site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
महासंघ र ट्रेड युनियनबीच समस्या समाधान गर्न फोरम स्थापना

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र ट्रेड युनियनले श्रमसम्बन्धी समस्या समाधान गर्न फोरम स्थापना गरेका छन् । यस सम्बन्धमा २०८१/८/१३ मा महासंघ सचिवालय, टेकु, काठमाडौंमा भएको बैठकमा सहमति भएको हो ।

बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय देशमा रोजगारदाता–श्रमिक सम्बन्ध सुधार हुँदै गएको बताए । ढकालले भविष्यमा आउनसक्ने कुनै पनि चुनौती समाधान गर्न रोजगारदाता र श्रमिकबीच सहकार्य र समन्वय हुनुपर्ने बताए ।

Argakhachi Cement Island Ad

बैठकमा राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपाल (जेटीयूसीसी)का अध्यक्ष योगेन्द्र कुंवरले गत मंसिरमा भएको समझदारीपत्र समीक्षा गर्नुका साथै आगामी दिनमा आउनसक्ने चुनौतीहरूको दुईपक्ष रूपमा न्यूनीकरणका उपायहरू पहिचान गर्नुपर्ने बताए । उनले सामाजिक सुरक्षा कोषलाई अझ सक्रिय पर्दै जानुपर्ने र यसका लागि श्रमिक र रोजगारदाता दुवै पक्षको भूमिकालाई बढाउँदै जान जरुरी रहेको बताए ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले उद्योग पनि बचाउने र श्रम बजारलाई पनि व्यवस्थित गर्दै  अगाडि बढ्ने दृष्टिकोण स्थापित गर्न जरुरी रहेको बताए । द्विपक्षीय समझदारी गरिएको विषयलाई सम्झना गर्दै त्यस समझदारीमा उल्लेख गरिएका कार्यक्रमलाई कार्यान्वयन गर्न कार्यसमिति निर्माण गरी अगाडि बढ्न जरुरी रहेको पनि बताए ।  

महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद् सभापति ज्योत्सना श्रेष्ठले गत मंसिरमा भएको समझदारीलाई छिट्टै कार्यान्वयन गर्नुपर्ने र दुवै पक्षको सहमतिमा क्षेत्रगत, उत्पादकत्वलगायत आधारमा न्यूनतम पारिश्रमिक निक्र्याेल गरिनुपर्ने विषयमा छलफल तथा बैठक आयोजना हुन पर्नेमा जोड दिइन् । 
 

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्