काठमाडौं । राष्ट्रिय बाल दिवस २०८१ का अवसरमा किडपावर नेपालको आयोजना र लक्ष्मी सन्राइज बैंकको सौजन्यमा २०० भन्दा बढी किशोरीलाई सुरक्षा र आत्मरक्षा तालिम प्रदान गरिएको छ । उपत्यकामा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्दै काठमाडौं, भक्तपुर र ललितपुरका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा–८, ९ र १० का किशोरीलाई यो तालिम दिइएको हो ।
गान्धी आदर्श माध्यमिक विद्यालय, श्री सिद्धि मंगल माध्यमिक विद्यालय र आदर्श माध्यमिक विद्यालयका किशोरीले तालिम लिएका हुन् । तालिम भदौ २५ देखि २८ गतेसम्म सञ्चालन गरिएको बताइएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, शिक्षकसहित लक्ष्मी सन्राइज बैंकका शाखा प्रमुखहरूको उपस्थितिमा तालिम सञ्चालन गरिएको जनाइएको छ ।