site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बंगलादेशको ‘दोस्रो स्वतन्त्रता’मा निसास्सिएको लोकतन्त्र
SkywellSkywell

काठमाडौं । राजनीतिक अस्थिरताबाट गुज्रिरहेको बंगलादेश यतिखेर धार्मिक कट्टरताको चपेटामा पनि परेको छ । शेख हसिना नेतृत्वको अवामी लिग सरकारको पतनपश्चात बंगलादेशका राजनीतिक पात्र तथा आफूलाई धर्म निरपेक्ष मान्नेहरू मारमा परेका छन् ।

यसको एक उदाहरण हुन्, ढाका विश्वविद्यालयका कला संकायका डिन प्रोफेसर अब्दुल बशीर । १९ अगष्टमा विद्यार्थीहरूले प्रोफेसर बशिरलाई जर्बजस्ती राजीनामा दिन लगाए ।

मुस्लिम धर्मावलम्बीको पर्व रमजानका दिन विश्वविद्यालय हाताभित्र कुरान पढ्न नदिएको भन्दै विद्यार्थीले उनलाई राजीनामा दिन बाध्य पारे । विद्यार्थीहरूले प्रोफेसरलाई राजीनामा दिन बाध्य मात्र गराएनन् उनकै अगाडि कुरान पढेर भिडियो खिचे । उक्त भिडियो सामाजिक सञ्जालमा राख्दै ‘भाइरल’ बनाए ।

Dabur Nepal
NIC Asia

धर्म निरपेक्ष वा अवामी लिगसँग नजिक भएको भन्दै मुस्लिम शिक्षकहरू बंगलादेशमा यतिखेर प्रताडित हुनुपरेको छ । यससँगै बंगलादेशमा यतिखेर अल्पसंख्यकलाई पनि निशाना बनाइँदैछ । बंगलादेश हिन्दु, बुद्धिस्ट, क्रिश्चियन युनिटी काउन्सिल’को विद्यार्थी शाखाका अनुसार हालसम्म देशभरबाट ४९ जना गैरमुस्लिम शिक्षकलाई जर्बजस्ती राजीनामा दिन लगाइएको छ ।

निसास्सिएको लोकतन्त्र
आरक्षणको विषयमा सुरु भएको विद्यार्थी आन्दोलनले शेख हसिनालाई सत्ताच्यूत गरेपछि अन्तरिम सरकारको नेतृत्व सम्हाल्न आइपुगे, नोबल पुरस्कार विजेता मोहम्मद युनुस । सत्ताको कमान सम्हालेसँगै युनुसले भनेका थिए, ‘बंगलादेशले दोस्रोपटक स्वतन्त्रता प्राप्त गरेको छ ।’

तर, यो दोस्रोे स्वतन्त्रताका लाभार्थी तमाम कट्टरपन्थी संगठन हुँदैछन् । युनुस नेतृत्वको सरकारले २८ अगष्टमा ‘जमात–ए–इस्लामी बंगलादेश’ र त्यसको विद्यार्थी संगठनमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।

‘जमात–ए–इस्लामी बंगलादेश’को स्थापना २६ अगष्ट १९४१ मा भएको थियो । बंगलादेशको धर्म निरपेक्ष संविधानको उल्लंघन गरिरहेको बताउँदै सन् २०१३ मा बंगलादेशको उच्च अदालतले ‘जमात–ए–इस्लामी बंगलादेश’लाई चुनाव लड्न प्रतिबन्ध लगाएको थियो ।

वर्तमान अस्थिरताबीच बंगलादेश एक अर्को चुनौती सामना गरिरहेको छ जसको नाम हो ‘हिज्ब उत तहरीर’ । ‘इस्लामिक स्टेटस’(आईएस)बाट प्रेरित यो कट्टरपन्थी संगठनको प्रभाव बंगलादेशमा तीव्र गतिमा बढिरहेको छ ।

९ अगष्टमा प्रतिबन्धित ‘हिज्ब उत तहरीर’का समर्थकले ढाकामा एउटा र्‍याली आयोजना गरे । मुस्लिम धार्मिक ग्रन्थमा आधारित शरिया कानुनका आधारमा बंगलादेशमा खलीफा स्थापना गर्नुपर्ने उनीहरूको माग थियो । साथसाथै विदेशी कम्पनीलाई बंगलादेशबाट हटाएर गैर–मुस्लिम राज्यसँग गरिएका रणनीतिक सम्झौता÷साझेदारी रद्द गर्नुपर्ने आह्वान गरिरहेको थियो, ‘हिज्ब उत तहरीर’ ।

यो संगठन बंगलादेशमा मात्र नभई विश्वभरमा ‘शरिया’ कानुन लागु गर्नुपर्ने इच्छा राख्छ । संगठनको यही विचारधाराका कारण अक्टोबर २००९ मा बंगलादेशले यसमाथि प्रतिबन्ध लगाएको थियो ।

‘हिज्ब उत तहरीर’ माथि कयौँ अरब देशले पनि प्रतिबन्ध लगाएका छन् । तर, आज यसका समर्थकको हौसला बढेको छ, उनीहरू ढाकासहित बंगलादेशका अनेक सहरमा ‘शरिया’ कानुनको माग गर्दै र्‍याली निकालिरहेका छन् ।

जेल मुक्त हुँदैछन् आतंककारी
प्रतिबन्धित आतंकवादी संगठन ‘अन्सारुल्लाह बांग्ला टिम’का प्रमुख मुफ्ती शजीमुद्धिन रहमानी २६ अगष्टको बिहान जमानतमा रिहा गरिए । रहमानीलाई राजीव नामका एक ब्लगरको हत्या आरोपमा सन् २०१३ मा सजाय सुनाइएको थियो । बंगलादेशका धर्मनिरपेक्ष लेखक, ब्लगरमाथि भएको हमलाका पहिलो शिकार हुन्, राजीव ।

ब्रिगेडियर जनरल अब्दुल्लाहिल अजमान आजमीलाई अन्तरिम सरकारले बंगलादेशको बागडोर सम्हाल्नुअगावै रिहा गरिदियो । आजमीको पाकिस्ताको गुप्तचर संस्था ‘आईएसएस’सँग घनिष्ठ सम्बन्ध छ । आजमी ‘जमात–ए–इस्लामी’का पूर्वप्रमुख गुलाम आजमका छोरा हुन् ।

सन् १९७१ को बंगलादेशको स्वतन्त्रता संग्रामका दौरान पाकिस्तानी सेनालाई सहयोग गर्ने व्यक्ति हुन्, गुलाम आजम । आजमले सन् २००० सम्म ‘जमात–ए–इस्लामी बंगलादेश’को नेतृत्व गरेका थिए । त्यसपछि उनीमाथि युद्ध अपराधको मुद्दा चलाइयो ।

बंगलादेशको स्वतन्त्रता आन्दोलनको विरोध गरेको र पाकिस्तानी सेनाका लागि अर्धसैनिक समूह बनाएको आरोप लगाइएको थियो, उनीमाथि । बंगलादेशको स्वतन्त्रता आन्दोलनलाई आजम भारतले रचेको षडयन्त्र भन्ने गर्थे ।

संग्राहालय र शालिकमाथि लगातार आक्रमण
५ अगष्टमा अवामी लिगको सरकार हटेसँगै बंगलादेशभर शालिक तोडफोड भयो । यसरी तोडफोड गरिएका मूर्तिमध्ये अधिकांश बंगबन्धु शेख मुजीबुर रहमानका थिए । ती शालिक १९७१ को मुक्ति संग्रामको सम्झनामा बनाइएका थिए ।

यसबाहेक आतंकवादविरुद्ध लड्दा सहिद भएकाका सैनिकको सम्झनामा बनेका शालिक पनि तोडफोड भइरहेका छन् । सन् २०१६ मा भएको एक आतंकवादी हमलामा सहिद भएका प्रहरी जवानको सम्झनामा बनाएको ‘दिपतो शोपोथ’ शालिकलाई २९ अगष्टमा ध्वस्त पारियो । त्यसको ठाउँमा ‘हिज्ब उत तहरीर’को पोष्टर लगाइयो ।

१ जुलाई २०१६ मा इस्लामी आतंकवादीको एक समूहले ढाकाको गुलशनस्थित ‘होली आर्टिसन बेकरी’मा हमला गरेको थियो । यो हमलामा १८ विदेशी नागरिकहित २० जनाको ज्यान गएको थियो । दुई प्रहरी जवान सहिद भएका थिए ।

बंगलादेशका संग्राहलयमाथि पनि लगातार हमला भइरहेको छ । संग्राहलयमाथि भइरहेका हमलालाई लिएर ‘इन्टरनेशलन काउन्सिल अफ म्यूजियम’ले चिन्ता जाहेर गर्दै आफ्नो देशका अमूल्य संग्राहलय बचाउन अनुरोध गर्नुपर्ने अवस्था आएको छ ।

यसैबीच कट्टरपन्थी उपदेशक डा. जाकिर नाइकले आफ्नो टेलिभिजन च्यानल ‘पीस टिभी बांग्ला’को प्रशारणफेरि सुरु गर्ने घोषणा गरेका छन् । बंगलादेश र भारतमा ‘पीस टीभी’को प्रसारण बन्द गरिएको छ ।

बंगलादेशको सरकारले अनुमति दिएमा छिट्टै यसको प्रसारण सुरु हुनेछ भनिरहेका छन् जाकिर । स्मरणर होस्, जुलाई २०१६ मा ढाकाको ‘होली आर्टिसन बेकरी’मा हमला गर्नेहरूमध्ये एकजना जाकिर नाइकबाट प्रभावित व्यक्ति थिए । उक्त घटनापछि बंगलादेशले जाकिरको टेलिभिजनको प्रसारणमा रोक लगाएको थियो ।

नेता र पत्रकारमाथि हत्या आरोप
हसिना सरकारको पतनपछि बंगलादेशमा पत्रकारविरुद्ध कयौँ मुद्दा दायर भएका छन् । २९ अगष्टमा एक बंगलादेशी वकिलले मानवताविरोधी र नरसंहारको आरोपमा हसिना उनको मन्त्रिमण्डल र २७ जना पत्रकारसहित ५२ जनाविरुद्ध ‘इन्टरनेशनल क्रिमिनल ट्रिब्युनल’ जाहेरी दिएका छन् ।

२७ पत्रकारमाथि, विद्यार्थी आन्दोलनका दौरान मानवताविरोधी अपराध र नरसंहारमा सामेल भएको आरोप लगाइएको छ । यसअघि पत्रकार दम्पत्ति शकिल अहमद र फरजाना रुपमाथि प्रदर्शनकारीको हत्या गरेको आरोप लागेको थियो । हाल ती पत्रकार दम्पत्ति जेलमा छन् ।

पत्रकारको गिरफ्तारीलाई लिएर ‘रिपोटर्स विदाउट बोडर्स’ले ३० अगष्टमा एक विज्ञप्ति जारी गरेर पत्रकारको तत्काल रिहाई गर्न माग गरेको छ । पत्रकारमाथि लगाइएका आरोप तत्काल फिर्ता लिन र पत्रकारमाथि भइरहेको ‘व्यवस्थित न्यायिक उत्पीडन’ तत्काल बन्द गर्न माग गरेको छ ।

खलीफा शासनको पक्षमा र्‍याली
बंगलादेशमा भइरहेका सांम्प्रदायिक हिंसाका घटनामा नजर राख्ने कयौँ सामाजिक सञ्जाल मिडिया अकाउन्ट नियालेपछि हामीले के थाहा पायौँ भने, ५ अगष्टपछि बंगलादेशमा हरेक दिन यस्ता र्‍याली निकालिँदै छन्, जसमा लोकतान्त्रिक मूल्य र मान्यताविरुद्ध, खलीफा शासन स्थापनाको पक्षमा समर्थन जुटाउने प्रयास भइरहेको छ ।

बंगलादेशमा यस्ता र्‍यालीमा कुनै रोकटोक छैन । युनुस नेतृत्वको प्रशासनले यस्ता र्‍याली सहजै आयोजना गर्न दिइरहेको छ । ढाका विश्वविद्यालयको आँगनमा त तालिबान शासनको समर्थमा पनि र्‍याली निकालिएको छ ।

सुफी दरगाहमा कट्टरपन्थीको हमला
बदलिँदो राजनीतिक घटनाक्रमका दौरान बंगलादेशमा सुफी दरगाहपनि कट्टरपन्थी हमलाको शिकार भएका छन् । कट्टरपन्थीले सिलहट, कोमिला र चट्टोग्रामका कयौँ सुफी दरगाहमा तोडफोड गरेका छन् । आगजनी गरेका छन् ।

बंगलादेशका अधिकांश सुफी दरगाह सयौँ वर्ष पुराना हुन् । ‘बंगलादेश वाच’ नामक एक ‘एक्स अकाउन्ट’ले एक भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियोमा केही मान्छे दरगाह तोडफोड गरिरहेका देखिन्छन् ।

‘बंगलादेश वाच’ले लेखेको छ, “कट्टरपन्थीले रिजगंजको काजीपुरमा रहेको बाबा अली पगलाको सुफी दरगाह नष्ट गरेका छन् । कुनै प्रिन्ट वा टीभी मिडियाले यो समाचार देखाएनन् । कुनै प्रहरी कारबाही भएन । अन्तरिम सरकारले यो घटनाको निन्दा समेत गरेन । वास्तवमै यो एक ‘नयाँ बंगलादेश’ हो ।”

के भन्छन् विश्लेषक ?
‘द वायर हिन्दी’सँगको कुराकानीमा बंगलादेशका एक वरिष्ठ पत्रकारले नाम नछाप्ने शर्तमा बताए अनुसार बंगलादेशमा धर्मका आधारमा हिंसा बढ्नुको कारण हो, विश्वभर चलिरहेको धार्मिक हिंसाको ‘ट्रेण्ड’ ।

“यसको अर्को कारण अमेरिका र बेलायत जस्ता देशमा मुसलमानविरुद्ध माहोल बनाइँदैछ जसका कारण बंगलादेशका मुसलमान अन्य धर्मका मान्छेमाथि बदलाको कारबाहीस्वरुप अत्याचार गरिरहेका छन्,” उनले भने ।

“अल्पसंख्यकका लागि बंगलादेशमा बस्नु ठूलो चुनौती हो । जब–जब यस्तो राजनीतिक संकट आउँछ अल्पसंख्यकले यसको मूल्य चुकाउनुपर्छ,” उनले सुनाए ।

बंगलादेका मुसलमानमा बढिरहेको कट्टरताबारे उनी भन्छन्, “बंगलादेशका धेरै मान्छे मध्य पूर्वका देशमा काम गर्न जान्छन् । त्यहाँको शासन व्यवस्था र त्यहाँ शरिया कानुन पालना भएको देख्छन् । उनीहरू आफ्नो देश फर्केर यस्तै चिजलाई बढवा दिन्छन् । राजनीतिक दलहरू आफ्नो भोटका लागि यस्ता मुद्दालाई काँध थाप्छन् ।”

बंगलादेशमाशरिया कानुन र खलीफा शासनका पक्षमा निकालिएका र्‍यालीका बारेमा उनले भने, “यसको वकालत गर्नेहरू पहिलेदेखि नै थिए । अवामी लिगको सरकार हटेसँगै यी खुलेर सडकमा उत्रिए ।” उनका अनुसार यस्तो विचार राख्ने मान्छे बंगलादेशमा थोरै छन् । (द वायरहिन्दीका लागि श्रुति शर्मा र अंकित राजले लेखेको सामग्रीको भावानुवाद)

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  ०८:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu