site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
तीन गुणा बढ्यो विद्युत् खपत 

काठमाडौं । देशबाट लोडसेडिङ अन्त्य भई नियमित रूपमा विद्युत् आपूर्ति हुन थालेपछि विद्युत् (ऊर्जा) खपत तीन गुणा बढेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । 

आर्थिक वर्ष २०७२/०७३ मा तीन अर्ब ७२ करोड युनिट ऊर्जा खपत भएकोमा गत आव २०८०/०८१ मा १० अर्ब दुई करोड युनिट पुगेको छ । आठ वर्षको अवधिमा देशभित्रको विद्युत् खपत ६ अर्ब ५१ करोड युनिट बद्धि भएको हो । आठ वर्षअघि विद्युत् खपत वृद्धिदर नै ऋणात्मक थियो । 

गत आवमा सबैभन्दा बढी ग्राहस्थतर्फ चार अर्ब ३१ करोड र औद्योगिक ग्राहकतर्फ तीन अर्ब ६९ करोड युनिट विद्युत् खपत भएको छ । बाँकी विद्युत् अन्य समूहका ग्राहकले खपत गरेका हुन् । आठ वर्षअघि १३१ युनिट रहेको प्रतिव्यक्ति उर्जा खपत गत आवसम्म आइपुग्दा ४०० युनिट पुगेको छ । 

Dabur Nepal
NIC Asia

आठ वर्षअघि वर्षायाममा समेत दैनिक आठ घण्टा लोडसेडिङ थियो  । हिउँदमा दैनिक १४ घण्टासम्म लोडसेडिङ गर्नुपर्ने प्रक्षेपण थियो । २०७३ को कात्तिकबाट काठमाडौं उपत्यका हुँदै क्रमिक रूपमा देशका प्रमुख सहरहरूका ग्राहस्थतर्फका ग्राहकको र त्यसपछि औद्योगिक ग्राहकको लोडसेडिङ अन्त्य गरिएको थियो । २०७५ वैशाखबाट सिंगो मुलुक लोडसेडिङमुक्त घोषणा गरिएको थियो । 

आठ वर्षअघि ५८ प्रतिशत घरपरिवारमा मात्र विद्युत् पुगेको थियो । अहिले ९९ प्रतिशतमा विद्युत् पुगेको छ । विद्युत्को पहुँच पुगेका घरपरिवारमध्ये ९७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र दुई प्रतिशतले ग्रिडभन्दा बाहिर रहेका लघुजलविद्युत्, सौर्य ऊर्जा लगायतबाट विद्युत् उपभोग गरिरहेका छन् । आव वर्षअघि विद्युत्का ग्राहक करिब ३० लाख रहेकामा हाल सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्यपछि पर्याप्त विद्युत् आपूर्ति हुन थालेपछि खपत बढेको बताए ।  

आव २०७२/०७३ मा तीन अर्ब ७२ करोड युनिट रहेको विद्युत् खपत आव २०७३/०७४ मा २८.४७ विन्दुले बढी चार अर्ब ७७ करोड युनिट पुगेको थियो । आव २०७४/०७५ मा विद्युत् खपत पाँच अर्ब ५६ करोड, २०७५/०७६ मा ६ अर्ब ३० करोड युनिट, २०७६/०७७ मा ६ अर्ब ४२ करोड, २०७७/०७८ मा सात अर्ब २८ करोड युनिट भएको थियो । 

यसैगरी, २०७८/०७९ मा आठ अर्ब ८४ करोड, २०७९/०८० मा ९ अर्ब ३५ करोड र २०८०/८१ मा १० अर्ब २ करोड युनिट विद्युत खपत भएको थियो । आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा विद्युत् खपत करिब १० प्रतिशतले बढेको हो ।

गत आवमा पिक डिमान्ड (विद्युत् बढी माग हुने समय) अघिल्लो आव २०७९/८० को तुलनामा ११.३४ प्रतिशत विन्दुले वृद्धि भएको थियो । गत आवको जेठ १६ गते देशभित्रको सबैभन्दा बढी विद्युत्को माग रेकर्ड गरिएको थियो । उक्त दिन पिक डिमान्ड दुई हजार २१२ मेगावाट पुगेको थियो । 

वर्षायामका ६ महिना विद्युत् भारतर्फ निर्यात गर्ने अवस्था बनेता पनि हिउँदमा नदी प्रवाही जलविद्युत् आयोजनाहरूको विद्युत् उत्पादन घटी केही महिना देशभित्रको माग धान्न विद्युत् आयात गर्नु पर्ने अवस्था छ । तर, प्रणालीमा आयात गरिएको ऊर्जाको परिमाण भने घट्दै गएको छ । गत आवमा प्रणालीमा आयाति ऊर्जाको हिस्सा १४.६८ प्रतिशत रहेको छ । जुन अघिल्लो आवको तुलनामा ८.५७ प्रतिशत विन्दुले कम हो । विद्युत् निर्यात ४४ प्रतिशत विन्दुले वृद्धि भएको छ । 

गत आवमा भारतबाट एक अर्ब ९० करोड युनिट अर्थात १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत आयात गरिएको थियो । तर, यही अवधिमा एक अर्ब ९५ करोड युनिट विद्युत् भारतर्फ निर्यात गरी १७ अर्ब ६ करोड रुपैयाँ आम्दानी भएको थियो । गत आवमा आयातभन्दा १३ करोड रुपैयाँको बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १२:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro