site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
इम्बोस्ड नम्बर प्लेट अनियमितता छानबिनमा के गर्दैछ अख्तियार ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इम्बोस्ड नम्बर प्लेट जडान योजनामा अनियमितताबारे छानबिनपछि तामेली राखेको छ ।

अख्तियारबाट फाइल तामेलीमा राखेको पत्र पाएपछि यातायात व्यवस्था विभागले नम्बर प्लेट जडान प्रक्रिया फेरि अघि बढाउन लागेको छ । यसमा अख्तियारले के कारणले तामेलीमा राखेको हो भन्नेबारेमा केही नखुलाइएको स्रोत बताउँछ ।

इम्बोस्ड नम्बर प्लेट अनियमिततामा संलग्न कर्मचारी तथा पदाधिकारी जोगाउन यस्तो निर्णय गरिएको हुन सक्ने विभागकै एक उच्च अधिकारी बताउँछन् । विभागका अनुसार, अख्तियारले करिब एक महिनाअघि नै विभागलाई तामेलीमा राखेको पत्र पठाएको हो । त्यसपछि विभागले फेरि इम्बोस्ड नम्बर प्लेट जडान गर्ने प्रक्रिया अघि बढाएकोे छ ।

साढे ४ अर्ब रुपैयाँभन्दा बढीको इम्बोस्ड नम्बर प्लेट जडानसम्बन्धी सम्झौतामा भ्रष्टाचार भएको आशंकासहित अख्तियारले छानबिन सुरु गरेको थियो । सँगै नम्बर प्लेटका लागि सर्वसाधारणले तिर्नुपर्ने महँगो शुल्क र त्यसमा नेपाली भाषा प्रयोग हुनुपर्ने भनी विवाद भएको थियो ।

विभागले पाँच वर्षभित्र २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने २०७३ सालमा अमेरिका र बंगलादेशमा रहेको संयुक्त कम्पनी डेकाटोर टाइगर आईटीसँग सम्झौता गरेको थियो । भ्याटबाहेकको उक्त सम्झौता त्यतिबेला चार अर्ब १६ करोड ७९ लाख ५० हजार रुपैयाँ (तीन करोड ८७ लाख ५० हजार अमेरिकी डलरको थियो ।

सम्झौता अनुसार, ०७५ सालमै सकिनुपर्ने सम्झौता सहज ढंगले अघि बढ्न सकेको छैन । हालसम्म पाँच लाख ८५ हजार इम्बोस्ड नम्बर प्लेट उत्पादन भएको विभागले जनाएको छ । यीमध्ये करिब ७४ हजार प्लेट मात्र सवारी धनीले जडान गरेका छन् ।

ठेक्का प्रक्रियाकै बेला भ्रष्टाचार भएको आशंकामा गिजोलिएपछि कार्यान्वयनमा लैजान विभागलाई समस्या भएको परेको थियो ।

चार अर्ब बढीको उक्त ठेक्कापछि सवारी साधनमा नम्बर प्लेट जडान गर्न महँगो शुल्क तिर्नुपर्ने अवस्था छ । सर्वसाधारणले तिरेकोमध्ये थोरै रकम मात्रै सरकारलाई र बाँकी डेकाटोर टाइगरलाई जान्छ ।

सरकारले आफैँ कमजोर भएर गरेको ठेक्का

इम्बोस्ड नम्बर प्लेटसम्बन्धी सम्झौता सरकारी पक्षलाई कमजोर बनाउँदै ठेक्का पाएको कम्पनी बलियो हुनेगरी गरिएको विभागकै अधिकारी स्वीकार्छन् । इम्बोस्ड नम्बर प्लेटका लागि महँगो शुल्क तिरे पनि सुविधा धेरै नदेखिएको विभागका एक अधिकारीको भनाइ छ ।

सम्झौतामा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने काममा बाधा परेमा वा सरकारका कारण अघि नबढेमा कम्पनीले ९५ प्रतिशत रकम पाउने प्रावधान रहेको बताइएको छ । यसो हुँदा हालसम्म अस्तव्यस्त यो योजना असफल भएपनि टाइगर आईटीले ४ अर्ब बढी भुक्तानी माग्न सक्ने अवस्था देखिन्छ ।

सम्झौताअनुसार दुईपांग्रे सवारीको इम्बोस्ड नम्बर प्लेटको प्रतिशुल्क दुई हजार ५००, तीन पांग्रेको दुई हजार ९००, चार पांग्रेको तीन हजार २०० र ठूला सवारी साधनको हकमा तीन हजार ६०० रुपैयाँ शुल्क तोकिएको थियो । 

दुई पांग्रे, तीन पांग्रे, साना तथा मझौला र ठूला सवारी साधनबाट संकलित शुल्कमध्ये सरकारले क्रमशः ६००, ६०७, ८८० र एक हजार ११० रुपैयाँ राख्ने र बाँकी ठेकेदार कम्पनीले नै लैजाने सम्झौता छ ।

इम्बोस्ड नम्बर प्लेटको महँगो मूल्य र विवादका कारण चार अर्बको सम्झौता के हुन्छ भन्ने निश्चित भने छैन ।

२०७२ सालमै अघि बढेको इम्बोस्ड नम्बर प्लेटसम्बन्धी टेन्डरमा चार कम्पनीले आवेदन हालेका थिए । तर, उक्त ठेक्का डेकाटोर टाइगर आईटीलाई नै पार्ने किसिमले लागत अनुमान तथा स्पेसिफिकेसन तयार पारिएको आरोप समेत लागेको थियो ।

यसरी बोलपत्र आह्वान गर्नुअघिदेखि लिएर हरेक इम्बोस्ड नम्बर प्लेट जडान हुँदासम्म यसमा कमिसनको चलखेल भएको आशंका गरिएको थियो । अब अख्तियार छानबिन फाइल तामेलीमा राखेको हुँदा संलग्न कसैलाई पनि कारबाही हुने अवस्था छैन ।
 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १३:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro