site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
'नेपालको ऊर्जा क्षेत्रमा लगानीको पर्याप्त अवसर छ, तर नीतिमा सुधार आवश्यक'

काठमाडौं । ऊर्जा उत्पादकहरूले नेपालको ऊर्जा क्षेत्रमा लगानीको पर्याप्त अवसर रहेको बताएका छन् । काठमाडौंमा जारी नेपाल इन्फ्रास्ट्रक्चर समिटको दोस्रो दिन ऊर्जा र जलस्रोत विषय सत्रमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रमा लगानीको अवसरै अवसर रहेको बताए ।

उनले नेपालको ऊर्जा क्षेत्रमा पुँजी लगानी गर्नेदेखि आवश्यक मेसिनरी वस्तु उत्पादन गर्नेसम्मलाई अवसर रहेको बताए ।

अध्यक्ष कार्कीले २८ हजार ५०० मेगावाट उत्पादन गर्दा ४६ खर्ब रुपैयाँ लगानी चाहिने र यसैअनुसार यससँग जोडिने अन्य व्यापार व्यवसायका लागि पनि धेरै ठूलो अवसर आउने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"२८ हजार मेगावाट उत्पादनको लागि ४६ खर्ब रुपैयाँ लगानी आवश्यक छ । यसमा बैंक, इन्स्योरेन्स र रिइन्स्योरेन्सका लागि धेरै ठूलो लगानीको अवसर हुनुका साथै सप्लायर्स, डिजाइनर, कन्सल्ट्यान्टलगायतलाई पनि त्यत्तिकै ठूलो अवसर छ," उनले भने ।

तर, नेपालमा ऊर्जा पूर्वाधारको विकासका लागि सरकारले नीतिगत परिवर्तन गर्नुपर्ने उनको भनाइ छ । 

“अहिले हामी १४ मन्त्रालय र ४० भन्दा बढी विभागमा पुगेर बल्ल एउटा आयोजना पूरा गर्न सक्छौँ । सरकारले २८ हजार मेगावाट उत्पादन गर्ने लक्ष्य राखेको छ । २८ हजार मेगावाट उत्पादनको सपना पूरा गर्न एकद्वार प्रणालीमार्फत काम हुने वातावरण बनाउनुपर्छ,” उनले भने ।

अहिले धेरै ठाउँमा विद्युत् आयोजना सम्पन्न भए पनि प्रसारणलाइन नभएका कारण आयोजनाको विद्युत् खेर गइरहेको कार्कीे बताए । त्यसका लागि सरकारले निजी क्षेत्रलाई प्रसारणलाइन निर्माणको जिम्मा दिनुपर्ने पनि उनको भनाइ छ ।

त्यस्तै, उनले नेपाली निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिए भारतीय र बंगलादेशी कम्पनीसँग सहजरूपमा सम्झौता गरेर विद्युत् बेच्न सक्ने भन्दै त्यसका लागि सरकारले नीति बनाइदिनुपर्ने बताए ।

कार्यक्रममा विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले नियामकीय ढाँचामार्फत निजी क्षेत्रलाई सहजीकरण गर्ने बताए । त्यस्तै, ह्वलिङ चार्ज, ओपन एक्सेस र प्रतिस्पर्धी बजारको लागि आयोगले काम गरिरहेको पनि अध्यक्ष धिताललको भनाइ थियो ।

नेपालमा विदेशी लगानीमा २१६ मेगावाटको आयोजना निर्माण गरिरहेको नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत योङजिङ होङले नेपालमा धेरै निकायसँगका विभिन्न चरणमा धेरै चुनौतीहरू पार गर्दै आयोजना निर्माण भइरहेको बताए ।

एसियाली विकास बैंक (एडीबी) की ऊर्जा क्षेत्र अधिकृत सुजाता गुप्ताले नेपालको प्रसारणलाइन निर्माणमा एडीबीले ४० प्रतिशत लगानी गरिसकेको र आगामी पाँच वर्षभित्र ऊर्जा क्षेत्रमा थप १.५ बिलियन डलर लगानी गर्ने योजना रहेको बताइन ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै इप्पानका सल्लाहकार कुमार पाण्डेले नेपालमा आयोजना बनाउँदा प्रवर्द्धकले सामना गर्नुपर्ने चुनौतीहरूबारे बताएका थिए ।

अर्का कार्यपत्र प्रस्तुतकर्ता केशवध्वज अधिकारीले नेपाल जलस्रोतमा धनी देश भए पनि ऊर्जा उत्पादन र उपभोगमा भने पछि परेको विवरणहरू प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १३:२३
प्रतिक्रिया दिनुहोस्