site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनसेललाई किस्ता सुविधा दिएर नवीकरण गर्ने सरकारको संकेत 

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको लाइसेन्स नवीकरणको अन्तिम समयमा किस्ता सुविधा दिएर नवीकरण गर्ने संकेत सरकारले गरेको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार भोलि बस्ने मन्त्रिपरिषद् बैठकले यसबारेमा निर्णय गर्ने तयारी छ ।

एनसेलले अन्तिम पाँच वर्षका लागि लाइसेन्स नवीकरण गर्ने समय अब दुई दिनमात्रै बाँकी रहेको छ । दुई दिनभित्रै सरकारले निर्णय गर्ने तयारी छ । 

भदौ १५ गते एनसेलको जीएसएम सेलुलर मोबाइल सेवाको अनुमतिपत्र (लाइेसन्स) अवधि सकिँदैछ । एनसेलले २०६१ सालको भदौ १६ मोबाइल सेवाका लागि लाइसेन्स लिएको थियो ।

दूरसञ्चार ऐन, २०५३ अनुसार टेलिकम कम्पनीको यो लाइसेन्सको अवधि २५ वर्ष हुन्छ । तर, पहिलो पटक १० वर्षका लागि मात्रै लाइसेन्स पाउने व्यवस्था छ । त्यसपछि हरेक पाँच वर्षमा २० अर्ब रुपैयाँ शुल्क तिरेर नवीकरण गर्नुपर्छ । एनसेलले अहिले अन्तिम पाँच वर्षका लागि नवीकरण गर्नुपर्ने भएको हो ।

पछिल्ला वर्षहरुमा म्यासेन्जर, ह्वाट्सएप, भाइबर जस्ता म्यासेजिङ एप र अन्य सामाजिक सञ्जालको प्रयोग बढ्दा टेलिकम कम्पनीले फोन कल तथा म्यासेज गर्ने आम्दानी ठूलो मात्रामा घट्दै गएको छ ।

लाइसेन्स नविकरणका लागि भने पूरानै ऐन अनुसार चर्काे शुल्क तिर्नु पर्दा टेलिकम कम्पनी संकटमा परेका छन् । एनसेलले एकै पटक २० अर्ब तिर्न नसक्ने अवस्था रहेको बताउँदै सरकारलाई लाइसेन्स नवीकरण गर्न किस्ता सुविधाको माग गरेको थियो ।

तर देशकै पहिलो निजी क्षेत्रको सेवा प्रदायक टेलिकम कम्पनी एनसेलको लाइसेन्स नवीकरण नगरेर सरकारले नै पतन गराउन लागिपरेको आरोप लागेपछि सरकारले तत्काल नवीकरण गरेर अघि बढाउने तयारी गरेको छ ।
दूरसञ्चार प्राधिकरणले ऐनसेललाई भदौ ६ गते पुनः पूरा नवीकरण शुल्क तिरेर जरिबानासहित अनुमतिपत्र नवीकरण गर्न ताकेता गरेको थियो ।

तर सरकारले पहिलाजस्तै नवीकरण शुल्क किस्ताबन्दीमा सहुलियत दिन एनसेलले आग्रह गरेको थियो । एनसेलले मंगलबार पनि सरकारलाई पत्राचार गर्दै नवीकरणमा अल्झन नगरीदिन अनुरोध गरेको छ ।

सरकारले नवीकरणका लागि शुल्क तिर्न किस्ताबन्दीको सुविधा नदिने, २५ वर्षपछि बाध्यकारी रुपमा सरकारीकरण गर्ने, सेयर किनबेचमा बन्देज गरिदिनेलगायतका विषयले गर्दा यो प्रकरण गिजोलिन पुगेको सूचना मन्त्रालयका एक अधिकारी बताउँछन् ।

दूरसञ्चार ऐनमा ५० प्रतिशतभन्दा बढी विदेशी लगानीको दूरसञ्चार सेवा प्रदायकको जग्गा, भवन, यन्त्र, उपकरण तथा संरचनामा २५ वर्षे लाइसेन्सको अवधि समाप्त भएपछि सकारको स्वामित्व कायम हुने भनिएको छ । 
तर यही कानुनमा ५० प्रतिशतभन्दा कम विदेशी लगानी भएमा त्यस्तो सम्पत्तिमा सरकारको स्वामित्व कायम नहुने व्यवस्था भने उल्लेख छ ।

गत जेठ १४ मा नै एनसेलले नवीकरण दस्तुरसहितको निवेदन नियामक निकाय प्राधिकरण समक्ष पेश गरेको थियो । एनसेलको लाइसेन्स नवीकरण गर्न अब तीन दिनमात्रै बाँकी हुँदा पनि सरकारले यस विषयमा भने निर्णय गरेको छैन ।

सरकारले किस्ता सुविधा नदिएमा र एनसेलले एकै पटक जरिबाना सहितको करिब २३ अर्ब शुल्क बुझाउन नसकेमा कम्पनी संकटमा पर्ने एवं खारेज नै हुन सक्ने भएपछि सरकार लचिलो भएको ती अधिकारीको भनाइ छ ।
यसअघि स्मार्ट टेलिकम पनि यस्तै नवीकरणको चर्काे शुल्क तिर्न नसकेर खारेज भएको थियो । 

सरकारी कम्पनी नेपाल टेलिकमबाट भने सरकारले म्याद नाघ्नै लागेका बेला नवीकरण शुल्क मागेको थियो । एनसेलले अहिले हरेक वर्ष ४ अर्ब रुपैयाँ गरी पाँच वर्षमा २० अर्ब बुझाउने गरी सरकारसँग किस्ता सुविधा माग गरेको  छ ।

यस विषयमा सञ्चार तथा सूचना प्रविधिमन्त्रालयले बिहीबार बस्ने बैठकमा प्रस्ताव लैजाने तयारी भएको छ । सरकारले यस विषयमा निर्णय गरेमा एनसेलले किस्ता सुविधा प्राप्त गर्न सक्छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro