site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
हेटौँडा क्षेत्रमा विद्युत् चुहावट नियन्त्रण अभियान

वाग्मती । हेटौँडा उपमहानगरपालिका क्षेत्रमा विद्युत् चुहावट एक प्रतिशतमा झरेको छ । विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि बन्द रहेको मिटर परिवर्तन र विद्युत् मिटर रिडिङमा सुधारलगायत प्राधिकरणको प्रणाली सुदृढीकरण भएसँगै आर्थिक वर्ष २०८०/८१ मा पाँच दशमलव ६७ प्रतिशतले विद्युत् चुहावट घटेको हो ।

हेटौँडा क्षेत्रमा गत आव २०७९/८० मा छ दशमलव ६७ प्रतिशत विद्युत् चुहावट हुँदै आएकामा आव २०८०/८१ मा विद्युत् चुहावट एक प्रतिशतमा झरेको विद्युत् प्राधिकरण वितरण केन्द्र हेटौँडाका प्रमुख ई शिवराम यादवले जानकारी दिनुभयो ।  

Argakhachi Cement Island Ad

आव २०८०/८१ मा विद्युत् चुहावट नियन्त्रण अभियानका क्रममा चुहावट गर्ने ग्राहकमाथि कारबाही गर्दा रु दुई लाख २९ हजार महसुल संकलन भएको सो कार्यालयले जनाएको छ । 

लामो समयदेखि विद्युत् महसुल नतिर्ने दुई हजार १९६ जना ग्राहकको विद्युत् लाइन काटिँदा दुई हजार ११७ ग्राहकले पुनः विद्युत् जडान गराएको र त्यसबाट रु पाँच करोड ६५ लाख ८० हजार ४४३ बक्यौता असुली भएको प्रमुख यादवले बताए ।  

विद्युत् मिटर लिएर बिजुली उपभोग गर्ने तर लामो समयसम्म महसुल नबुझाउने प्रवृत्ति बढेकाले विद्युत् लाइन काट्ने अभियान चलाएको उनको भनाइ छ । अभियान सुरु भएपछि महसुल संकलनमा सुधार भएको छ । 

आव २०८०/८१ म सो कार्यालयले दुई अर्ब ५४ करोड ५७ लाख पाँच हजार ५२३ मूल्य बराबरको विद्युत् बिक्री हुँदा दुई अर्ब ४२ करोड ४३ लाख ३१ हजार ३२५ महसूल संकलन भएको प्रमुख यादवले जानकारी दिए । उक्त कार्यालयमा ७७ हजार ७६० ग्राहक छन् । रासस

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  ०८:३५
प्रतिक्रिया दिनुहोस्