
काठमाडौं । स्काईवेल उत्पादक कम्पनी र नेपालका लागि आधिकारीक बितरकले ‘नक्कली बिक्रेता’दाबी गरेको भन्दै एलआरआर मोटर्स र एलआरआर ग्रुपलाई चेतावनी दिएको छ ।
नेपालमा जी मोटर्सले गत वैशाखमा आधिकारिक रुपमा स्काईवेलको विद्युतीय गाडी ईटी५ भित्र्याएर बिक्री गर्दै आएको बताएको छ । हालैसम्पन्न नाडा अटो सोमा सार्वजनिक गर्दै कम्पनीले स्काईवेलको बीई११ मोडलका दुई भेरियन्ट पनि बिक्री थालेको छ ।
कम्पनीले ६२० किलोमिरट रेन्जदिने ईटी५, ५२० र ४१० किलोमिटर दुई रेन्ज विकल्पमा उपलब्ध बीई११ मोडल आधिकारीक रुपमा बिक्री गर्दै आएको छ । यस्तोमा एलआरआर मोटर्स र एलआरआर ग्रुपले भन्सार प्रायोजनका लागि भनेर आफुलाई आधिकारिक आयातकर्ता दाबी गर्दै मूल्यसूची निकालेको भन्दै जी मोटर्सले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
स्काईवेलको उत्पादक चिनियाँ कम्पनी नानजिङ गोल्डेन ड्र्र्यागन बसले समेत एक विज्ञप्ति जारी गर्दै जी मोटर्स मात्रै आधिकारिक आयातकर्ता एवं बिक्रेता भएको बताएको छ । जी मोटर्सका अनुसार उत्पादक कम्पनीको निर्यात हेर्ने विभागका उपप्रबन्ध निर्देशकले विज्ञप्ति जारी गर्दै स्काईवेलको आयात, मूल्य निर्धारण एवं मार्केटिङ नगर्न चेतावनी दिएको हो ।
हङकङस्थित एजेन्ट कम्पनीसँग झुटो सम्झौता गर्दै त्यसलाई आधार बनाएर वाणिज्य विभागसँगको मिलेमतोमा स्काईवेलका कार तथा एसयूभी आयात गर्न खोजिएको आरोप जी मोटर्सको छ ।
“हालसम्म आधिकारीक स्काईवेलका उत्पादक कम्पनी एवं एक्स्पोर्ट डिभिजन हेर्ने प्रतिनिधीले नेपालमा जी मोटर्सबाहेक अरु कोही पनि आधिकारीक बिक्रेता छैन भन्ने लिखित जानकारी बाणिज्इ आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग र भन्सार विभागलाई जानकारी गराइसकेको छ,” कम्पनीले विज्ञप्ती जारी गर्दै भनेको छ, “यस्तो अवस्थमा आम ग्राहकलाई भ्रम फैलाउने, जी मोटर्सको ख्यातीलाई असर पुर्याउने, अर्बाैंको लगानी डुबाउने प्रपञ्च गर्ने कार्य नगर्न एलआरआर कम्पनी एवं ग्रुपलाई अनुरोध छ ।”
जी मोटर्सले यस बिषयमा कानुनी उपचारमा जाने चेतावनी समेत दिएको छ । स्काईवेलको उत्पादक चिनियाँ कम्पनी नानजिङ गोल्डेन ड्र्र्यागन बसले नेपालमा जी मोटर्स बाहेक अन्य कम्पनीसँग आफुले कुनै सम्झौता नगरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।
एलआरआर मोटर्सले सिन–ईआई हङकङ कम्पनी लिमिटेडसँग गरेको सम्झौता मान्य नहुने नानजिङ गोल्डेन ड्र्र्यागन बसले जनाएको छ ।