site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कोसी प्रदेशको विजयी सुरुआत

काठमाडौं । उद्घाटन खेलमा स्याङ्जाको वालिङ नगरपालिकाविरुद्ध ४–० को सहज जित निकाल्दै कोसी प्रदेशले एन्फा महिला लिग–२०२४ मा सुखद सुरुआत गरेको छ ।

आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा कोसीलाई जित दिलाउन समीक्षा मगरले दुई गोल गरिन् । सञ्जुमाया तामाङले एक गोल थपिन् । कोसीले अर्को एक गोल वालिङबाट आत्मघाती उपहार पाएको थियो ।

खेलको १०औँ मिनेटमा सञ्जुको गोलमा कोसीले अग्रता बनाएको थियो । कोसीले पहिलो हाफभर १–० को अग्रता बनाएको थियो । कोसीले दोस्रो हाफमा तीन गोल थप्यो ।

समीक्षाले ५१औँ मिनेटमा गोल गर्दै कोसीको अग्रता दोब्बर बनाइन् । त्यसको आठ मिनेटपछि समीक्षाकै गोलमा कोसीले अग्रतालाई ३–० मा पुर्‍यायो । ५९औँ मिनेटमा वालिङकी यमकुमारी विकबाट आत्मघाती गोल उपहार पाएपछि कोसीले ४–० को जित पक्का गरेको हो ।

जितपछि कोसीका प्रशिक्षक श्याम मानन्धरले रणनीतिअनुसार खेल्न नसके पनि नतिजाप्रति सन्तुष्टि व्यक्त गरे । “पहिलो खेल टर्फमा भएर पहिलो हाफ राम्रो खेल्न सकेनौँ । पानीले पनि अप्ठ्यारो बनायो । दोस्रो हाफमा गोल निस्किएर पनि खेल्न सजिलो भयो,” प्रशिक्षक मानन्धरले भने ।

प्रतियोगिताका निम्ति कोसीले तीन विदेशी खेलाडी ल्याए पनि कानुनी प्रक्रिया पूरा नहुँदा मैदानमा उतार्न पाएन । कोसीले प्रतियोगिताका निम्ति सुमिता सरकार, तमलिका सरकार र भुली सरकारलाई अनुबन्ध गरेको छ । कोसी सुर्खेतमा भएको राष्ट्रिय महिला लिगको विजेता समेत हो ।

वालिङका प्रशिक्षक दिलीप थापाले भने टिमले योजनाअनुसार प्रदर्शन गर्न नसकेको बताए । “आज भनेजस्तो खेल खेल्न सकेनौँ । हाम्रो विपक्षी टिमले उत्कृष्ट खेल पस्किनुभयो,” प्रशिक्षक थापाले भने, “आजको तीन अंक महत्त्वपूर्ण थियो । लिगका सबै टिम जित्नकै लागि खेल्ने हो । हामीले विदेशी खेलाडी प्रयोग गर्न पाएनौँ । त्यसले पनि हाम्रो रणनीतिअनुसारको प्रदर्शन हुन सकेन ।”

आइतबारदेखि सुरु प्रतियोगितामा कुल १० टिमले प्रतिस्पर्धा गर्नेछन् । लिगमा तीन विभागीय – नेपाल पुलिस, एपीएफ र आर्मीसँगै कोसी, वाग्मती नगरपालिका, चन्द्रपुर नगरपालिका, संकटा क्लब, वालिङ नगरपालिका, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको सहभागिता छ ।

प्रतियोगिताको पहिलो चरणपछि शीर्ष पाँच स्थानमा रहने टिम दोस्रो चरणमा प्रवेश गर्नेछन् । ‘डबल राउन्ड रोबिन’ पद्धतिमा उक्त पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो राउन्डबाट शीर्ष चार टिमले प्लेअफमा स्थान बनाउनेछन् ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १९:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro