साहित्य

मैले सपना देखेँ
उसले मलाई देखी
देखादेख भयो हाम्रो
तर, आँखा बन्द थिए रे,
साक्षी रहिछ विपना ।
मनमा जे थियो
मुखमा त्यो थिएन
त्यहाँ सपना थिइन
आँखा खुल्लै थिए रे,
दर्शक रहिछ विपना !
सपनासँग रंगिने म
मसँग नांगिने ऊ
हाम्रो फिस्टोले
बाँस पुतुक्क नुगाएको कहाँ होला ?
जिज्ञासा राख्छे विपना ।
सपना र मेरो रोमान्स
आउँदैन रे पर्दामा
गोपनीयताको शपथ
नचिप्लियोस् कुरकुरे बैँसमा जस्तो
कामना गर्छे विपना ।
अनि,
सपना र मेरो सम्बन्ध
अन्त हो कि अनन्त
जीवन हो कि मृत्यु
अनुसन्धानको रोटी बेल्न
ध्यानस्थ छे विपना ।
(अर्घाखाँची)
प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१ ०५:५५
प्रतिक्रिया दिनुहोस्