काठमाडौं । कहिलेकाहीँ साथीहरू पनि भार बन्न पुग्छन् । ५ अगस्टमा शरण माग्दै भारत पुगेकी शेख हसिना अहिले भारतका लागि त्यस्तै साथी बन्न पुगेकी छन् । हसिनाको भारतसँग निकै पुरानो र राम्रो सम्बन्ध छ । यही सम्बन्धका आडमा उनले भारतमा शरण पाएकी थिइन् ।
हसिनाको भारत शरणलाई अस्थायी मानिएको थियो । तर, दुई हप्ता बितिसक्दा पनि हसिना भारतमै छिन् ।
अमेरिका वा बेलायतमा स्थायी शरण माग्ने गरी हसिना भारतमा अस्थायी शरण मागेर आएकी थिइन् । तर, उनलाई अमेरिका र बेलायतले शरण दिन अस्वीकार गरे । ५ अगस्टमा भारतको गाजियावादको हिन्डन आर्मी बेस क्याम्पमा ओर्लिएर उनी त्यहीँबाट बेलायत वा अमेरिका जाने सोचमा थिइन् । उनको उडानको चाँजोपाँजो मिलाउन भनेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभालले हिन्डन आर्मी बेस क्याम्पमै हसिनालाई भेटेका थिए ।
तर, जसै अमेरिका र बेलायतले हसिनालाई शरण नदिने संकेत गरे, भारतले नै उनलाई ‘सेफ प्लेस’ उपलब्ध गरायो ।
बंगलादेशमा आन्दोलन चर्किएपछि अस्थायी शरणका लागि हसिनाले भारतसँग गुहार मागिन् । भारतले हसिनालाई आफ्नो देश आउने अनुमति दिएपछि उनी बंगलादेश वायु सेनाको विमानबाट दिल्लीनजिकै रहेको गाजियावादस्थित भारतीय सेनाको हिन्डन बेस क्याम्पमा ओर्लिएकी थिइन् ।
विमानस्थलको लाउन्चबाटै हसिनाले बेलायत र अमेरिकासँग शरण मागिन् । तर, अमेरिका र बेलायत दुवैले उनलाई शरण दिन अस्वीकार गरे । हसिनाका छोरा अमेरिकामा छन् । उनकी बहिनीकी छोरी बेलायतको लेबर पार्टीकी नेता हुन् । संसारभरका नेता र प्रसिद्ध व्यक्तिलाई शरण दिन आनाकानी नगर्ने बेलायतले हसिनालाई भने शरण दिएन ।
भारतीय सञ्चार माध्यमहरूका अनुसार हसिनालाई आर्मीको सुरक्षामा अहिले ‘सेफ प्लेस’मा राखिएको छ ।
हसिना भारत पुग्नबित्तिकै उनका छोराले हसिना अब कहिल्यै बंगलादेश नफर्किने बताएका थिए । तर, जसै अमेरिका र बेलायतले शरण दिन अस्वीकार गरे, हसिनाका छोराले आफ्नो बोली फेरे । उनले भने, "बंगलादेशमा चुनाव घोषणा भएपछि हसिना देश फर्किनुहुन्छ ।"
हसिनाले बंगलादेश फर्किने घोषणा गरेको केही दिनमै हसिनाविरुद्ध बंगलादेश र अन्तर्राष्ट्रिय अपराध अदालतमा हत्या मुद्दा दायर भएको छ । अन्तर्राष्ट्रिय अपराध अदालतले बंगलादेशमा विद्यार्थी आन्दोलनका क्रममा भएको हिंसामाथि अनुसन्धान गर्न निर्देशन दिएको छ ।
ठिक यही समयमा बंगलादेशको अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार मोहम्मद तैहिद हुसैनले पनि कानून मन्त्रालयले अनुरोध गरेमा हसिनालाई सुपुर्दगी गर्न भारतलाई अनुरोध गर्ने बताए । बंगलादेश र भारतबीच सन् २०१३ मा सुपुर्दगी सन्धि भएको थियो ।
तर, भारत हसिनाको राम्रो मित्र हो । भारतले सहजै हसिनालाई बंगलादेश फिर्ता पठाउने छैन । सन् १९९६ मा पहिलोपटक प्रधानमन्त्री भएदेखि नै हसिनाले भारतसँग सम्बन्ध समधुर बनाइरहेकी छिन् ।
बंगलादेशमा भएको विद्यार्थी आन्दोलनमा करिब ४५० जनाको मृत्यु भएको थियो । आफूमाथि हत्या अभियोगमा मुद्दा चलेपछि भारतको शरणमा रहेकी हसिनाले मुख खोलिन् र आफ्ना छोरा साजिद वाजिदमार्फत भनिन्, "गएको जुलाईदेख अहिलेसम्म आन्दोलनका नाममा तोडफोड, आगजनी, हिंसाको घटनाले हाम्रो देशका कयौँ निर्दोष नागरिकको ज्यान गएको छ । विद्यार्थी, शिक्षक गर्भवती महिला, प्रहरी, पत्रकार कार्यकर्ता, नेता, अवामी लिगका कार्यकर्ता आतकंवादी हमलाका सिकार भए । उनीहरूले ज्यान गुमाए । म यी जघन्य हत्या र तोडफोडका घटनामा जिम्मेवार मान्छेको पहिचान गरेर उनीहरूमाथि कानूनी कारबाही गर्न गम्भीर छानबिनको माग गर्छु ।"
एकातिर बेलायत र अमेरिकाले शरण नदिनु, अर्कोतिर हत्या अभियोगमा छानबिन सुरु हुँदा भारतमा रहेकी हसिना तनावमा छिन् । हसिनाका छोराले आफ्नी आमा बंगलादेश फर्किने/नफर्किने विषयमा बारम्बार बयान फेरिरहेका छन् । उनका छोरा वाजिदले सुरुमा हसिना अब कहिल्यै बंगलादेश नफर्किने भनेका थिए । त्यसपछि उनले बंगलादेशमा चुनाव घोषणा भएपछि हसिना बंगलादेश फर्किने बताए ।
हसिनाले भारतमा शरण लिएको यो पहिलोपटक भने होइन । सन् १९७५ को अगस्टमा हसिना र उनकी बहिनी ब्रसेल्सस्थित बगंलादेशको राजदूतावासको निवासमा थिए । यता बंगलादेशमा सेनाले कू गरेर हसिनाका बुबा शेख मुजिबको हत्या गर्यो । मुजिबसँगै उनका दुई छोरी र ज्वाइँको पनि हत्या गरियो ।
बुबाको मृत्युपछि हसिना र उनकी बहिनी जर्मन पुगे । त्यहाँ उनीहरूले बंगलादेशको दूतावासमा शरण लिए ।
यता भारतमा गान्धी परिवार सत्ता र शक्तिमा थियो । जर्मनमा शरण लिइरहेकी हसिना दिदीबहिनीलाई इन्दिरा गान्धीले भारत बोलाइन् । २५ अगस्ट १९७५ मा हसिना र उनकी बहिनी भारत पुगे । भारतमा उनलाई अहिले जसरी नै ‘सेफ प्लेस’मा राखियो । भारतमा शरणागत भएर बसुञ्जेल हसिना दिदिबहिनीको खर्च पनि भारत सरकारले नै बेहोरेको थियो ।
तर, जसै १९७७ को चुनावमा इन्दिरा गान्धिले चुनाव हारिन्, मोरारजदी देसाईले चुनाव जिते त्यसपछि भारत सरकारले हसिनालाई बंगलादेश गइदिएहुन्थ्यो जस्तो व्यवहार गर्न थाल्यो । कतिसम्म भने भारत सरकारले हसिना बसेको घरको बिजुलीको बिल भुक्तान गरिदिएन । त्यसपछि हसिनाले चढिरहेको गाडी फिर्ता लियो ।
तर, १९८० मा इन्दिरा गान्धि सत्तामा आएसँगै खोसिएका हसिनाका सेवा सुविधा फेरि सुचारु गरिए । तर, यही वर्ष १७ मे १९८१ मा हसिना बंगलादेश फर्किन् । ६ वर्ष लामो निर्वासनबाट बंगलादेश फिरेकी हसिना त्यसयता निरन्तरजसो बंगलादेशको सत्तामा छिन् ।
इतिहास दोहोरिन्छ भन्ने गरिन्छ । इतिहासको दोहोरिने चक्र कहिलेकाहीँ निकै छोटो हुन्छ । भारतको निर्वासनबाट बंगलादेश फिरेको ४३ वर्षमै हसिना फेरि शरण माग्दै भारत आइपुगिन् । ४३ वर्षअगाडि जसरी नै भारतले यसपटक पनि हसिनालाई ‘सेफ प्लेस’मा राखेको छ । १९७५ मा हसिनालाई शरण दिन कसैले इन्कार गरेको थिएन । तर, यसपटक उनी भारतमा बसेर पश्चिमा विश्वसँग शरण माग्दै छिन् ।