site stats
बाह्रखरी :: Baahrakhari
देश
अधिकार माग्दै अर्धनग्न प्रदर्शन

काठमाडौं । समानुपातिक समावेशी प्रतिनिधित्वलगायत दलित समुदायको आत्मसम्मान र सशक्तीकरणका निम्ति संविधानप्रदत्त अधिकार कार्यान्वयनको माग गर्दै युवाले अर्धनग्न प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघरमा विगत ३९ दिनदेखि आन्दोलन गरिरहेका युवाले शनिबार अर्धनग्न जुलुस गर्दै आफ्ना मागबारे पुनः ध्यानाकर्षण गराएका हुन् ।

अर्धनग्न र अरू सहभागीले माइतीघरदेखि बानेश्वरसम्म विभिन्न नारा लगाएर प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले ‘प्रजातन्त्र आयो दलितलाई खै ?’ ‘लोकतन्त्र आयो दलितलाई खै ?’ ‘गणतन्त्र आयो दलितलाई खै ?’ ‘संविधान आयो दलितलाई खै ?’ ‘व्यवस्था फेरियो दलितलाई खै ?’ जस्ता नारा लगाएका थिए ।

Argakhachi Cement Island Ad

दलितका लागि दलित अभियान नेपालका संयोजक खगेन्द्र सुनारले दलितलाई समान अवसर र अधिकारको पालना नभएको भन्दै आफूहरू ३९ दिनदेखि आन्दोलनमा रहे पनि हालसम्म सम्बन्धित निकायबाट कुनै सुनुवाइ नगरिएको गुनासो गरे । त्यसैकारण अर्धनग्न प्रदर्शन गर्नुपरेको उनले बताए ।

संविधानको व्यवस्थाअनुसार सबै तहका मन्त्रिपरिषद्, निकाय तथा नियुक्तिलगायत राज्यका सबै क्षेत्रमा जातीय जनसंख्याका आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व निश्चित गरिनुपर्ने, शिक्षा, स्वास्थ्य, रोजगारी, भूमि, आवासलगायत अधिकारको कार्यान्वयन गरिनुपर्ने माग राख्दै उनीहरू आन्दोलित छन् । रासस

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  २०:४०
प्रतिक्रिया दिनुहोस्