site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
अस्ट्रेलियामा नेपाली कृषि कामदार : छोराछोरी भेट्न पुगेका अभिभावक फार्ममा !
फाइल तस्बिर

सिड्नी । अस्ट्रेलियामा नेपाली बढ्दै गर्दा उन्नति र प्रगतिका कथासँगै विकृति र विसंगतिका व्यथा पनि वृद्धि हुन थालेको छ ।

अस्ट्रेलियामा हाल लगभग दुई लाख नेपाली छन् । पुगनपुग १० हजारको हाराहारीमा अभिभावकको उपस्थिति छ । 

छोराछोरीको निम्ता, नातिनातिनीको हेरचाहका निम्ति प्यारेन्टल भिसामा रहेका र ग्राजुएसनमा सहभागी हुन नेपालबाट आएका अभिभावक यति बेला कृषि मजदुरका रूपमा अस्ट्रेलियाका विभिन्न गाउँठाउँमा सजिलै भेट्न सकिन्छ ।

Dabur Nepal
NIC Asia

अस्ट्रेलियामा कृषि कामदारको चरम अभाव र बिचौलियाको बेइमान स्वभाव अनि अभिभावकमा डलर कमाउने भावले पनि उनीहरू त्यसतर्फ आकर्षित भएको जानकार बताउँछन् ।

छोराछोरी सहरमा काम र अध्ययनमा व्यस्त रहन्छन् । बाबुआमा घरमै बस्ने हुनाले पार्कमा भेला हुने, चाडपर्व मनाउने गरेको दृष्य नेपालीको बाक्लो संख्या रहेको सिड्नीका अर्वन, ग्रानभिल, रकडेल, कोग्रा, हर्षभिलतिर देखिन्छ ।

तर, पछिल्ला दिनहरूमा पैसा कमाइने हल्ला र लोभले नेपाली अभिभावक अस्ट्रेलियाका कृषि फार्मतिर दौडधुप गरेको देखिन थालेको छ । 

प्रशस्तै पैसा कमाइ हुने र गाउँघर घुम्न पाइने हल्लाका पछाडि लागेर कैयौँ नेपाली अभिभावक न्यु साउथवेल्सको कप्स हार्वरदेखि भिक्टोरियाको सेपाटन र साउथ अस्ट्रेलियाको रेनमार्कसम्म पुगेका देखिन्छ ।

यति बेला कप्स हार्वरमा ब्लु बेरीको सिजन छ । त्यहाँका फार्ममा मात्र एक हजारको संख्यामा नेपाली अभिभावक रहेका उक्त स्थानमा एक हप्ताको बसाइपछि सिड्नी फर्किएका कृष्णराजले बताए ।  “यति कमाइन्छ र उति कमाइन्छ भनेर भन्दा रहेछन्, पुगेपछि थाहा हुँदो रहेछ पीडा,” उनले भने ।

अभिभावकलाई यसरी फार्ममा पुर्‍याउनेमा नेपाली मूलकै बिचौलियाको बिगबिगी रहेको जानकारको भनाइ छ ।  फार्मरसँग यति मान्छे ल्याउँछु भनेर डिल गर्ने, आफूले मनग्य कमिसन खाने, कतिपयलाई पैसा नदिने र धम्क्याउने समेत गरिएको एक नेपाली अभिभावकले सुनाए ।

यति मात्र होइन, एउटा कोठामा सात–आठजना सुताउने, हरेकसँंग हप्ताको डेढ सय डलर असुली गर्ने, बस्ने ठाउँबाट फार्ममा पुर्‍याएको छुट्टै पैसा लिने गरिएको आरोप छ । “यसरी लहलहैमा अभिभावकहरू पनि ठगिएको र कमाइ भने खासै नहुने हुनाले हामीले यसलाई सम्बन्धित निकायमा सुसूचित गर्नुपर्नेछ,” कृष्णराजले भने ।

सुन्तला र अंगुर टिप्न साउथ अस्ट्रेलिया पुगेका नेपाली अभिभावकको कहानी पनि उस्तैउस्तै छ । “बलियाबांगाले डेढ सय रुपैयाँसम्म कमाउँछन् होला, तर सामान्य व्यक्तिले असी–सय बनाउलान्,” एक चरण फार्म घुमेर फर्किएका एक अभिभावकले सुनाए ।

भिक्टोरियाको सेपाटनमा स्याउ होस् या गोलभेँडा टिप्ने काम, क्वीन्सल्यान्डको बुन्डावर्ग सबैतिर नेपाली पुगेका छन् । सेना–प्रहरीका रिटार्यडदेखि नेपाल सरकारका पेन्सनर समेत यति बेला अस्ट्रेलियाका फार्मतिर भेटिन थालेका छन् ।

यसरी अभिभावकले रहरमा होस् या डलरको लोभमा, काम गर्नु कानुनी रूपमा अवैध मानिन्छ । अस्ट्रेलियामा प्यारेन्ट भिसामा आएका अभिभावकलाई कानुनी रूपमा काम गर्ने अधिकार रहँदैन । करको दायरामा काम गर्न नपाएपछि यसरी नगदमा गरिने कार्य आफैँमा अवैध हो ।

अस्ट्रेलियाको प्रवेशाज्ञा लिएर आएपछि यहाँको नियम–कानुन मान्नुपर्ने हुन्छ । अभिभावकलाई काम गर्ने अधिकार प्रदान गरिएको हुँदैन । यसरी फार्ममा काम गर्न जानु आफैँमा गलत भएको एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले बताए । आम्दानी हुने देखेर लोभिएर जानु अभिभावकको गलत निर्णय भएको पोखरेलको भनाइ छ ।

बिनाअनुमति काम गर्दा केही घटना भइहाले त्यसको जिम्मेवारी कसैले नलिने भएकाले परिवारले दुःख पाएको घटना समेत देखिएको पोखरेलले सुनाए । प्रहरीको फन्दामा परेको अवस्थामा भिसा रद्द हुनेदेखि अन्य कानुनी कारबाही भोग्नुपर्ने हुँदा छोराछोरी पनि सजग हुनुपर्नेमा उनले जोड दिए ।

केही दिनअघि मात्र अभिभावकका रूपमा अस्ट्रेलिया आएका एक नेपाली कामका दौरान घाइते भए । उनले काम गर्ने ठाउँको विदेशी साहुले वास्ता गरेन । उनी नगदमा काम गर्थे । सोही कारण क्षतिपूर्ति माग गर्ने अवस्था रहेन । उनको छोरा दिनरात कमाएको पैसा हाल अभिभावकको उपचारमा खर्च गर्न बाध्य छन् ।

यस्तो कार्यले कालान्तरमा नेपाली समाजलाई आहात तुल्याउने एनआरएनए एनएसडब्ल्यूका सचिव कल्याण खड्काले बताए । 

पेसाले वकिल खड्काले भने, “अभिभावक अस्ट्रेलिया ल्याउने छोराछोरीले पनि जिम्मेवार बन्नुपर्ने मैले देखेको छु । किनभने, अभिभावकलाई कानुनी प्रावधान थाहा नभए पनि यहाँ बस्ने विद्यार्थी, पीआर र नागरिकलाई सबै कुराको जानकारी हुन्छ । यस्ता कुरालाई स्वयं छोराछोरीले निरुत्साहित गर्नुपर्छ ।”
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  ०८:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro