site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सांसदलाई उपत्यका नछोड्न कांग्रेसको ह्वीप, उपसभामुखमाथि कारबाहीको संकेत

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले आफ्ना सांसदलाई उपत्यका नछोड्न ह्वीप जारी गरेको छ । प्रमुख सचेतक श्याम घिमिरेले सबै सांसदलाई एसएमएसमार्फत ह्वीप जारी गरेका हुन् ।

उनको ह्वीपमा जुनसुकै बेला पनि सांसदहरूको उपस्थिति आवश्यक हुन सक्ने भन्दै उपत्यका नछोड्न भनिएको छ ।

Argakhachi Cement Island Ad

सरकारमा रहेका प्रमुख दल नेपाली कांग्रेस र एमालेले उपसभामुखले नैतिकताका आधारमा राजीनामा नदिए कारबाहीको तयारी गरेका छन् । असम्बन्धित व्यक्तिहरूलाई अमेरिका पठाइदिने भनेर पदीय आधारमा अमेरिकी दूतावासलाई पत्र लेखेको र उनीहरूबाट आर्थिक लाभका विषयमा ‘डिल’ भएको भनेर रास्वपाभित्रैबाट सार्वजनिक भए पनि उपसभामुखले भने आफूलाई थाहा नभएर पत्र लेखेको जवाफ दिएकी छन् ।

त्यसमा उनले नैतिकताका आधारमा राजीनामा दिएमा पद अनुकूलको आचरण नगरेको प्रस्ताव संसदेमा पेस गर्ने कांग्रेस–एमालेको तयारी छ । संविधानको धारा ९१ को उपधारा ६ ले सभामुख र उपसभामुखको पद रिक्त हुने व्यवस्था गरेको छ । जसमा पद अनुकूल आचरण नगरेको प्रस्ताव दुईतिहाइ बहुमतबाट पारित भए पद रिक्त हुने व्यवस्था छ ।

“देहायको कुनै अवस्थामा प्रतिनिधिसभाको सभामुख वा उपसभामुखको पद रिक्त हुनेछ,” संविधानको धारा ९१ (६) को खण्ड (ग)मा भनिएको छ, “निजले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधिसभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतबाट पारित भएमा ।”

नेकपा एमालेले यसअघि मंगलबार नै आफन सांसदहरूलाई उपत्यका नछोड्न ह्वीप जारी गरिसकेको छ ।

 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १९:०८
प्रतिक्रिया दिनुहोस्