज हुनेछ ।

Dabur Nepal
NIC Asia

‘ह्रस्व दीर्घ’ पटक–पटक रिलिज डेट परिवर्तन गर्दै आएको चलचित्र हो । यसको रिलिज डेट कहिले अगाडि सर्दै आएको छ त कहिले पछि सर्दै आएको छ । अहिले कात्तिक ३० गते रिलिज हुने भनिएको यो चलचित्र असोज ११ गते आउने तय थियो । त्यसपछि फेरि संविधान दिवसको अवसर पारेर असोज ३ मा आउने भन्दै निर्माणपक्षले प्रचार गरेको थियो ।

‘आउट ल : दफा २१९’ असोज ३ गते रिलिज हुने निर्माणपक्षले जनाएको थियो । तर, यो चलचित्र पनि पूर्वनिर्धारित मितिमा रिलिजमा आउन सकेन ।

चलचित्र ‘सानो संसार’ले पनि अन्तिम समयमा आएर रिलिज डेट परिवर्तन गर्‍यो । असोज १७ गते घटस्थापनाका दिन रिलिज हुने भनिएको यो चलचित्र एक हप्ता अगाडि सरेको छ । अर्जुन कुमार निर्माता रहेको यो चलचित्र अब असोज ११ गते प्रदर्शनमा आउनेछ ।

यी तीन चलचित्रले नेपाली चलचित्रकर्मी आफैँमा स्थिर र ढुक्क नरहेको प्रस्ट पार्छ । यसका पछाडि विभिन्न कारण रहेको चलचित्रकर्मी बताउँछन् ।

चलचित्र ‘मायावी’ निर्देशक दिवाकर भट्टराई तीन चलचित्र एकैदिन रिलिज हुने भएपछि आफू पछि हटेको बताउँछन् । “म आउनुभन्दा अगाडि एक्टरले रिलिज डेट लिएको थियो । तर, पछि त्यही डेटमा ‘पूर्णबहादुरको सारङ्गी’ पनि आउने भएपछि म पछि हटेको हुँ,” दिवाकर भन्छन्, “‘नरसिंहा अवतार’को छायांकन पनि यही समयमा परेका कारण पनि म पछि हटेको हुँ । यदि, छायांकन नभएको भए म पछि हट्ने थिइनँ ।”

दुईभन्दा धेरै चलचित्र एकैदिनमा आउँदा शो धेरै नपाउने समस्या हुने उनको भनाइ छ । तीन करोड लगानी भएको चलचित्र देशभर रिलिज गरेर १५/२० शोमा सीमित हुँदा लगानी सुरक्षित गर्न कठिन हुने उनी बताउँछन् ।

“वितरकसँग सल्लाह हुँदा उताबाट पनि तीनवटा चलचित्र एकैदिन रिलिज हुँदा स्क्रिन धेरै पाइँदैन भन्ने भयो । निर्देशक वा निर्मातासँगको इगोका कारण पनि चलचित्र एकैदिन भिडिरहेका हुन्छन्,” उनले भने, “अरूको पैसा हो, लगाइदिऊँ न भन्ने गैरजिम्मेवारपनका कारण पनि तीनवटा चलचित्र एकैदिन आइरहेका हुन्छन् । तर, मैले त्यसो गर्न चाहिनँ ।” 

मिति परिवर्तन हुँदैमा त्यति धेरै असर नपर्ने उनको जिकिर छ । कन्टेन नै मुख्य विषय भएको भन्दै चलचित्र बलियो भए अरू कुराले फरक नपार्नेमा उनी जोड दिन्छन् । “नेपालमा फलानो हिरोको चलचित्र यो दिन आउँदै छ, फलानो निर्देशकको चलचित्र यो दिन आउँदै छ भनेर पर्खिने कोही छैन,” उनी भन्छन् ।

बलिउडमा पनि ठूला स्टार र चलेका ब्यानरकै सिनेमाका रिलिज डेट परिवर्तन हुने गरेको उनी सुनाउँछन् । पछिल्लो उदाहरण ‘पुष्पा–२’ लाई दिँदै उनी भन्छन्, “त्यस्ता ठूला स्टारका चलचित्र त सरिरहेका छन् । नेपालमा त कुनै त्यस्तो कलाकारको त्यति धेरै स्टारडम पनि छैन । कुनै त्यस्तो निर्देशक पनि छैन, जसको चलचित्र म फलानो मितिमा आउँदै छ र हेर्न जान्छु भनेर बस्ने ।”

राम्रो चलचित्र बनेको/बनाएको अवस्थामा मिति अगाडि वा पछाडि सर्दैमा केही फरक नपर्ने उनी बताउँछन् ।

निर्माण सकिएर टेक्निकल रूपमा चलचित्र रिलिज हुन नसक्नु र निर्माण नै सम्पन्न नभएर पछि सर्नुमा निर्देशक र निर्माता दुवैको कमजोरी हुने निर्देशक सुवर्ण थापा टिप्पणी गर्छन् । मेकरलाई कुन समयमा आफ्नो चलचित्रको काम हुन्छ भन्ने ज्ञान हुनुपर्ने उनी बताउँछन् ।

“प्रि–प्रोडक्सनको काम कहिले हुन्छ, छायांकन कहिले हुन्छ, प्रोस्ट–प्रोडक्सनको काममा कति समय लाग्छ भन्ने योजना बनाएर काम गर्नुपर्छ,” सुवर्ण भन्छन्, “यदि, हामीले योजनाबद्ध रूपमा काम गर्न सक्दैनौँ भने त्यो निश्चय नै हाम्रो कमजोरी हो । हामी आत्मालोचना गर्दैनौँ होला, त्यो बेग्लै कुरा हो ।” 

चलचित्र ‘ह्रस्व दीर्घ’ र ‘आउट ल : दफा २१९’ ले समयमै काम नसकिएकाले थप समय चाहिएको भन्दै पूर्वनिर्धारित समयमा प्रदर्शनमा आउन नसक्ने बताएका थिए । ‘ह्रस्व दीर्घ’ले भीएफएक्सको काम नसकिएकाले समयमै आउन सकेको बताएको थियो । ‘आउट ल ः दफा २१९’ले केही छायांकन र पोस्टको काम बाँकी रहेकाले तोकिएको समयमा रिलिज सम्भव नरहेको भन्दै माफी मागेको थियो ।

आफूले क्यालेन्डर बनाएर त्यसलाई पछ्याउँदै जानुपर्नेमा सुवर्णको जोड छ । “ओलम्पिकमा सहभागी हुनु पनि छ । सहभागी हुन्छु भनेर नाम पनि टिपाउने तर तयारीचाहिँ नगरेजस्तो भयो,” उनी भन्छन्, “ओलम्पिकमा तयारी नगरेपछि जसले तयारी गरेको छ उसले जित्छ । यस्तै भइरहेको छ हाम्रोमा, काम समयमा नगर्ने तर पहिल्यै रिलिज डेट लिएर बस्ने ।”

अनुभवी मेकरले कुन समयमा कुन चलचित्र रिलिज हुन्छ, कुनकुनसँग प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने पहिला नै तयारी गरिसक्ने उनको भनाइ छ । “म सिनेमाको प्रि–प्रोडक्सनमा छु भने मसँगै कुनकुन चलचित्र छायांकनमा जाँदै छन्, को निर्देशकको कुन जानराको चलचित्र हो त्यो मलाई प्रि–मा हुँदै थाहा हुुनुपर्छ,” उनी भन्छन्, “मेरा सम्भावित प्रस्पिर्धी यी हुनसक्छ, यो चलचित्र यो डेटमा आउन सक्छ, यो जानराको चलचित्रसँगै म आउने कि नआउने, मेरो चलचित्रका दर्शक र मसँगै आउन सक्ने चलचित्रका लक्षित दर्शक को हुन् भनेर मैले पूर्वयोजना बनाएर काम गर्न सकिनँ भने कमजोरी पनि मेरै हो ।”

इन्टरनेसनल फेस्टिभलमा जाने चलचित्रले झनै धेरै पूर्वतयारी र टाइट सेड्युलमा चल्नुपर्ने उनी बताउँछन् । अधिकांश फेस्टिभलमा करिब तीन महिनाअगाडि नै फाइनल कपी बुझाइसक्नुपर्ने उनी सुनाउँछन् । कुन फेस्टिभलले कहिले सिनेमा आह्वान गर्छन्, कहिलेसम्म सिनेमा बुझाउनुपर्छ, त्यसपछि नेपाल रिलिज कहिले गर्नेजस्ता कुराको क्यालेन्डर बनाएर सोहीअनुसार चल्नुपर्ने र नसके त्यसको कमजोरी स्वीकार्न तयार हुनुपर्ने सुवर्णको धारणा छ ।

सिनेमाको क्यालेन्डर बनाएर काम गर्न नसक्ने मेकरले कस्तो सिनेमा बनाएको होला भनेर प्रश्न उठाइनु स्वाभाविक भएको भन्दै उनी स्पष्ट पार्छन्, “आफैँले तोकेको समयमा चलचित्र बनाउन सकिँदैन भने यसबारे प्रश्न उठ्नु स्वाभाविक हो । कमजोरी मेरो हो वा होइन भनेर मेकरले आत्मालोचना गर्नुपर्छ ।”

निर्माता प्याट्रिक सुवेदी नेपालमा कलाकार परिवर्तन, क्यालेन्डरअनुसार काम नसक्नु र रिलिज डेट परिवर्तन गर्नु सामान्य भए पनि विदेशमा भने यसले ठूलो समस्या सिर्जना गर्ने बताउँछन् । नेपालमा रिलिज डेट परिवर्तन हुँदा विदेशमा नेपाली चलचित्र रिलिज गर्न समस्या हुने उनको अनुभव छ ।

“नेपालमा त रिलिज डेट परिवर्तन नहुँदा वितरकलाई, हललाई ‘यस्तोयस्तो भयो दाइ’ भन्दा सबैले बुझिदिन्छ,” प्याट्रिक भन्छन्, “तर, विदेशमा त्यस्तो हुँदैन । दुई महिनाअगाडि हलसँग सम्झौता गर्नुपर्छ । एकपटक सम्झौता गरेपछि त्यसलाई परिवर्तन गर्न कठिन हुन्छ ।”

विश्वभरबाट आएका चलचित्र देखाउने हलमा मुस्किलले गरेको सम्झौताबाट पछि हट्न कठिन हुने उनको अनुभव छ । नेपालमा भने अन्तिम समयमा आएर काम सकिएन भन्ने, रिलिज डेट परिवर्तन गर्ने, एकैदिन धेरै चलचित्र आए भनेर पछि हट्ने गरिएको उनी सुनाउँछन् ।

“अमेरिकामा पनि शुक्रबार नै चलचित्र रिलिज हुन्छन् । हामीले ‘छक्का पञ्जा’ एकैदिनमा रिलिज गर्ने भनेर थिएटर चेनसँग ‘ठूलो चलचित्र हो, यस्तो हिस्ट्री छ’ भनेर बल्ल मनाएका छौँ,” प्याट्रिक भन्छन्, “यदि, यो चलचित्रको काम सकिएन, त्यसैले दसैँमा रिलिज गर्न सकिएन भन्ने हो भने उता हामीले गरेको सम्झौता के हुन्छ ?”

कलाकार परिवर्तनलाई पनि सामान्य मानिए पनि त्यसले ठूलो असर गर्ने उनको भनाइ छ । चलचित्र छायांकनमा जानुअगाडि र पछाडिको कलाकारको लाइनअप नै फरक हुने गरेको भन्दै यसले समेत ठूलो असर गरिरहेको उनी सुनाउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  ०६:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu