site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रहरी नियन्त्रणबाट फर्किएर पूर्वमुख्यमन्त्री कार्की फेरि बसे अनशन

विराटनगर । कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की फेरि आमरण अनशनमा बसेका छन् । मंगलबार बेलुका प्रहरीले हस्तक्षेप गरी नियन्त्रणमा लिएर निवास छाडे लगत्तै फर्किएर पुनः अनशन बसेका हुन् ।

आजै अपराह्नदेखि कार्कीले कोसी प्रदेशसभा सचिवालय पूर्वपट्टीको वनसखण्डी मन्दिर अगाडि अनशन थालेका थिए । तर, साँझ निषेधित क्षेत्रभित्र अनशन गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई प्रहरी भ्यानमा राखेर कार्की निवास टंकीसिनवारी छाडिएको थियो । लगत्तै सहयोगीहरूका साथ फर्किएर अनशन सुरु गरेका छन् ।

Argakhachi Cement Island Ad

साँझ कार्कीका समर्थक र प्रहरीबीच घम्साघम्सी र झडप भएको थियो । मोरङ प्रहरीका एसपी नवराज कार्की नेतृत्वको टोलीले अनशनकारी र समर्थकलाई नियन्त्रणमा लिएको थियो ।

कोसी सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार कटौती गरेको, गरिब जेहेन्दार विद्यार्थीलाई दिने छात्रवृत्ति हटाएको, महिला स्वयंसेविकाको प्रोत्साहन भत्ता रोकेको, सुकुम्वासीलाई जग्गा खरिद गर्दा दिने बैंक ब्याज अनुदानसम्बन्धी व्यवस्था बजेटमै कटौती गरेको विषयमा विरोध जनाउँदै कार्कीले आमरण अनशन सुरु गर्नुपरेको बताएका छन् ।

एमालेका हिक्मत कार्की नेतृत्वको सरकारले जनपक्षीय कार्यक्रम कटौती गरेर नेता र कार्यकर्ता पोस्ने गरी वितरणमुखी कार्यक्रम ल्याएको भन्दै पूर्वमुख्यमन्त्री कार्कीले आमरण अनशन सुरु गरेको बताएका छन् ।  विराटनगरमा सुरु भएको शैलजा आचार्य हृदय रोग केन्द्र र केशलिया करिडोरको बजेटसमेत हटाइएको बताए ।

कार्की अनशन बस्ने भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशसभा र प्रदेश सरकारका कार्यालय आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ‌ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले स्थनीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम निषेधाज्ञा जारी गरिएको जनाएका छन् ।‌ पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोसी अस्पतालको चोक क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोक क्षेत्र, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटर क्षेत्र, प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि ३०० मिटर क्षेत्र, र जिल्ला प्रशासन कार्यालय, मोरड डॉफे चोकदेखि पूर्व निषेधाज्ञा जारी गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  २१:२५
प्रतिक्रिया दिनुहोस्