
काठमाडौं । अहिलेका पुस्ताको मेनुमा के खानेकुरा हुन्छन् ? चाउचाउ, चाउमिन, मःम, पिज्जा, बर्गरलगायत । घरमा पकाइने खानेकुरामा उनीहरू त्यति अभ्यस्त छैनन्, जति बजारमा उपलब्ध तयारी खानेकुरामा छन् ।
छिटो पनि हुने, खाँदा मिठो अनि स्वादिलो पनि । त्यही भएर बालबालिका होस् या युवापुस्ता, अभिभावकमा जंक फुड (पत्रु खाना)को कल्चर बसेको पाइन्छ ।
अझ व्यस्तताका कारण अभिभावकहरूले बालबालिकालाई आफ्नो भान्सामा पकाएर खुवाउने चलन विस्तारै घट्दै गएको पाइन्छ ।
‘जंक फुड’ या ‘फास्ट फुड’ खाने चलन विश्वभर नै बढिरहेको अध्ययनहरूले देखाएका छन् । बजारमा पाइने रेडिमेड खाना बनाउन सजिलो हुने, कम समय लाग्ने र स्वादिलो हुने हुनाले प्रायः अभिभावक आफ्ना बच्चालाई खाजाको रूपमा चाउचाउ, विस्कुट या बजारका तयारी खाजा पठाउने गर्छन् ।
तर, आमाबाबुलाई यस्ता खानाले आफ्ना बच्चामा परिरहेको असरबारे ख्याल नै नहुने गरेको जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती बताउँछिन् ।
“पत्रु खानाले बालबालिकाको कलेजोमा समस्या पार्छ । बोसो जम्नसक्ने सम्भावना हुन्छ । एकछिन आमाबुबाले घरमा खानेकुरा पकाउन अल्छी गर्दा जीवनपर्यन्त धेरै समस्या हुन सक्छ,” उनले भनिन्, “नेपालका अधिकांश अभिभावकलाई पोषणसम्बन्धी ज्ञान नै छैन । हरेक आमाबाबुलाई पोषणसम्बन्धी ज्ञान हुने हो भने जंक फुडको प्रयोग कम हुने र कुपोषण पनि घट्ने थियो ।”
पत्रु खानाले बालबालिकाको शारीरिक मात्र होइन, मानसिक स्वास्थ्यमा समेत नकारात्मक असर परिरहेको छ । यसले कुपोषण हुने, मोटोपना बढाउने समस्या बढिरहेको डा. उप्रेती बताउँछिन् ।
“नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले ६ प्रतिशत किशोरी र ३५ प्रतिशत महिला मोटोपनको सिकार भएका छन् । खानपानमा परिवर्तन भएकै कारण महिलाहरूमा मोटोपनाको समस्या देखिएको पाउँछौँ,” उनले भनिन् ।
किशोरीहरूमा मोटोपनाको समस्या आउनुको मुख्य कारण पत्रु खाना खानु, नियमित व्यायाम नगर्नु रहेको उनी बताउँछिन् ।
“पहिले मोटोपन भएको त्यति सुनिँदैनथियो, अहिले किशोरी–महिलाहरू मोटोपनाको सिकार हुनु जनस्वास्थ्यका लागि चिन्ताको विषय बनेको छ । मोटोपनासँग जोडिएर अनेक किसिमका मधुमेह, कुपोषणको समस्या आएका छन् ।”
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी ‘जंक फुड’ या ‘फास्ट फुड’ खाँदा स्वादिस्ट भए पनि यसले विभिन्न रोग समेत निम्त्याउने गरेको बताउँछन् । “जंक फुड या फास्ट फुड खानेको जीवन लामो र दीर्घायु हुँदैन नै विभिन्न रोग समेत निम्त्याउँछ,” उनले भने ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले पोषण नपुगेकै कारण पाँच वर्षमुनिका २५ प्रतिशत बालबालिकामा पुड्कोपन, आठ प्रतिशतमा ख्याउटेपना, १९ प्रतिशतमा कम तौल, ४३ प्रतिशतमा रक्तअल्पता देखाएको प्रवक्ता डा. बुढाथोकीले बताए । यसलाई कम गर्न तीन तहकै सरकार अग्रसर हुनुपर्नेमा उनको जोड छ ।
प्रतिवेदनमा १५ देखि १९ वर्ष उमेर समूहका किरोशीहरूमध्ये २६ प्रतिशत दुब्लो र ६ प्रतिशतमा मोटोपना पाइएको छ ।
२० देखि ४९ वर्ष उमेर समूहका महिलाहरूमा १० प्रतिशत दुब्लो र ३५ प्रतिशत मोटोपना छ । १५ देखि ४९ वर्ष उमेर समूहको किशोरहरूमध्ये ४१ प्रतिशत दुब्लो र सात प्रतिशत मोटोपन पाइएको छ ।
पछिल्लो पुस्तामा जंक फुडको लत बढ्दै गइरहेकोमा चिन्ता व्यक्त गर्दै उनले घरमै परिवारसँग मिलेर पोषणयुक्त खानेकुरा खान सुझाव दिए ।
“सन्तुलित भोजन खोज्न फाइभस्टार होटेलमा जानु पर्दैन, हाम्रो घरमै छ, मिलाएर खान जान्नुपर्छ,” उनले भने ।
त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापक तथा अनुसन्धानकर्ता दिपेश घिमिरेले नेपालमा तयारी खानाको असर सहरबजारसँगै गाउँमा बढी देखिएको बताउँछन् ।
“जंक फुडको असर सहरमाभन्दा ग्रामीण क्षेत्रमा बढी देखिन्छ, बालबालिकालाई भुल्याउन चाउचाउ, बिस्कुट, कुरकुरेजस्ता पसलका खानेकुरा दिइन्छ,” उनले भने ।
पोषणयुक्त बालीको खेती हुनै छाडेको छ । उत्पादन भएको बाली पनि बजारमा लगेर बेच्छन् अनि तयारी खानेकुरा किनेर खान्छन् ।
उनले भने, “आफ्नै खेतबारीमा उत्पादित फापर, कोदो, मकै, जुनेलो लगायतका रैथाने बाली बिक्री गर्छन् अनि तयारी खाना खरिद गरी खान्छन् ।”
के कारणले बढिरहेको छ ?
विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा जंक फुड (पत्रु खाना)को मार्केटिङ हुन्छ । नाम चलेका कलाकारलाई देखाइएर त्यस्ता खानेकुराको प्रचार गरिँदा गुणस्तर राम्रो भन्दै खाइने गरिन्छ । कलाकारले समेत त्यस्ता खानेकुरा खाने रैछन् भन्ने भ्रमले पनि बजारमा त्यस्ता चिजको खोजी बढी गरिने गरेको डा. उप्रेती बताउँछिन् ।
“फिल्मका हिरो, हिरोइन, नाम चलेका कलाकारले पत्रु खानाको विज्ञापनका बारेमा बताइरहेका हुन्छन्, यता बालबालिका त्यसैमा प्रभावित हुन्छन् र डिमान्ड गर्छन्,” उनी भन्छिन् ।
अचेल बच्चा हुन् या किशोर–किशोरी, घरमा बनेको खाना खानै खोज्दैनन् ।
“आजभन्दा ४०–४५ वर्षअघि पत्रु खानाको चलन थिएन । आमाले पकाएको रोटी, आलु, चना, भुटेको भात, मकै वा च्याख्ला खाने चलन थियो । त्यो खाजाले पेट भरिने मात्र होइन, आनन्दको अनुभूति पनि गराउँथ्यो,” उनी सम्झिन्छिन्, “अहिले बालबालिकाले खोजेको रोजेको खुवाउनुपर्छ । बेलाबेलामा बिरामी पर्नुको विभिन्न कारणमध्ये मुख्य पत्रु खानाले हो । यसले रोगसँग लड्ने क्षमता कम गर्छ ।”
‘जंक फुड’ सहजै पाइने हुनाले पनि यो कल्चर बढिरहेको डा. उप्रेती बताउँछिन् ।
“सार्वजनिकस्थल, पार्क, अस्पताल या विद्यालयको आसपास जहाँ पनि जंक फुड मात्रै बेच्न राखिएको हुन्छ,” उनी भन्छिन्, “टीभी, मोबाइल या विज्ञापनमा समेत जंक फुडहरू देखाइन्छ । बच्चाको हात–हातमा फोन छ । त्यसले पनि बच्चालाई जंक फुडतिर आकर्षित गरिरहेको छ ।”
विद्यालयमा पनि ‘जंक फुड’
सरकारले सामुदायिक विद्यालयमा पोषणयुक्त दिवा खाजाको सुरुवात गरेको छ ।
देशका सबै सामुदायिक विद्यालयमा प्रारम्भिक बाल विकासदेखि कक्षा पाँचसम्मका विद्यार्थीलाई खाजाको व्यवस्था गरिएको हो । सरकारले प्रतिदिन प्रतिविद्यार्थी १५ रुपैयाँका दरले बजेट छुट्याएको छ ।
जसमा पोषणयुक्त खाजाको मापदण्ड बनाइएको छ । हरेक विद्यालयले स्थानीयस्तरमा उपलब्ध स्रोत र साधनको प्रयोग गरी उक्त मापदण्डअनुसार क्यालोरी, प्रोटिन, फ्याट, आयोडिन, आइरन, जिंक र भिटामिन ‘ए’ मिलाएर खाजा तयार पार्नुपर्ने मापदण्ड छ । तर, मापदण्डअनुसार भएको देखिँदैन ।
जनस्वास्थ्यविद् डा. उप्रेतीको नेतृत्वको टोलीले केही समयअघि विद्यालयमा समेत अध्ययन, अनुसन्धान गरेका थिए । सो क्रममा विद्यालयले पत्रु खाना नै खुवाउने गरेको भेटिएको थियो । “१५ रुपैयाँले पोषणयुक्त खानेकुरा पकाउन पुग्दैन, छुट्टै जनशक्ति पनि छैन । विद्यार्थी पनि खुसी हुने हुनाले चाउचाउ र विस्कुट बाँड्ने गरेको भनेर शिक्षकहरूले भन्नुहुन्छ,” डा. उप्रेतीले सुनाइन् ।
जंक फुडमा सोडियमको मात्रा उच्च हुन्छ । अधिक सोडियम मुटुको लागि घातक छ । आवश्यकभन्दा बढी सोडियमले उच्च रक्तचाप र स्ट्रोकको खतरा पनि निम्त्याउँछ ।
“कतिपय अभिभावकले छोराछोरीलाई खाजा खान पैसा दिने गरेका छन् । यसरी पैसा दिनुको सट्टा घरैमा थोरै समय निकालेर पोषणयुक्त खानेकुरा पठाएमा फाइदा पुग्छ,” उनले भनिन् ।
कस्ता खानेकुरा खुवाउने त ?
जनस्वास्थ्यविद् डा. उप्रेतीका अनुसार बच्चाको हड्डी मजबुत गर्न दूध र दूधबाट बनेको परिकार दही, चिज, पनिर, लस्सी खान सकिन्छ । यसमा प्रोटिन साथै क्याल्सियम हुन्छ । गेडागुडीमा क्याल्सियम, प्रोटिन र अन्य पोषक तत्व हुन्छ । चामल, दाल, गेडागुडीको मिश्रण गरेर खाँदा बालबालिकाको स्वास्थ्य राम्रो हुन्छ ।
यसले कब्जियतबाट बचाउनुका साथै पेटको स्वास्थ्य राम्रो गर्ने डा. उप्रेतीको भनाइ छ । हरेक भौगोलिक क्षेत्रमा उपलब्ध हुने स्थानीय खाना र घरमा पाक्ने खानेकुरा नै स्वस्थकर हुन् । सहजै उपलब्ध हुने आलु, गेडागुडी, कन्दमूल, रोटी, पिठोबाट घरमै बनाउन सकिने परिकार, दाल, भात, तरकारी लगायतका खाना नै शारीरिक र मानसिक दुवै हिसाबले स्वस्थकर हुन्छन् ।
बालबालिकालाई सानैदेखि घरमै पाकेका र ताजा खानेकुरा खुवाउने बानी गरे जंक फुडका निम्ति जिद्दी नगर्ने उनी दाबी गर्छिन् । स्वस्थकर खानेकुराका लागि सँगसँगै पकाउन पनि बालबालिकालाई सानै उमेरदेखि सिकाउन डा. उप्रेतीको सुझाव छ ।
विस्तारै बालबालिकालाई स्वस्थ खानेकुराको लत लगाएमा जंक फुडबाट छुटकारा मिल्नुका साथै बच्चाको शारीरिक र मानसिक विकासमा पनि मद्दत मिल्ने उनी बताउँछिन् ।