site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस बैठक सकारात्मक ! महामन्त्री प्रस्ताव सच्याउन तयार भए वा सभापति स्वीकार गर्न ? 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति तथा महामन्त्रीबीचको छलफल बिहीबार बिनानिष्कर्ष टुंगिएको छ । महासमिति बैठकबाट पारित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका प्रस्तावमा सहमति नजुटेपछि देउवाले छलफल गरेका हुन् । केन्द्रीय समितिको बैठक रोकेर उनले महामन्त्री र उपसभापतिसँग छलफल गरिरहेका छन् ।

छुट्टै गरिएको छलफलमा पनि सहमति जुटिसकेको छैन । बिहीबार बिहानको बैठक समेत कुनै निष्कर्षमा नपुगेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उपसभापति धनराज गुरुङले कुनै निर्णयमा नपुगे पनि बैठक सकारात्मक भएको बताए । आउँदो शनिबार बिहान ९ बजे पुनः बस्ने गरी बैठक स्थगित गरिएको भन्दै उनले सम्भवतः त्यस दिनसम्म धेरै विषय मिलिसक्ने बताए ।

“पर्सि (शनिबार) सम्भवतः निष्कर्षमा पुगिन्छ होला,” गुरुङले बाह्रखरीसित भने, “त्यसपछि केन्द्रीय समिति बैठक बसेर आवश्यक निर्णय गर्नेछ ।”

यही भदौ १२ गतेका निम्ति डाकिएको केन्द्रीय समिति बैठकको मिति देउवाले सारिसकेका छन् । उक्त बैठक भदौ १६ गतेका लागि तय छ । बैठकअघि सहमति जुटाइसक्ने देउवाको तयारी छ ।

महामन्त्रीद्वयले महासमितिबाट पारित प्रस्ताव केन्द्रीय समितिले सच्याउन नसक्ने जिकिर गर्दै आएका छन् । यसअघिको केन्द्रीय समिति बैठकमा उनीहरूले आफ्ना प्रस्ताव नसच्याउने अडान राखेका थिए ।

महामन्त्री थापाले ०८२ सालभित्र पार्टीको १५औँ महाधिवेशन र आउँदो निर्वाचनमा कसैसँग चुनावी गठबन्धन नगर्ने प्रस्ताव गरेका छन् । ०८२ भित्रै महाधिवेशन गर्ने विषय केन्द्रीय समितिको क्षेत्राधिकार भएकाले त्यसलाई प्रतिवेदनमा राख्न नहुनेमा सभापतिसहित कांग्रेस संस्थापन पक्षले जोड दिइरहेको छ ।

यस्तै, चुनावी गठबन्धन नगर्ने विषय पनि रणनीतिक भएको संस्थापनको भनाइ छ । गठबन्धन गर्ने/नगर्ने विषय दस्तावेजमा लेख्न नहुने कांग्रेस संस्थापनको तर्क छ ।

महामन्त्री थापाले भने विगतमा अपनाइएका रणनीतिका कारण पार्टीमा गम्भीर निराशा बढेको बताएका छन् । उक्त विषय नीतिगत बन्न गएको र त्यसलाई अब कार्यान्वयन गर्नैपर्ने उनले अडान राखेका छन् ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसमा प्रवेश र अवकाशको नीति तहुँदा नेताहरूको जाम लागेको भन्दै ‘एक्जिट पोलेसी’ प्रस्ताव गरेका छन् ।

राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपल्ट, मन्त्री तीनचोटि र सांसद चारपालि मात्र बन्न पाउने उनको प्रस्ताव छ । महासमिति बैठकमा शर्माको प्रस्तावमा ताली बजाइएको थियो । केन्द्रीय समितिमा भने त्यो संविधानसँग बाझिने र अव्यावहारिक भन्दै विरोध गरिएको थियो ।

राष्ट्रपति दुईपटकसम्म बन्न पाउने नेपालको संविधानमा व्यवस्था छ । तर, प्रधानमन्त्री, मन्त्री र सांसदका विषयमा त्यस्तो कुनै व्यवस्था छैन । शर्माको प्रस्तावमा हालसम्म मन्त्री नभएकाहरूले नै विरोध जनाएका थिए ।

कांग्रेस केन्द्रीय सदस्य राजीव ढुंगानाले त कोसी प्रदेशको उदाहरण दिँदै शर्माको प्रस्ताव आव्यवहारिक रहेको जिकिर गरेका थिए । “प्रदीप सुनुवार कोसी प्रदेशमा तीनपटक मन्त्री भइसक्नुभयो । चार महिनाकै बीचमा अब उहाँ अयोग्य हुनुभयो त ?,” प्रश्न गर्दै ढुंगानाले केन्द्रीय समितिमा भनेका थिए, “महामन्त्रीको प्रस्ताव कसैलाई रोक्ने मात्र उद्देश्यबाट आएको हो वा यसको दीर्घकालीन महत्त्व स्थापित हुन्छ ?”

शर्माको ‘एक्जिट पोलेसी’मा कोही केन्द्रीय सदस्यले समर्थन जनाएका छैनन् ।

यी प्रस्तावमा महामन्त्री पछि हट्न तयार भएका हुन् वा सभापतिले त्यसलाई स्वीकार गरेर अघि बढ्न लागेका ? भन्ने प्रश्नमा उपसभापति गुरुङले त्यो पछि थाहा हुने बताए । बैठक सकारात्मक रूपमा अघि बढेको मात्र बुझ्न उनले आग्रह गरे ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १४:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro